• कुमारबन्धु रुपाखेती

वीरगंजस्थित आदर्शनगर रङ्गशाला र देशकै दोस्रो ठूलो मानिने नारायणी रङ्गशाला जीर्ण बनाइएको छ । विश्व हिन्दू सम्मेलनसमेत स्व. राजा वीरेन्द्र वीरविक्रम शाहदेवको उपस्थितिमा नारायणी रङ्गशालामा सम्पन्न भएको थियो । कालान्तरमा नारायणी रङ्गशालालाई बेवास्ता गर्न थालियो र यो जीर्ण र कुरूप, कङ्काल बन्न पुग्यो । रङ्गशालाको साथसाथै वीरगंजको खेलकूदसमेत थला प-यो अनि यहाँको दर्शकमाझ लोकप्रिय फूटबल प्रतियोगिताहरूसमेत विलीन हुँदै गए । अस्ति येन–केन–प्रकारेण आदर्शनगर रङ्गशालामा सानै भएपनि वीरगंज गोल्डकप सम्पन्न भएछ । नारायणी रङ्गशालामा विगतमा जिल्ला र अञ्चलस्तरीय अनि राष्ट्रिय खेलकूद समेत सम्पन्न भएको इतिहास छ । त्यतिखेर खेलकूदमा धीरेन्द्र शाह, शरदचन्द शाहहरूको जगजगी थियो ।

केही समय अघि नारायणी रङ्गशाला राजनैतिक गतिविधि गर्ने थलो, कन्सर्ट गर्ने थलो र लागू पदार्थ सेवनकर्ताहरूको जमघट हुने थलोको रूपमा विकसित भएको थियो । सरोकारवालाहरूको सानो सोच र गैरजिम्मेवारीपन अनि नालायकीपनले गर्दा कुरूप बनेको खेलकूदको कुरूक्षेत्रलाई अझैसम्म पनि कसैले मरम्मत सम्भार गर्ने जमर्काे गरेको छैन । घडीअर्वा परिसरको उत्तरपट्टि रहेको मण्डल भवन (हाल खेलकूद भवन) समेतको अवस्था लावारिसे देखिन्छ । वीरगंजका मेयर, सांसदहरूले आफ्नो भाषणमा आफू खेलकूदप्रेमी भएको झूट फलाक्न छोड्दैनन् । बुढेसकालमा क्रिकेटप्रेमी बनेका विचारा राजेशमान रन लिन खोज्दा आफ्नै भारी भरकम जीउले थिचिएर हात मर्काए छन् ।

अस्ति सरकारले मूलपानी रङ्गशाला, विराटनगर रङ्गशाला, भरतपुर रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको र नारायणी रङ्गशालालाई राष्ट्रिय गौरवमा नपारेकोमा राजेशमानको चित्त दुखेछ र यसमा सरकारले काखापाखा गरेको आरोप लगाए ।

मेयर महाशय, राष्ट्रिय गौरवको भनिएका भरतपुर मूलपानी र विराटनगरको रङ्गशालाहरूले अझै पूर्णता पाएको छैन र निर्माणकै क्रममा छ, हाम्रो नारायणी रङ्गशाला त धेरै अघि नै पूर्णरूपमा बनिसकेको हो र यो नारायणी रङ्गशाला राष्ट्रिय गौरवको भन्दै पञ्चायतकालमैं घोषणा भएको शायद तपाईंलाई हेक्का छैन ।

मेयर साहेब, बरु बनिबनावल यो रङ्गशालालाई बचाउन मेयरको हैसियतले तपाईंले केही नगरेको टुलुटुलु हेरी बेवास्ता गरेकोप्रति नगरवासीको आक्रोश छ । कुनै प्रतियोगितामा थोरबहुत चन्दा दिएर प्रायोजक बन्दैमा कोही खेलप्रेमी कहलाउँदैन । यज्ञ, महायज्ञ, रथयात्रा जस्ता ढकोसलामा खर्च गर्नुको सट्टा खेलकूद विकासमा ध्यान दिनु नि ! धर्मकर्म, रथयात्रा जोगीबाबाहरूको काम हो । तपाईं जोगी बाबा हो र ?

मेयर महोदय, हेर्नुस् भरतपुरको मेयरले त्यहाँ रङ्गशाला आफ्नै प्रत्यक्ष निगरानीमा बनाउने घोषणा गरिन् । उनी महिला मेयर हुन् । तपाईंले त हुँदाखादाको नारायणी रङ्गशालालाईसमेत प्राणदान दिन सक्नुभएन ।

धाकभन्दा धक्कु ठूलो, हिंड्दाखेरि खुट्टा लुलो गर्नुहुँदैन । नगरभित्र रहेको धरोहरहरूको रक्षा गर्नु हामी सबैको दायित्व हो, नारायणी रङ्गशाला हामी सबैको सम्पत्ति भएकोले सास रहुन्जेल आस भनेझैं नारायणी रङ्गशालालाई पुनर्जीवन दिन हामी सबैले कम्मर कसेर जुर्मुराउनु जरूरी छ ।

अस्ति आदर्शनगर रङ्गशालामा भकुण्डो मैच हेर्न जाँदा मलाई ४० वर्ष पछाडि पुगेको अनुभव भयो । ४० वर्ष अघि आदर्शनगर रङ्गशालामा महेन्द्र गोल्डकप हुँदा हर्ताकर्तामा विमल श्रीवास्तव (प्रधानपञ्च) हुन्थे । दर्शक बस्ने लकडीको प्यारापिट हुनथ्यो, सानो मञ्चमा कोचमकोच भिआइपी बस्थे । राम्ररी म्याच हेर्न गा-हो हुन्थ्यो, हल्लीखल्ली बढी हुन्थ्यो । ४० वर्ष अघिको त्यो दृश्य र दिन, ४० वर्षपछि विकासप्रेमी भनिने राजेशमानको पाला देख्दा उदेक लाग्यो । वीरगंजका पुराना खेलाडी हाल फूटबलप्रेमी हरिबहादुर श्रेष्ठको देहावसान भयो । उनको तुरिया (पालाका) लक्षु (लक्ष्मण श्रेष्ठ), इस्लाम मियाँ, महम्मदजान, जगदीश रौनियार र रामाहरू जस्ता ५० वर्ष अघिका जीवित फूटबल खेलाडीलाई अचेल न कसैले चिन्दछ, न भाउ दिन्छ । यिनले आफ्नो जवानी र अहिले बुढापासमेत भकुण्डो भनेपछि हुरूक्क हुँदै बिताए । पुरानो दियालो होटलका मालिक कृष्णमान श्रेष्ठ आफ्नो बेलाका माहिर फूटबलर हुन् ।

ठीकै छ सङ्घीय सरकारले राष्ट्रिय गौरवको योजनामा मधेसको नारायणी रङ्गशालालाई समेटेन रे । अनि खाली सङ्घीय सरकारलाई कोस्ने राजनीतिक इस्यु बनाउने हर्कत त्यागेर नारायणी रङ्गशालालाई ठीकठाक अवस्थामा ल्याउने, प्रतियोगिता गर्न लायक बनाउने महानगरकै काम होइन र ? राँडो रुवाइले केही हुँदैन । कि हामीलाई ४० वर्षभन्दा अघि सैनिक ब्यारेकको चौरमा फूटबल मैच हेर्न पठाउने हो ? हेर्न बाँकी छ । धेरै पहिले हाम्रा बाजेका पालामा ब्यारेकमा फूटबल आयोजना गरिन्थ्यो ।

यो पनि पढ्नुहोस: टुक्राटाक्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here