• कुमारबन्धु रुपाखेती
नेपाली काङ्ग्रेसः २००३ सालमा स्थापना भएको नेपाली काङ्ग्रेस नेपालको सबैभन्दा पुरानो राजनीतिक दल मानिन्छ । काङ्ग्रेसमा कोइराला खानदानको दबदबा थियो र अझै पनि छ । एकासगोलका मातृका, विपी, गिरिजा र सुशील कोइराला पार्टी सभापति र प्रधानमन्त्री बन्न भ्याए । यदाकदा कोइराला परिवारभित्र समेत सत्ताको अस्वस्थ प्रतिस्पर्धा चलिरहन्छ । त्यसो त पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा काङ्ग्रेसको विशेषता नै हो, काङ्ग्रेसमा चुनावी घात–अन्तर्घात प्रत्येक निर्वाचनमा प्रस्ट देखिन्छ । हाम्रै वीरगंजमा समेत राजेन्द्रबहादुर अमात्य र अजय द्विवेदीहरू आप्mनै सहकर्मीहरूको घात–अन्तर्घातको शिकार बन्दै आएका छन् । थुमथुम्याउनका खातिर अहिले अमात्यलाई राष्ट्रियसभामा लग्ने रे भन्ने हल्ला फिंजाइएको छ ।
काङ्ग्रेसमा अहिले कोइराला विरासतका तीनजना शेखर, शशाङ्क र सुजाता तीनतिर फर्किएका देखिन्छन् । २०३३ पुस १६ गतेको कठ्याङ्ग्रिदो जाडोमा राष्ट्रिय मेलमिलाप तथा एकताको नारा बुलन्द गर्दै विश्वेश्वरप्रसादहरू भारतबाट नेपाल छिरेका थिए । काङ्ग्रेसको १६औ महाधिवेशनमा ‘त्रित्राको मुखै बैरीझैं’ शशाङ्क–शेखर र सुजाता कोइराला तीनथरी बेग्लाबेग्लै बाँसुरी बजाउँथे । शेखर र सुजाताको ढुलमुले नीतिले गर्दा सभापति पदमा शशाङ्कको हावा खुस्कियो । विगतमा पनि विपी र मातृकाबीच तँ ठूलो कि म ठूलो भइरहन्थ्यो । गिरिजा, गणेशमान र कृष्णप्रसाद भट्टराईहरूको सधैंको किचलो बाँचुन्जेल तरोताजा थियो । अब १५ औं महाधिवेशनमा देउवा सभापति बन्न नपाउने भएपछि फेरि सभापति पदका लागि घमासान र महाभारत हुँदैछ । काङ्ग्रेसमा अहिले देउवा गुट र शशाङ्क गुटको रस्साकस्सी बाक्लिएको छ । सभापति र प्रधानमन्त्रीको पद झर्ला र खाउँला भन्दाभन्दै बुढ्यौलीले गाँजेपछि बिचरा रामचन्द्र पौडेल मनले नमाने पनि राष्ट्रपति बने । देउवा र शशाङ्कको किचलोको फाइदा उठाउँदै उपसभापति पूर्णबहादुर खड्का हात साफ गर्ने चक्करमा छन् । सगोल एकाघरका दाई मातृका प्रधानमन्त्री भएदेखि विपीलाई औडाहा चलेको थियो । त्यसैले आप्mनो हात जगन्नाथ भन्दै विपीले मातृकालाई पार्टीबाट बर्खास्त गरिदिए । यस्तै ताकमा रहेका चतुर राजा महेन्द्रले काङ्ग्रेसी फुटको फाइदा उठाउँदै २०१७ साल पुस १ गतेको कदम चाले । थुप्रै काङ्ग्रेसलाई पञ्चायतमा पसाले । त्यसो त एकपटक देउवासमेत राजा ज्ञानेन्द्रको अक्षम प्रधानमन्त्री बन्न भ्याए । त्यतिखेर अग्रगमन आधा सच्चियो भन्दै एमालेका माधव नेपालसमेत प्रधानमन्त्रीको दरखास्त लिएर नारायणहिटी चहारेका थिए । ओलीको पेलाइ र एक्लौटीमा अङ्कुश लगाउन नसक्दा माधव अन्तै लागेका छन् ।
मातृका र विपीका बुवा एउटा र आमा दुईवटी हुन् अर्थात् सौतेनी मामला हो । कुनैबखत नेपाली काङ्ग्रेसमा छत्तीसे गुटसमेत सतहमा थियो । आप्mनो स्पष्ट बहुमतको सरकारसमेत ढाल्ने गिरिजाले जति लिडेढिपी गरे पनि पर्सा–१ बाट राजनीतिक जीवनदान पाएका कृष्णप्रसाद भट्टराईलाई छोटो समय भएपनि प्रधानमन्त्री बनाइयो । काङ्ग्रेसमा सभापति र प्रधानमन्त्री एउटै व्यक्ति बन्ने तानाशाही चलाउन सकिन्छ । सुरक्षित रहिन्छ भन्ने सोच छ । अहिलेदेखि नै १५औ महाधिवेशनमा काबिज हुन केही नेताहरू चलायमान भइसकेका देखिन्छ । काङ्ग्रेसीहरू न हुन् उँट किस करवट बस्छ कसलाई के थाहा ?
नगदी र उधारोः
उधारो दिएर ग्राहक पल्काउने व्यवसायीहरूको चलन अचेल रद्दीको टोकरीमा फालिएको बुझिन्छ । झन् अहिलेको खस्ता आर्थिक माहोलमा कसैले कसैलाई मालसामान होस् अथवा नगद रकम ऋण वा उधारो दिन छाडेका छन् । विगतमा उधारोमा सामान ल्याएर व्यापार चम्काउने र उधारो नै बेचेर धेरै नाफा कमाउने चलन थियो । यस्तो चलनले ग्राहकको गर्जो पनि चल्ने व्यापारीको पनि कमाइ हुन्थ्यो । अब त गर्जाे पर्दा ऋण सापटी लिने अनि तिर्ने बेलामा नाना झन्झट फसाउने चलन चलेको छ ।
उधारो पनि दिने अनि सरकारी अड्डा अदालत धाएर चप्पलसमेत खियाउनुपर्ने अवस्था आएकोले धेरैले अचेल आज नगद कल उधार भन्न थालेका छन् । कतिपय पसलहरूमा त उधार एक जादू है । हम देंगे आप गायब हो जाओगे लेखिएको पाइन्छ ।
त्यस्तै एउटा व्यापारीको पसलमा यस्तो लेखिएको छ– ग्राहक राजा होता है और राजा कभी उधार नहीं लेता है । केहीले ऋण दिएको नाममा गरीबको जायजेथा हड्पिने अन्धाधुन्द ब्याज ठोक्ने गरेकाले मुलुकभरि नै मिटरब्याजीको चर्चा छ । मिटरब्याजी भन्दै गहुँ के साथ घुन पिसिएको सच्चाइ पनि देखिन्छ । अचेल त देखिहाल्नुभयो नि उद्योगीहरूले खपत भएको बिजुलीको बिल नतिर्ने, बैंक वित्तीय संस्थाबाट लिएको कर्जा ब्याज नतिर्ने, पालिकाहरूले सडकबत्ती र खानेपानी संस्थानको पानीको महसुल पनि नतिर्ने रे । उपभोग गरेपछि शुल्क तिर्दिनँ भन्ने खै यो कहाँको चलन हो ?
हरि खेतानको हरि बिजोगः
वीरगंजको ठाकुरराम क्याम्पस यस क्षेत्रको पुरानो र लोकप्रिय कलेज हो । कालान्तरमा ठाकुराम कलेजलाई मात दिंदै वीरगंजमा हरि खेतान कलेज चर्चित भयो । ठाकुरराम कलेजको राजनीति र हडतालले आजित स्थानीय विद्यार्थीहरूको रोजाइ हरि खेतान हुन थाल्यो । विद्यार्थीको सुविधाका लागि हरि खेतानले बसहरू सञ्चालन गरेपछि टाढाटाढाबाट चेलीबेटी, छात्राहरूसमेत हरि खेतानमा नाम लेखाउन थाले । हतपति बन्द हड्ताल नहुने विद्यार्थी सङ्घहरूको मनपर्दाे नचल्ने, शान्त र सुरक्षित वातावरणमा अध्ययन अध्यापन गर्ने गराउने मामिलामा ठाकुररामलाई धेरै अघिदेखि नै हरि खेतानले चुनौती दिंदै आएको हो । केही समय अघि वीरगंजका मेयर अतिक्रमण खाली गराउने नाममा हरि खेतान भवनमा समेत महानगरको जेसीबी चलाई साङ्केतिक क्षति गराएर रहस्यमय तरीकाले चुप लागे ।
यसको केही समयपछि हरि खेतान क्याम्पसको आन्तरिक व्यवस्थापन भाँडभैलो र किचलो सतहमा आयो । मैले थाहा पाएदेखि त्यहाँ डा भगवान यादव क्याम्पस प्रमुख थिए । विद्यार्थीहरूमा अनुशासन कायम गर्न, शैक्षिक सुधार गर्न र क्याम्पसलाई निरन्तर अगाडि बढाउन उनको योगदान नकार्न सकिंदैन । तर क्याम्पस सञ्चालक समितिले विभिन्न अवगुण र खोट लगाई डा यादवलाई पदच्युत गर्दै नयाँ क्याम्पस प्रमुख नियुक्त गरेपछि डा यादव मिडियामा चर्काे विरोधी स्वर घन्काउँदै आए । त्यसो त उमेरले उनी रिटायरको हद पार गरिसकेका छन् । रक्सौलको खेमचन्द्र महाविद्यालयबाट बीए आट्र्स पास उनी शायद भारततिरबाटै पिएचडी गरेको मेरो अनुमान छ । बिहारी पाराले हल्लीखल्ली गर्नुभन्दा कि त उमेरको लिहाजले शान्त बस्नु अथवा कानूनी उपचार खोज्नु उनको लागि श्रेयस्कर देखिन्छ । अनावश्यक टपरटाय अब हरि खेतानका खेतान परिवारका सदस्यहरूले अनसुना गर्ने निश्चित छ । स्मरणरहोस् अचेल रिक्त पदमा विश्वविद्यालयहरूमा समेत भागबण्डाको राजनीति चल्दैछ । नाथे हरि खेतानको के हो र ?
नयाँ वर्ष ः वैशाखलाई नेपाल र नेपालीले नयाँ वर्ष मान्दै आए पनि यसपाली इस्वी संवत् २०२४ को आगमनमा निकै शोरगुल सुनियो । पर्सा, बारा, जनकपुर, मकवानपुर र चितवनका लज, होटेलहरूले त नो रूमको बोर्ड नै झुन्ड्याउनुप-यो रे । मुजफ्फरपुर, मोतिहारी, बेतिया र रक्सौलबाट नयाँ वर्ष मनाउन यता पसेको भीड देख्दा बिहारमा नयाँ वर्ष मनाउने रमाइलो गर्ने स्थान नै नभएको आभास गरियो । विगतको दुर्गम र अचेलको सुगम भनिने ठोरीमा भारतीयहरूको रेलमपेल थियो रे । त्यसो त नेपाल सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउने रे । नयाँ वर्षमा यता रमाइलो गर्न दारु पिउन भारतीयहरूको भीड उता धोती दिवस, टोपी दिवस भन्दै जनवरीको पहिलो दिन नेपाली–नेपालीबीच हानाथाप । दिवस वर्षमा एकदिन मनाइन्छ अनि धोती र टोपी वर्षमा एक दिन मात्रै पहिरिने हो र ? सधैं टोपी र धोती लगाए भैगो नि । यस्ता घटनाले यिनीहरू एकदिन धोती न टोपी हुन के बेर ? यो कोल्ड (जाडो) मा मुलुकको प्रगति र दुर्गतिबारे मैले अङ्ग्रेजी नयाँ सालमा होइन आउँदो वैशाखमा लेखौंला भन्ने लागेको छ मैले सदा नै वैशाख १ लाई नै नयाँ वर्ष मानेको छु ।