काठमाडौं, १० फागुन/रासस
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ, जसका कारण बिहीवार देशभर आंशिकदेखि सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भएको छ । कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा मुलुकका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षा भएको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात भएको पनि महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेस र बाग्मती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।