•कुमारबन्धु रुपाखेती
आजकाल वीरगंजमा हिन्दी बोल्ने खुबै भेटिन्छन् । यहाँको रैथाने भाषा भोजपुरी भएपनि हिन्दीले गाँज्दै गएको देखिन्छ । भोजपुरीभन्दा बरु यहाँ राष्ट्रिय भाषा नेपाली पनि प्रयोगमा छ । हिन्दी प्रयोग गर्नेहरू यसलाई आफ्नो शानसमेत ठान्दछन् । यदाकदा यता हिन्दीलाई कामकाजी भाषा बनाउनुपर्छ भन्ने पनि दबे स्वरमा सुनिन्छ ।

भोजपुरी भाषा उत्थानका लागि वीरगंजमा विभिन्न सङ्घसंस्था सक्रिय रहे पनि भोजपुरी बोल्नेको सङ्ख्या ज्यूँका त्यूँ छ । राजनीतिदेखि भाषासम्म सबैमा भोजपुरी पछाडि परेको छ । हुनत भोजपुरी बोल्नेहरूको सङ्ख्या वीरगंज वरपर चारैतिर छ । हिन्दी भाषा यस क्षेत्रमा धडल्लेले प्रयोग हुनुमा २०६३ तिर बेधडक नागरिकता वितरण नै हो । यह वीरगंज है भाइ !

वीरगंजको औद्योगिक विरासत कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन अभियन्ता डा महावीर पुनले थाप्लोमा आफूद्वारा लिखित किताबको चाङ राख्दै बेचिरहेको देखिन्छ । अस्ति कतारको दोहामा ल्होछार कन्सर्ट २०२४ सम्पन्न भयो । दोहाको त्यो कन्सर्टमा अनौठो दृश्य पो देखियो । हाम्रो अभियान ‘स्वदेशमा उत्पाद तथा मातृभूमि नेपाल’ बनाउँछौ भन्दै महावीर पुन र कृषि औजार कारखाना वीरगंजको फोटो प्लेकार्ड, र ब्यानरसहित ल्होछार कार्यक्रममा आएका नेपालीहरूले प्रत्येक नेपालीसँग कतारी एक रियालका दरले चन्दा उठाउँदा एक घण्टामा हाराहारी एक लाख ५० हजार सङ्कलन गरी राष्ट्रिय आविष्कार केन्द्रको नेपाल बैंक लिमिटेड नयाँ सडकमा रहेका खातामा जम्मा गरेर सबैलाई चकित पारिदिए ।

राष्ट्रिय आविष्कार केन्द्रको प्रमुख महावीर नै हुन् । कबाडमा परिणत वीरगंजको कृषि औजार कारखानालाई पुनः सञ्चालनमा ल्याउन महावीर पुन र उनको आविष्कार केन्द्र तन, मन र धनले लाग्दासमेत वीरगंजवासी यो प्रयासबारे अनभिज्ञ देखिन्छन् । महावीर पुन उनको आविष्कार केन्द्र, उनले लेखेको पुस्तकबारे पनि अधिकांश वीरगंजेली अज्ञान नै छन् । राजा महेन्द्रको पालामा रूसी सहयोगबाट निर्मित यो कारखानाबारे समेत वीरगंजवासी जानकार देखिंदैनन् । त्यसैले त म भन्छु– ये वीरगंज है भाइ !

मुन्सी प्रेमचन्दको एउटा प्रख्यात कथा छ । कथाको नाम बडेभाइ साहब हो । त्यस्तै बडे साहब बनेका हाम्रा नगर पिता चञ्चले, चुलबुले र चटपटे मानिन्छन् । इलाका तुमारा धमाका हमारा गर्न खोज्दा बेला कुबेला उनी नाङ्गेझार भएको पनि देखिन्छ । केही समययता वीरगंजका मेयरहरूले आफ्नो पूरै कार्यकाल चलाउन विभिन्न कारणवश असमर्थ भएका छन् । विमल श्रीवास्तव पटकपटक वीरगंजको प्रमुखमा जिते । २०४७ सालमा बहुदलले उनको पद खाइदियो । त्यसपछि २०६३ साल ज्ञानेन्द्रकालमा समेत उनले अधूरै कार्यकाल चलाउन पाए । अर्का गोपाल गिरी मेयर पदमा छँदै माओवादीहरूले हत्या गरिदिए भने त्यसपछिका मेयर प्रदीप सुवेदीको कार्यकाल जम्माजम्मी चार महीना रह्यो । कतिपय पालिकाका मेयरहरू कारबाईमा परेर पालिकाहरू प्रमुखविहीन भएको अवस्था छ । अरूको कुरै नसुन्ने आफ्नो मात्रै कुरा फलाकी रहने महानगरका मेयर राजेशमान बडेसाहब अचेल पत्रकारहरूसँग साखै नाराज बुझिन्छन् ।

पत्रकारहरूसँग छत्तीसकै आँकडा भएकाले अस्ति गोपाल गोतामे स्वर्णपदक सम्मान पुरस्कार कार्यक्रममा विषयान्तर हुँदै यिनले पत्रकारहरूबारे गिलाशिकवा गर्दै भाषण खल्लास गरे । होला मगन्ते प्रवृत्तिका कोही कोही पत्रकारहरूले यिनीसँग रुपियाँ पैसाको याचना गर्दा होलान् तर स्पष्ट पनि नभन्ने र सबैलाई एउटै तराजुमा तौलिने उनको हचुवा ताल धेरैलाई मन परेन । मलाई त लाग्छ यिनलाई कतै आफ्ना अग्रज मेयरहरू श्रीवास्तव र सुवेदीझैं आफ्नो हुँदोखाँदोको मेयर पदसमेत आधा अधूरै लिलामीमा चढ्छ कि भन्ने त्रास छ कि क्या हो १ अगुल्टोले झोसेको कुकुर बिजुली चम्किदा तर्सिन्छ रे । यहाँ जे पनि हुन सक्छ । क्योंकि यह वीरगंज है भाइ !

मन्दिरको बाहिरपट्टि काठले निर्मित आकर्षक र भव्य रथ घामपानी खाएर लावारिस ठिङ्ग खडा देखिन्छ । यो रथ हाम्रो रगत पसिनाको रकमले निर्माण भएको हो । त्यसो त अहिले गहवा मन्दिरको बाहिरी क्षेत्र भिखमङ्गाहरूको कब्जामा परेको देखिन्छ । बाहिर लालाबालासहित सपरिवार बसेका भिखमङ्गाहरूले दर्शनार्थीहरूलाई हायल कायल पार्ने, मन्दिर बाहिरको क्षेत्रलाई फोहरमैला गरेर दूषित बनाएको पाइन्छ । मन्दिर घेरेर बसेका यस्ता मगन्तेहरूका बालबच्चाको खेल्ने साधन पनि बनेको छ त्यो भव्य रथ । यति मात्र होइन, रथको तल सुत्ने–सुताउने घाम छेक्ने झिटीगुन्टा राख्ने कन्तुर र खेलौना बनेको छ त्यो काठेरथ । अनि मन्दिरको उत्तर दक्षिणमा महानगरले सवारी साधन प्रवेश निषेध गर्दै गाडेका फलामे बार मोटरसाइकिल पार्किङ क्षेत्रमा परिणत भएकोले फलामे बार पार गरेर मन्दिर जान हम्मेहम्मे पर्न थालेको छ ।

जे होस् हाम्रो रगत पसिनाको रकमले श्रद्धापूर्वक बनाइएको त्यो प्रख्यात भव्य रथ कमसेकम दीनदुःखीहरूको रक्षक त बनेको छ । अमेरिका, युरोपमा त होमलेस (घरबहारविहीन) हरू हयुमपाइपभित्र सुतेको पाइन्छ । यह वीरगंज है भाइ ! भिखमङ्गा तब करता है, भुस्याहा कुत्ता जब काटता है, मच्छर के चलते जाडा में मच्छरदानी (झुल)का प्रयोग करता है, करना पडता है, अभी से रातको सोते समय पङ्खा चलाना पडता है और त और दश–बीस आदमीका उत्तावला झुन्ड बिना बजार–दुकान बन्द करा देता है । क्योंकि यह वीरगंज है भाइ !

अयोध्यामा राम मन्दिर निर्माण भएपछि वीरगंजका हिन्दूहरू पनि चहचह भएका छन् । शङ्ख किन फुकिन्छ, नित्य पूजा अर्चना कसरी गरिन्छ, कुन देवी देवताको पहिले किन र कसरी पूजा गरिन्छ, धर्मकर्ममा प्रयोग हुने सालको पातको दुना, बोता, टपरी, चारकुनेको प्रयोग थाहा हुँदैन । गीता, रामायण, महाभारतको सार थाहा छैन, टीका अक्षता किन लगाइन्छ, कुन देवीदेवतालाई कुन रड्ढो फूल चढाइन्छ, कपाल टाउकोमा शिखा (टुप्पी) किन राखिन्छ, पञ्चामृत, तुलसी शालिग्रामको महत्व थाहै छैन । जस्ता आदि इत्यादि कुरा थाहा नहुनेहरूसमेत अहिले वीरगंजमा कट्टर हिन्दूवादी बन्दै जय श्रीराम र हर हर महादेव कराउँदै हिंडेको देखिन्छ । यो वीरगंज हो रातभर भट्टी चहार्ने, मदिरा–मांस सेवन गर्ने, बेरोजगारीहरू होहल्लामा बग्नेहरू यहाँ अधिसङ्ख्यक छन् । यह वीरगंज है भाइ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here