जनकपुरधाम, २८ मङ्सिर/रासस
देशका विभिन्न भागमा रहेका हरवाचरवाले मुक्तिको माग गर्न थालेको १४ वर्षभन्दा बढी भयो तर मुक्त गरिएका उनीहरूको सङ््ख्या र अवस्था अहिलेसम्म पनि यकीन गरिएको छैन । पहिचान नै नभएका कारण स्थानीय तहबाट पाउने विशेष सुविधा र साहुकारबाट घरव्यवहार चलाउनका लागि पाइने सहयोग पनि पाउन कठिन भइरहेको मुक्त हरवाचरवाहरूले गुनासो गर्दै आएका छन् ।

जनकपुरधाममा बिहीवार आयोजित हरवाचरवा तथ्याङ्क सङ्कलन र पहिचानको सवाल विषयक प्रदेशस्तरीय अन्तरसंवादमा पनि उनीहरूको यस्तै गुनासो थियो । “स्थानीय सरकारमा गएर अधिकार मागेमा प्रमाण खै भन्छन् तर हामीसँग प्रमाण छैन, केवल पीडा मात्रै छ,” मुक्त हरवाचरवा आश्ना खातुनले प्रश्न गरिन्, “सङ्घीय, प्रदेश वा स्थानीय तहमध्ये हामीलाई प्रमाण दिनेचाहिं कसले हो ?”

धनुषाको गणेशमान चारनाथ नगरपालिका निवासी खातुनले मुक्तिको घोषणा गरेर अलपत्र पार्ने काम गर्न नहुनेमा जोड दिइन् । यस्तै गुनासो थियो महोत्तरीका शिव सदाको पनि । “केन्द्र सरकारले मुक्तिको घोषणा ग¥यो । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा पनि हाम्रो अस्तित्व स्वीकारिसकेको छ । तर नजीकको स्थानीय सरकारमा अधिकारको माग गर्न जाँदा हरवाचरवाको पहिचान नै छैन, के को अधिकार भन्छन् । हामीले के जवाफ दिनु ?” सदाले गुनासो गरे ।

सिराहाकी टीका सदायले सरकारले मुक्त घोषणा गरेपछि न्यायोजित पुनस्र्थापनाको माग गर्दै पटकपटक दबाब दिंदा पनि कुनै सुनुवाइ नभएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए । राष्ट्रिय मुक्त हरवाचरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदा त मुक्त हरवाचरवाको पहिचान, वर्गीकरण र परिचयपत्रको अभावमा आफूहरू थप समस्यामा परेको बताउँछन् । “कसैलाई सहयोग मागेमा पहिचानको नाममा सहयोग पाइँदैन । साहुलाई काम देऊ भन्दा पनि कानूनी झमेला आउँछ भनेर पन्छिन्छन् । सरकारले पनि पहिचान र परिचयपत्रका लागि चासो देखाएको छैन । अहिले हामी थप समस्यामा छौं,” महासचिव सदाले भने ।

राष्ट्रिय दलित नेटवर्क (आरडिएन) का अध्यक्ष गणेश विश्वकर्माले मुक्त हरवाचरवाको सङ््ख्या र अवस्था पहिचान गरिदिएमा विकास साझेदार संस्था तथा सरकारलाई काम गर्न सहज हुने भन्दै तत्काल सो काम गर्न आग्रह गरे । “हरवाचरवा समस्या मुख्यतः मधेस प्रदेशको समस्या हो । प्रदेश सरकारले अग्रसरता लिएर उनीहरूको अवस्था पहिचान, वर्गीकरण र परिचयपत्र दिएमा यो समस्या समाधानका लागि तीनै तहका सरकार र हामी विकास साझेदार संस्थालाई पनि काम गर्न सहज हुनेछ । त्यसैले म प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” विश्वकर्माले भने ।

अधिवक्ता बालाराम भट्टराईले पनि मधेस प्रदेश सरकारले पहिलोपटक चालू आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा हरवाचरवाको विषय समेटिसकेकाले अब तत्काल यथार्थ सङ्ख्या र अवस्था पहिचानका लागि अध्ययन हुन जरुरी रहेको धारणा राखे । जवाफमा मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मुक्त हरवाचरवाको समस्या समाधानका लागि सरकारले आफ्नो वार्षिक नीति, कार्यक्रम र बजेटमा लिएको अठोटलाई पूरा गर्न पहल शुरू भइसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here