• कुमारबन्धु रुपाखेती

मन्दिर–मस्जिद
भारतमा मन्दिर–मस्जिदको विवाद धेरै पुरानो हो । मुस्लिम समुदायले बाबरी मस्जिद भन्दै आएको अयोध्याको त्यो विवादित स्थानलाई भारतीय अदालतले राममन्दिरको नाममा लालमोहर ठोकिदियो । अहिले त्यहाँ बहुचर्चित राममन्दिर निर्माण भएको छ । भाजपाका लालकृष्ण आडवाणीको चलनचल्तीका बखत त्यतिखेरको बाबरी मस्जिदमा भव्य आक्रमण, तोडफोड भएको थियो । अहिले थुप्रै मस्जिदमा हिन्दूहरूले विगतमा हाम्रो थियो भन्ने दाबी र मुद्दा मुकदमा गर्दै आएका छन् । ‘अल्लाह अकबर तेरो नाम सबको सन्नति दे भगवान्’ भने पनि हिन्दूबहुल भारतमा हिन्दू खतवा प्रस्टै देखिन्छ ।

भारतीय काङ्ग्रेसी नेता शशी थरुरले भर्खरै एउटा लेखमा व्यङ्ग्य गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिन्दू सम्राट करार गरिदिए । उनलाई सच्चा हिन्दू बनाउने प्रयासको चरम अवस्था आज २२ जनवरीमा प्रदर्शन हुन्छ, जब मोदीले अयोध्यामा नवनिर्मित राममन्दिरको उद्घाटन गर्नेछन् । हुन पनि हो भाजपाले आमर्निवाचन अघि हिन्दू र सनातनी धर्मको फेरो समातेर निर्वाचनरूपी वैतरणी पार गर्दै आएको छ । यसअघि बनारस र अहिले राममन्दिर भाजपाको चुनावी खेवैया बनेको छ । ‘गाय हमारी माता है, हमको कुछ नही आता है’ भन्ने ठूलो जमात दक्षिण भारतमा भेटिन्छन् । उत्तर प्रदेशका मुख्यमन्त्री मोदीशिष्य योगी आदित्यनाथले केही समयअघि ठूलै तामझाम गर्दै नेपाल नरेश हिन्दू राजा भन्दै ज्ञानेन्द्र शाहलाई राजकीय सम्मान दिएको चर्चा सेलाएको छैन । सन् २०२४ को चुनाव जित्न भाजपाईहरूले ‘कुम्लो बोकी ठिमीतिर भनेझैं’ हिन्दुत्वकरणको ठन्डा बस्तालाई गर्माउने पुरानै र बासी विषयलाई तरोताजा गरिरहेका छन् । त्यसो त कुनै बखत भारतमा प्रख्यात कबिराले भनेका छन्–

कबिरा खडा बजार मे
सबकी मांगे खेर ।
ना काहू से दोस्ती
ना काहू से बैर ।

तर दोस्ती र वैरभाव अहिले निर्वाचनअघि भारतमा छताछुल्ल बनाइएको छ । राममन्दिरको भव्य उद्घाटनपछि सरकारले आमनिर्वाचन गर्ने रणनीति अपनाएको स्पष्ट देखिन्छ ।

राष्ट्रियसभा कि हरुवासभा
यही माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ सिटको पदपूर्तिका लागि भर्ना खुलेको छ । जसमा भर्ना हुन विगतका हरुवाचरुवाहरूको चीखपुकार र शोरगुुलले मुलुक आक्रान्त बनेको छ । हरुवा गोरुको छेरुवा दाउ । मैट्रिक पास गर्न नसकेकाले कक्षा १२ मा अध्ययन गर्न चाहेझैं विगतको निर्वाचनमा जनताले हकारेकाहरूलाई दलहरूले सकारेस् पठाइरहेको निर्लज्ज दृश्य देखिन थालेको छ । राष्ट्रियसभाको रिक्त खाइलाग्दो पदमा नियुक्ति पाउन हरुवाहरूले जोरजुलुम नै गरेका छन् । यसअघि आफ्नै क्षेत्रमा सिके राउतसँग नराम्ररी पराजित उपेन्द्र यादव पदविना बाँच्न सक्दिनँ भन्दै ठूलै तिकडम भिडाएर बारा २ नं क्षेत्रबाट जालझेल गर्दै (चोरबाटोबाट) प्रतिनिधिसभामा छिरे ।

यसरी चुनावमा पराजितहरू त्यो निर्वाचन अवधिसम्म कुनै चुनाव लड्न नपाउने निर्वाचन आयोगले बनाउन खोजेको नियमलाई धूलो चटाउँदै लङ्गौटी लगाउँदै जनमतभन्दा दलमत ठूलो भन्दै चुनौती दिन थालेका छन् । कुनै बखत जनताले हराइदिएका माधव नेपाल यही बाटो हिंडेर प्रधानमन्त्रीसम्म भए । त्यतिखेर पनि एमालेका झलनाथ खनालको विशेष आग्रहमा ललितपुरका एमाले सांसद सुशीलचन्द्र अमात्यलाई राजीनामा गर्न लगाइ माधव नेपाललाई सांसद बनाइएको थियो र पछि पुरस्कारस्वरूप अमात्यलाई हास्यास्पद किसिमले श्रीलङ्काको राजदूत बनाइएको इतिहास छ । कुनै बखत प्रधानमन्त्रीको नियुक्ति पाउन दरबारको गोलचक्कर लगाउने माधव नेपाल भर्खरै परवानीपुरमा फुर्ती लगाउँदै ‘यो मुलुक राजा महाराजाको होइन’ भन्दै डिङ हाँकेछन् ।
‘मुस मोटाइ त लोहरा होई’ भनेझैं अदना पार्टीका पुड्का नेता माधव नेपाललाई प्रधानमन्त्री पद र ज्ञानेन्द्रलाई महाराजा पद ‘आकाशको फल आँखा तरी मर’ साबित भएको छ । तर ‘कल क्या होगा किसको पता’ माधवजी फेरि दौरा सुरुवालमा सजिएर नारायणहिटीमा दाम राखेर दर्शन भेट गर्नुपर्ने अवस्था सिर्जना नहोस् । हेक्का छ कि छैन, हिन्दूवादी, हैकमवादी मोदी, योगीहरू भारतमा पुनः काबिज हुन खोज्दैछन् । नेपालमा पनि राजाको जय जयकार हँुदैछ । राजनीतिक दलका भुस्कौलहरूको भेंडागोठ राष्ट्रियसभाबाट के आशा गर्ने ?

मालद्वीप्सले तर्सायो
मालद्वीप्स जस्तो भुसुना राष्ट्रले हात्तीसरहको भारतको सात्तो खाइदिएछ । त्यहाँका बहालवाला तीनजना मन्त्रीले एकै स्वरमा भारतीय प्रधानमन्त्री मोदीको विपक्षमा आगो ओक्लेछन् । एक त निर्वाचन मुखमा छलछाम गरी चुनाव जित्ने बेलामा पडोसी देशका मन्त्रीहरूले स्वरमा स्वर मिलाउँदै मोदीको विपक्षमा बोलेपछि तिल्मिलाएको भारतले आप्mनो दबदबा कायम गर्न ‘छोरी कुटेर बुहारी तर्साउने’ पारामा त्यहाँको राष्ट्रपतिलाई थर्काउनुसम्म थर्काएर तीनै मन्त्रीको जागीर चट पारिदिए ।

साना पडोसी राष्ट्रहरूलाई भारतको विपक्षमा बढ्ता टपरटाँय नबोल्न सन्देश पनि हो यो । मालद्वीप्सका वर्तमान राष्ट्रपति मुइज्जू चीनको नजीक मानिन्छन् । भारतीय समर्थक उम्मेदवारलाई हराएर चीन समर्थक मोइज्जू समूह सत्तामा भर्खरै आएको हो । त्यहाँका मन्त्रीहरूले मोदीलाई तथानाम गाली गर्दा भारतका कुनै राजनीतिक दलहरूले प्रतिवाद गरेनन् तर बम्बईया हीरोहरूले खुलेरै मोदीको पक्षमा बोलेको देख्दा भारतमा राजनीति गर्ने बिंडो अब बम्बईया हीरोहरूले थामेको आभास भयो । नेपाल, भुटान, बङ्गलादेश र मालद्वीप्समा भारतको दबदबा उल्लेखनीय छ । गुजरे वक्तमा त भारतले नेपालको परराष्ट्र र रक्षा मलाई देऊ भन्नेसम्मको तुजुक देखाएको हो । भुटानमा झैं मालद्वीप्समा समेत भारतीय रवैया उस्तै हो ।

तर मालद्वीप्सको नयाँ नेतृत्व चीननजीक र भारतसँग टाढा छ । तर भविष्यमा सानो र शान्त मुलुक मालद्वीप्सले यसको खामियाजा भोग्नैपर्छ । मालद्वीप्समा अझै आधुनिक हातहतियारले सुसज्जित भारतीय सेनाको टुकडी बसेको छ । सेना हटाउन भन्दासमेत भारतले अटेर गर्दै आएको छ । आफूले साना दक्षिण एशियाली राष्ट्रहरूको बारेमा मनपर्दो बोल्ने भारत, आप्mनाबारे भने साना मुलुकले अदबका साथ ‘तोल मोल के बोल’ भन्छ । तर पाकिस्तानले भारतसित ‘उँची आवाज मे बात’ गरेको यदाकदा सुनिन्छ । सन् १९८८ तिर मालद्वीप्समा विद्रोहीहरूले कब्जा गर्न खोज्दा भारतले सैनिक पठाएर षड्यन्त्र निस्तेज पारेको थियो । भारत आजीवन पेन्शन खाएझैं त्यसको भरपाई गर्न चाहन्छ, जुन असम्भव छ ।

भारतको सबैभन्दा ठूलो चित्त दुखाइ त कहाँ भने वर्तमान राष्ट्रपति मुइज्जूको दलले ‘इन्डिया आउट’ भन्ने प्रमुख नारा बनाएर चुनाव जित्यो, किन त्यसो ग-यो भन्ने हो । यो नारा चीन निर्मित हो रे १ ‘शङ्काको भरमा लङ्काको सर्वनाश’ भनेकै यही हो । नारा मात्र होइन, बाहुनहरूले धारण गर्ने जनैसमेत अचेल चीननिर्मित हुन्छ । नेपालमा केही समयअघि निर्मित जनै त्यहाँ बनेर कन्टेनरमा नेपाल आउँछ । लाजमर्दो गोप्य कुरा त के हो भने नेपाल आएको चीननिर्मित जनै नेपालमा खपत हुने कुरै भएन । ती जनै अचेल तस्करीमार्पmत भारत र अयोध्यासम्म पुग्दैछ । अहिले अयोध्यामा जनैको धेरै खपत छ । चिनियाँ जनैले नेपाल–भारतको बजार धानेको, जसमा ‘मेड इन चाइना’ लेखिंदैन । ‘जय हो जजमानकी, अपनी देशकी कपडा लगी मुहर जापानकी’ जस्तै हो ।

सामरिक शक्तिको साथ–साथ चीन अचेल व्यापारी मुलुक पनि बनेको छ । चीननिर्मित सामान विश्वमैं प्रख्यात छ । व्यापारी चीनले दक्षिण एशियामा नेपाल र भारतमा जनैको असाध्यै खपत छ भन्ने थाहा पायो । उसलाई यो पनि ज्ञान छ कि उसको जनै नेपाल हुँदै सजिलै भारत पुग्छ । बस, उसले नेपालमा रेडिमेड जनै कन्टेनर भरेर पठाउन थाल्यो । अनि हिन्दूहरूको पहिचान जनैले नेपाल र भारतका पसलमा भरिन थाल्यो । चिनियाँ जनै चिनिने थुप्रै तरीका छन् । यो रेडिमेड जनै हाम्रा गुरुहरूले बनाएका जनैभन्दा आकर्षक देखिए पनि जनै धारण गर्दा बीचबीचमा धागो टुटेको पाइन्छ, यस्तो बीचबीचमा धागो टुटेको मेशीननिर्मित जनै चिनियाँ हो । चीनबाट सस्तो जनै आउन थालेपछि नेपाली घरेलु जनै महँगो र बिक्न छाडेको छ । वाह डे«गन वाह ! मेशीनबाट बनेको चिनियाँ जनै पहिरिएर ‘गर्व से कहो हम हिन्दू है’ को मजा बेग्लै हुन्छ । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here