जलेश्वर (महोत्तरी), २१ फागुन/रासस
महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिंदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकबर राइन र धनुषा क्षीरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
जनकपुरतर्फबाट मटिहानीतिर गइरहेको बिआर ०६ पिडी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानीतिर जाँदै गरेको मधेस प्रदेश ०१ त ३००९ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको थियो । ठक्करबाट ट्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा टाटासुमोले विपरीत दिशाबाट साइकलमा आउँदै गरेको यावदलाई ठक्कर दिएको थियो ।
सोही टाटासुमोको ठक्करबाट ट्याक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कबाडी गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । टाटासुमो पनि मटिहानी–४ स्थित सडकछेउमा पल्टिएर दुर्घटना भएको र चालक फरार रहेको बताइएको छ ।