• शीतल महतो
नेपालको वैदेशिक व्यापारघाटा मुलुकमा गम्भीर आर्थिक सङ्कट सिर्जना गर्ने क्षेत्रका रूपमा विकसित हुँदै गएको छ । सीमित निर्यात पनि घट्ने तर ठूलो आयात उच्च दरमा बढ्ने प्रवृत्तिले चुलिंदै गएको व्यापारघाटा मुलुकको गम्भीर आर्थिक सङ्कटको मुख्य कारक बन्न पुगेको छ । विभिन्न स्रोतबाट आर्जित विदेशी मुद्रा पनि व्यापारघाटाको खाल्डो पुर्न अपर्याप्त हुन थालेपछि अर्थतन्त्रले सङ्कटको बाटो समात्यो भनेर बुझ्नुपर्छ । किनभने व्यापारघाटा बढेकै कारणले विदेशी मुद्राको सञ्चिति घटेर ६.६ महीनाको वस्तु तथा सेवाको आयात मात्र धान्न पुग्ने भएको छ । एक वर्षअघि यस्तो सञ्चितिले १० महीनाभन्दा बढी अवधिको आयात धान्न सक्थ्यो । आगामी दिनमा विदेशी मुद्राको आर्जनमा उल्लेख्य सुधार नगर्ने हो भने नेपालले अन्तर्राष्ट्रिय बजारमा आफ्नो कुनै बिक्रीयोग्य सम्पत्ति बेच्नुपर्नेछ, नभए बाह्य ऋण लिनुपर्ने हुन्छ । नेपालले निर्यातयोग्य वस्तुको विकास गर्न र भएको निर्यातलाई टिकाउन नसकेर तथा सम्पूर्ण विकास र आधुनिकीकरणको प्रयास आयातमैं निर्भर रहेकाले यस्तो स्थिति उत्पन्न भएको देखिन्छ । त्यसमा पनि अनियन्त्रित मात्रामा सुनचाँदी आयात गरिएपछि गम्भीर आर्थिक सङ्कट चर्कनु स्वाभाविकै हो ।

मुलुकको आर्थिक अवस्था शिथिल हुँदा समग्र वैदेशिक व्यापारमा प्रत्यक्ष प्रभाव परेको छ । आर्थिक गतिविधि सुस्त भएकै कारण वैदेशिक व्यापार ४.१५ प्रतिशतले घटेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्षको पहिलो चार महीनामा पाँच खर्ब ६३ अर्ब छ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । तीमध्ये पाँच खर्ब १२ अर्ब ५० करोड रुपैयाँको आयात र ५० अर्ब ५६ करोड रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो कम हो । आर्थिक वर्ष २०७९/८० को पहिलो चार महीनासँग तुलना गर्दा आयात व्यापार ३.७९, निर्यात व्यापार ७.६८ र व्यापारघाटा ३.३४ प्रतिशतले कमी भएको हो । मुलुकको राजस्व आयातीत वस्तुमा सीमित हुँदा र समग्र आयात घट्दा राजस्व सङ्कलनमा समेत प्रभाव परेको हो । चालू आर्थिक वर्षको पहिलो चार महीनामा एक खर्ब ३७ अर्ब आठ करोड रुपैयाँ राजस्व उठेको विभागको तथ्याङ्क छ । पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा भने झिनो सुधार भएको देखिन्छ । गत असोजसम्ममा मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब रुपैयाँ (१२ अर्ब ३३ करोड अमेरिकी डलर) पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो चार महीनामा पाँच खर्ब ८७ अर्ब ४६ करोडको व्यापार भएको विभागको तथ्याङ्क छ । यसमा पाँच खर्ब ३२ अर्ब ६९ करोडको आयात र ५४ अर्ब ७७ करोड रुपैयाँको निर्यात भएको थियो । यसरी मुलुकबाट ५० अर्ब रुपैयाँको वस्तु निर्यात हुँदा पाँच खर्बभन्दा बढीको आयात भएको तथ्याङ्क छ । स्वदेशमैं उत्पादन हुन सक्ने कृषि वस्तुमा समेत परनिर्भर हुँदा आयात र निर्यातको खाडल झन् बढेको देखिन्छ ।

नेपालको वैदेशिक व्यापार शुरूदेखि सन् १९५० को दशकमा दुई छिमेकी मुलुक भारत र चीन तिब्बतसँगको व्यापारदेखि सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य मुलुक भएपछि पनि निर्यात गर्ने वस्तु संरचनामा खासै परिवर्तन आएको छैन । आर्थिक वर्ष २०७८/७९ मा व्यापारघाटा १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ भएको थियो । आव २०७८/७९ मा दुई खर्ब रुपैयाँ कटेको निर्यात व्यापार २०७९/८० मा एक खर्ब ५७ अर्ब १४ करोड रुपैयाँमा सीमित हुन गयो । यसरी कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा २०७८/७९ मा ९.४३ प्रतिशत रहेकोमा आव २०७९/८० मा ८.८८ प्रतिशतमा सीमित भयो । निर्यातमा २०७८/७९ को तुलनामा २१ प्रतिशतले कमी आउनु दुःखद विषय हो । आयात हुने वस्तुमा सबैभन्दा बढी पेट्रोलियम पदार्थकै छ । चालू आर्थिक वर्षको पहिलो चार महीनामा ४० अर्ब ३१ करोड रुपैयाँको तीन लाख ५९ हजार छ सय किलोलिटर डिजेल आयात भएको छ । २२ अर्ब ८७ करोड रुपैयाँको दुई लाख २३ हजार ८१० किलोलिटर पेट्रोल र १५ अर्ब ४५ करोड रुपैयाँको खाना पकाउने एलपी ग्याँस आयात भएको छ । यसैगरी, ११ अर्ब ५३ करोडको स्मार्टफोन र आठ अर्ब २० करोडको सुन आयात भएको विभागले जनाएको छ । यसैगरी, सो अवधिमा छ अर्ब ८४ करोडको हवाई इन्धन, पाँच अर्ब ७६ करोडको क्रुड सोयाबिन तेल, पाँच अर्ब ४३ करोडको क्रुड सनफ्लावर तेल र चार अर्ब ५२ करोडको पाम तेल आयात भएका छन् ।

यसरी वैदेशिक व्यापार विवरण नियाल्दा नेपालले निकासी प्रवद्र्धनका आधार पहिल्याउन आवश्यक देखिन्छ । स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग स्थापना गर्न सकिने भएपनि सरकारले त्यतातिर ध्यान दिएको छैन । हुनत व्यापारघाटा नेपालको वैदेशिक व्यापारको विशेषताजस्तो भएको छ । निर्यातको तुलनामा आयात अत्यधिक बढी हुँदा व्यापारघाटा सामना गर्नुपरेको छ । नेपालको व्यापारको कुल हिस्सामा निर्यातको अंश ज्यादै न्यून छ । यहाँबाट निर्यात भएका वस्तुमा धागो, ऊनी गलैंचा, जुट उत्पादन, तयारी पोशाक, जुस, उलन फेल्टका उत्पादन, चिया, कुकुरको आहार, पस्मिना सल, कपडा, चाउचाउ, रोजिन र टर्पेनटाइन, जडीबुटी, नेपाली हातेकागज, अदुवा र जुत्ताचप्पल आदि छन् । मुलुकमैं प्रशस्त स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग स्थापना गर्न सकिने भएपनि सरकारले त्यतातिर ध्यान दिन सकेको छैन । स्वदेशी उत्पादनलाई अनुदान दिएर आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ । यसैगरी, जीर्ण उद्योगको संरक्षण र पुनस्र्थापन गर्दै स्वदेशी पहिचान बढाउने उद्योगलाई विशेष अनुदान दिन नीति बनाउनु पनि आवश्यक छ । निर्यातजन्य वस्तु उत्पादनतर्फ जोड दिई निर्यातमा आधारित वृद्धिमार्फत विकास गर्ने रणनीति अनुसरण गरिएको छ । तर पनि उच्च व्यापारघाटा, निर्यातको सानो आधार र न्यून वृद्धिदरका कारण निर्यातमा आधारित आर्थिक वृद्धि तत्कालका लागि कमजोर नै देखिन्छ ।

सरकारी तहमा पूँजी निर्माणको कमजोर स्तरका कारण औद्योगिक क्षेत्रमा ठूलो निजी पूँजी आकर्षित गरी निर्यात बढाउन सकिने सम्भावना पनि कम छ । तर आन्तरिक मागमा आधारित आर्थिक वृद्धि मोडेलमार्फत उच्च आर्थिक वृद्धि गर्न भने सकिन्छ । धेरैजसो निकासीकर्ताका निकाय र नेपाली निकासी उद्यमी कम्पनी व्यापार अभिवृद्धि गर्न अझ सक्षम बन्न सकेका छैनन् । फलस्वरूप निकासीको वातावरण बन्न सकेको छैन । भौगोलिक अवस्थिति, भारतसँगको खुला सिमाना र नेपाल–भारत व्यापार सम्बन्धका कारणले व्यापार अभिवृद्धि हुन सकेको देखिंदैन । आव २०६७/६८ देखि २०८०/८१ सम्मको १३औं, १४औं र १५औं, त्रिवर्षीय र पञ्चवर्षीय योजनाले वस्तु निकासीलाई योजना अवधिको अन्तिम वर्षमा लक्षित रकम मूल्यका बिन्दुमा पु-याउने अपेक्षित प्रतिफल आशा गरिएको जति विगतमा हुन सकेन । ती योजनाले वाणिज्य क्षेत्रमा थप रोजगारको अवसर सिर्जना गर्ने भनिएको भएपनि त्यो उपलब्धिमूलक देखिएन । ती योजनाका अन्तिम समयसम्म व्यापारघाटालाई कुल गार्हस्थ्य उत्पादनको निश्चित प्रतिशतबाट लक्षित प्रतिशतमा झार्ने र आयात–निर्यातको अनुपात बढ्न नदिनेसमेत भनिएको थियो । यी प्रतिफल पूरा गर्न वाणिज्य क्षेत्रको पृष्ठभूमिका आधारमा उद्देश्य, रणनीति र कार्यनीति नै तोकिएको थियो । २०७२ को वाणिज्य नीति, २०७३ र पछिको एनटिआइएस तथा २०७३ देखि २०७९ सालसम्म आएको आर्थिक र व्यापारसँग सम्बन्धित ऐन, कानून, निर्देशिका आदिले २०७२ सालपछि बिग्रिएका आर्थिक तथा व्यापारिक क्षेत्रलाई डो¥याउँदै आएका छन् ।

नेपाल दशकौंदेखि अन्तर्राष्ट्रिय व्यापारमा संलग्न भएपनि अहिलेसम्म कुनै वस्तुमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान स्थापित गर्न सकेको छैन । नेपालमा निर्यातलाई मात्र आफ्नो प्रमुख व्यवसाय बनाएर ‘एक्स्पोर्ट हाउस’को पहिचान बनाएको कुनै व्यापारिक घराना पनि छैन । अर्थात् निर्यात व्यापारलाई नेपालमा प्रमुख व्यापार–व्यवसायका रूपमा लिने गरिएको छैन । नेपालको तेस्रो मुलुकतर्फको निर्यातमा हालसम्म कुनै पनि किसिमको गतिशीलता नदेखिनु त्यसैको परिणाम हो । ऊनी गलैंचा, तयारी पोशाक र पस्मिना निर्यात केही वर्ष निकै चल्यो । तर विविध कारणले नेपालले त्यो टिकाउन सकेन । यी तीन वस्तुको निर्यातलाई टिकाउन र बढाउन निजी क्षेत्र र सरकार दुवै आवश्यक मात्रामा गम्भीर र जिम्मेवारीपूर्णरूपमा लागेको कहिल्यै देखिएन । फलस्वरूप यी तीनै वस्तुको निर्यात विगत केही वर्षदेखि चिन्ताजनक अवस्थामा छ । नेपालीसँग यी तीन वस्तुको उत्पादन र निर्यातका सम्पूर्ण पक्षको राम्रो अनुभव रहेकोले त्यसलाई जगाउन अझै पनि सक्नुपर्ने हो । त्यस्तै, हस्तकलाका सामान, जडीबुटी, नेपाली कागज र यसका उत्पादन, सुन र चाँदीका गहना, प्रशोधित छाला, चिया आदि वस्तुको निर्यातमा टिकाउपन देखिएको छ । तर निर्यात परिमाण भने धेरै छैन र खासै बढिरहेको पनि छैन । यिनमा हस्तकला र नेपाली कागजको निर्यात निरन्तर प्रगतिउन्मुख छ । यिनको निर्यात बढाउन र टिकाउन सरकारले सम्भव हुने सबै किसिमको सहयोग गर्न कन्जुस्याइँ गर्नुहुँदैन । किनभने यी नेपालका शतप्रतिशत आफ्नै उत्पादन हुन् र श्रममूलक उत्पादन रोजगार बढाउन पनि यिनको उत्पादन र निर्यात महŒवपूर्ण हुन्छ ।

त्यसैगरी, नेपालको चिया निर्यातको पनि ठूलो सम्भावना छ । चियाको निर्यात केही मात्रामा भइ पनि रहेको छ । विशेषगरी अर्थोडक्स चियाको निर्यात उत्साहवर्धक छ । अन्तर्राष्ट्रिय बजारमा चियाको चर्को प्रतिस्पर्धा भएपनि नेपाली चियाको उच्च गुणस्तरीयताका कारणले यसमा हाम्रो प्रतिस्पर्धात्मक क्षमता पनि छ । त्यसैले निजी क्षेत्र केन्द्रित हुन सक्ने यो अर्को आकर्षक क्षेत्र हो । तर निजी क्षेत्र किन पूर्णरूपमा यसमा होमिन नसकेको हो बुझ्न सकिंदैन । त्यसैले यी र यस्तै अन्य वस्तुको उत्पादन र निर्यातमा निजी क्षेत्र प्रवेश गर्ने र सरकारले पनि दिनुपर्ने सुविधा उदारतापूर्वक दिने दीर्घकालीन नीति अनुसरण गरेमा नेपालको निर्यातको पर्याप्त विस्तार हुन सक्छ । त्यसैले नेपालले आवश्यक वस्तुको आयात धान्नको लागि आवश्यक हुने विदेशी मुद्रा ती वस्तुको निर्यात गरेर नै आर्जन गर्न सक्नुपर्छ । यसतर्फ सरकार गम्भीर भएर लाग्न सक्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here