• कुमारबन्धु रुपाखेती
वीरगंजको घण्टाघर र मेनरोड विभिन्न जुलूस, विद्रFेह र आन्दोलनका साक्षी हुन् । वीरगंजमा हुने जुलूस, आन्दोलन र विरोध प्रदर्शनको गन्तव्य मेनरोड नै हो । घण्टाघरमा जम्मा हुने, मेनरोडमा प्रदर्शन गर्ने, राणाकालमा वीर शम्शेरको पालामा बसाइएको यो शहरको मेनरोड त्यतिखेरभन्दा अहिले साँघुरिएको पुरानियाहरू बताउँछन् । बयलगाडा, टायरगाडा, टाँगा–घोडा त्यतिखेरका सवारी साधन थिए ।
जनसङ्ख्या बढ्दै जाँदा मेनरोडको सडक च्यापेर दुवैतिर पूmटपाथ र नाली निर्माण भए, बाँकी रहेको सडक छेउछाउकाले च्यापे, जसले गर्दा यो सडक चौडा हुनुको सट्टा साँघुरिदै गयो । वीरगंज मेनरोडको यातायात व्यवस्था सदैव चरमराएको देखिन्छ । विद्यार्थीको विरोध जुलूस, राजनैतिक र धार्मिक जुलूस, सरकारी पर्वको जुलूस होस् अथवा सानो–ठूलो सबै प्रदर्शनको भरिया हाम्रो मेनरोड नै हो । काठमाडौंको माइतीघर मण्डला र वीरगंज मेनरोडको कथा–व्यथा उस्तैउस्तै छ । गणतान्त्रिक सरकारले त राजधानी केन्द्रित विरोध प्रदर्शनबाट आजित भएपछि काठमाडौंको दर्जनौं स्थानमा विरोध प्रदर्शन निषेध गरेको छ । यत्रोबिघ्न निषेधित क्षेत्र त निरङ्कुश पञ्चायतकालमा समेत थिएन रे । बाफ रे १ ट्राफिक प्रहरीले चाहेर पनि वीरगंज मेनरोडको जाम सफा गर्न सक्दैन, किनकि यहाँको साँघुरो मेनरोडले घना आबादी भएको वीरगंजको भारी भरकम सवारी साधनको चाप सहने क्षमता नै राख्दैन । येनकेन प्रकारेण यहाँको मेनरोडमा ट्राफिक प्रहरीले यातायात व्यवस्था धानेको छ । अस्ति भर्खर घण्टाघर चोकमा जडान भएको ट्राफिक लाइटले सिलटिम्मुर खाइसक्यो, बिग्रिसक्यो । सोमवार दुर्गाप्रसाईं समूहले घण्टाघरमा जम्मा भएर नगर परिक्रमा (मेनरोड परिक्रमा) गराएको ठूलैखाले जुलूसले मेनरोडको पोल खोलिदियो । हजारौं बैंक, वित्तीय संस्था पीडित यो विरोध जुलूसमा सीमित पुरुष र ठूलो सङ्ख्यामा गाउँले महिला सहभागी थिए । प्रसाईंको जुलूसले गर्दा मेनरोड घण्टौं अस्तव्यस्त देखियो । जुलूस मेनरोड परिक्रमा गरी घडीअर्वाबाट माईस्थान हुँदै घण्टाघर जाने क्रममा झन् अस्तव्यस्त भयो । घण्टाघर उत्तर पावरहाउससम्म सडक चौडा र दोहोरो सवारी साधन आतेजाते गर्ने क्षमता भए पनि प्रदर्शनकारीहरूको प्रथम र अन्तिम रोजाइ किन हो कुन्नि घण्टाघरभन्दा दक्षिणतर्फको साँघुरो मेनरोड नै हुन्छ । हाम्रो मेनरोड त यातायातको लागि नभई जुलूस र प्रदर्शनको लागि निर्माण भएको प्रतीत हुन थालेको छ । वीरगंजको मेनरोडमा दिन नबिराई सानो–ठूलो प्रदर्शन, जुलूस भइरहन्छ, निरीह सडक अस्तव्यस्त भइरहन्छ, बटुवाहरू भौतारिइरहन्छन् । पञ्चायतकालदेखि नै वीरगंजको सडक फराकिलो गर्ने गफ चल्छ र टाँय–टाँय फिस्स हुन्छ । बरु चुनावका बखत चिनी मिल चलाउने, कृषि औजार बनाउने, मेनरोड फराकिलो पार्ने, राजनैतिक दलहरूको प्रमुख एजेन्डा बन्छ र निर्वाचनपछि सामसुम पारिन्छ । आखिर कतिन्जेल वीरगंजवासीले मेनरोड भन्दै बनारसको गल्ली बनेको यो भद्रगोल सडक छिचोलिरहने ? नेताहरूको बकम्फुसे गँजेडी गफमा कति रूमलिइरहने ?
सरकारले महानगर घोषणा गरेकै सात वर्ष भयो, तर नेपाल–भारत जोड्ने प्रमुख राजमार्ग मानिने यो सडक छेपारोको कथामैं सीमित छ । धेरैले त यो बूढो सडकको स्तरोन्नति र विकास हुँदैहुँदैन भन्ने मान्यता पाल्न थालेका छन् । गाउँ, भिरपाखाको कुरै छाडौं, महानगरमा बस्ने हामीले त जाबो एउटा सडकको सक्कली रूप हेर्न पाएका छैनौं, सरकार छ भन्ने अनुभूति गर्न पाएका छैनौं । भनिन्छ सडक सञ्जाल, विकास र समृद्धिको प्रतीक हो तर जनप्रतिनिधिहरूको जेसिबी र बुल्डोजर, विकासको नाममा भीरपाखा फोड्ने र कमाउने धन्दामा सक्रिय देखिन्छन् । वीरगंजको मेनरोड फराकिलो पार्ने फटाहा हल्ला बर्सेनि चल्छ र यो हल्लाले केहीको रोजीरोटी चल्छ, पोल्टा भरिन्छ र अन्ततः महानगरवासी हामी वीरगंजको राणाकालीन मेनरोड छिचोल्न धक्कामुक्की गर्दै गन्तव्यतर्फ लागिरहन्छौं । अरू त अरू अचेल विवाहको मौसममा मेनरोडमा कछुवा गतिमा हिंड्ने भारी भरकम जन्तीले बाटो नछोड्दा जन्तीको पछिपछि एम्बुलेन्स, दमकल, स्कूल बस, कार, मोटरसाइकल, रिक्शा बाध्य भएर बिस्तारै गुड्छन् । यो मेनरोड हो कि मरेको रोड हो खै ? कुनै बेला रक्सौल भएर काठमाडौं छिर्ने यो त्रिभुवन राजपथको कत्रो चर्चा थियो । वीरगंजवासीका लागि वीरगंजको मेनरोड एक नम्बर, दुई नम्बर र तीन नम्बरको रोडको निकै महŒव छ । तर सधैं अस्तव्यस्त र भद्रगोल अवस्थामा रहने यी सडकहरूले हामीलाई महानगरको होइन गाउँपालिकाको झझल्को दिन्छन् । मेनरोड दुई नम्बर रोड र तीन नम्बर रोडको बीचमा नेपालकै लोकप्रिय शक्तिपीठ गहवामाईको मन्दिर पर्छ तर पनि यी सडकहरूको स्तरोन्नतिका लागि कसैको कानमा बतास लागेको देखिंदैन ।