काठमाडौं, ९ पुस/रासस
देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चीसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चीसो बढिरहेकाले आवश्यक सर्तकता अपनाउन सबैमा अनुरोध गरे । अहिले देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।
“पश्चिमी वायुको आंशिक प्रभाव छ । केही दिनलाई ठूलो मौसमी प्रणालीको प्रभाव छैन,” मौसमविद् पुडासैनीले भने । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाको विवरणमा बिहान तराईका विराटनगर, जनकपुर र भैरहवामा बाक्लो हुस्सु/कुइरो लागेको थियो । आज काठमाडौंको न्यूनतम तापक्रम पाँच दशमलव चार र अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ । तापक्रम घटेकाले काठमाडौंमा अत्यधिक चीसो बढेको छ ।
दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो महसूस गरिएको छ । सबैभन्दा कम जुम्लामा माइनस दुर्ई दशमलव आठ डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले उल्लेख गरेको छ ।