• कुमारबन्धु रुपाखेती
केही समयअघि चिनी र प्याजको बढ्दो दररेटले कायल भएको नेपाली जनतालाई अहिले लसुनको बढ्दो मूल्यले हायलकायल बनाएको छ । औषधीय गुण भएको, सबै तरकारीलाई स्वादिष्ट बनाउने गुण भएको तथा सस्तोसमेत भएकोले लसुन नेपाली भान्साघरमा विराजमान रहन्थ्यो तर अहिले दिनदिनै लसुनको मूल्य दोब्बर–तेब्बर बढ्नाले लसुन एकाएक हाम्रो भान्साबाट छुमन्तर भएको छ । लसुन प्रायः सबै तरकारीमा हालिन्छ, झन् माछामासुमा त अलि बढी नै प्रयोग गरिन्छ । शाकाहारी र कट्टर सनातनी धर्मावलम्बी र स्वयम् पाकाहरूको भान्सामा मात्र लसुन, प्याज वर्जित हुन्छन् ।
अचेल आकाशिंदो लसुनको मूल्यले विगतको महँगो चिनी र प्याजलाई समेत मात दिएको छ । अहिले सुन्तला, अङ्गुर, अनार, स्याउ, च्याउभन्दा लसुन महँगो भएको छ । गत वर्ष यही सिजनमा रु ८० प्रतिकिलो उपलब्ध लसुन अहिले किलोको ५०० सम्म पुगेको छ । ओरालो लाग्नुको सट्टा दिनानुदिन लसुनको मूल्य बढ्नाले यसको बिक्रीसमेत घटेको विक्रेताहरू बताउँछन् । अहिले लसुन पाक्ने मौसम भएपनि यसको मूल्य घट्ने देखिंदैन । अचेल त झन् झार, हरियो पातसहितको लसुन उखेलेर बिक्री वितरण गर्नाले पनि सुकेको लसुनको कमी भएको बुझिन्छ । घरायसी प्रयोगबाहेक नेपालमा व्यावसायिकरूपमा लसुनको खेती भएको पाइँदैन ।
सरकारी स्तरबाट समेत लसुनको खेती किसानीमा सहयोग गरेको देखिंदैन । त्यसैले नेपाली उपभोक्ताहरू भारतीय लसुनमा भर पर्नुपर्ने अवस्था छ । भारतको मध्यप्रदेशलाई लसुनको खानी भनिन्छ । भारतभरि तथा नेपालमा समेत लसुन मध्य प्रदेशबाट आउँछ । तर केही वर्षदेखि लसुनको मूल्यमा गिरावट आउन थालेकोले मध्य प्रदेशका किसानहरूले लसुनको सट्टा अन्य बाली रोप्न थाले । भनिन्छ, गत वर्ष त्यहाँका किसानहरूले मात्र रु २५ मा मण्डी (थोक) बजारमा लसुन बिक्री वितरण गर्नुपरेको थियो, जसको असर अहिले हामी भोग्दैछौं ।
भारतकै कतिपय स्थानहरूमा अचेल भारु ४०० प्रतिकिलो लसुन बिक्न थालेको भयावह अवस्था छ । तर लसुनको कारोबारमा गिरावट आउँदासमेत यसको मूल्यमा गिरावट नआउनु रहस्यमय देखिन्छ । अचेल बजारमा सानो पोटी (कली) भएको देहाती लसुन लुप्त भएको छ । बजारमा त ठूलो कली भएको, देख्दै रहरलाग्दो, बोक्रा छोडाउन सजिलो ठूलो लसुन उपलब्ध छ । उपभोक्ताहरूका अनुसार सानो देहाती लसुन प्रभावकारी र स्वादिष्ट हुन्छ भने यसको तुलनामा अचेल बजारमा पाइने ठूलो लसुनको स्वाद फिक्का हुन्छ रे !
बजारमा अहिले उपलब्ध ठूलो लसुन चाइनिज लसुन हो । भारतीय लसुन बजारबाट गायब भएपछि छ्यापछ्याप्ती चाइनिज लसुन उपस्थित छ । चाइनिज लसुन ठूलो, सेतो र हल्का गुलाबी देखिन्छ । अहिले नेपालबाट चाइनिज लसुन कालोबजारी भएर भारत पुग्दैछ । ठूलो दाना भएको यो चाइनिज लसुन भारतीय रैथानेभन्दा सस्तो पाइनाले समेत यसको कालोबजारी धडल्ले भइरहेको छ ।
सुन र लसुन अहिले उस्तैउस्तै भएका छन् । दाम बढेपछि घट्ने नाम लिंदैनन् । केही कृषिविज्ञका अनुसार चाइनिज ठूलो दाना भएको लसुन स्वास्थ्यको लागि हानिकारक छ रे ! भनिन्छ, सेतो र गुलाबी रङमा पाइने चाइनिज लसुनमा ढलको पानी प्रयोग गरिन्छ । जसले गर्दा यसको फसल छिटो तयार हुन्छ रे ! भनिन्छ, ढलको पानी स्वास्थ्यको लागि वर्जित छ रे ! तर अरूमा आश्रित हाम्रो अवस्था ‘बाहुनले च्याउ खाए पो स्वाद पाउँछ’ भनेजस्तै छ । कुन पो तरकारीमा अहिले विषाक्त रासायनिक मल प्रयोग हुँदैन र ? आर्गानिक उब्जनी भन्दै झुक्याएर लुट्नेहरू पनि बजारमा सक्रिय छन् । ‘महँगाई मार गई’ भनेको यही हो । हेरौं, लसुन पुराण कतिन्जेल चल्छ ?