– कुमार रुपाखेती

गणतन्त्रका नाइकेहरूको आश्रयस्थल काठमाडौंमा मङ्सिर ७ गते बिहानैदेखि कानको जाली फुट्ने गरी ठूलो जमातले ‘राजतन्त्र जिन्दाबाद’, ‘गणतन्त्र मुर्दाबाद’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ घन्काइरहँदा गणतन्त्रका मसिहाहरू थरथर कामेको देखियो। त्यतिमात्र कहाँ हो र ? राजावादीहरूले आफ्नो सभामा पुरानो राष्ट्रिय गीत ‘श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति …’ बजाएर गणतन्त्रलाई चारोखाना चित्त गर्न राजधानी पुगेको सन्देश दिए।

यस्तो कारनामा गरेर दुर्गा प्रसाईं भन्ने एक व्यक्तिले ‘एक मच्छर आदमीको हिजडा बना देता है’ साबित गरे। यिनै दुर्गा प्रसाईं कुनै बेला प्रचण्ड र ओलीका दाहिने हात थिए। पुच्छरले कुकुर हल्लाएझैं प्रसाईंको गर्जनले प्रचण्ड, ओली हल्लिए। मुलुकको प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको राँडो रुवाइ नेपाली टिभीले बारम्बार देखायो। व्यापारी, समाजसेवी, अभियन्ता, माओवादी, एमाले बन्दै अहिले आफूलाई कट्टर राजावादी साबित गर्ने प्रसाईंका अनेक रूप छन्, अर्थात् यिनी पनि बहुरुपियाँ नै हुन्। तर गणतन्त्रलाई भजाएर खान पल्केकाबाट आजित र पीडित जनताले यिनै दुर्गामा दुर्गा अवतार देखे। नेपालमा अझै संसद्मा समेत थुप्रै राजावादी दलका प्रतिनिधिहरू छन् तर प्रसाईंले यी सबैलाई पछार्दै आफूलाई ‘नम्बर वन’ राजावादी साबित गर्न कुनै कसर बाँकी राखेनन्। कहाँसम्म भने प्रसाईंसँग जोरी खोज्न र टक्कर दिन भनी एमालेवालाहरूले तीनकुनेमा राखेको विरोध फिक्का र धमिलो साबित भयो। गणतन्त्रको इतिहासमा नेपाली मिडियाले पहिलोपटक राजावादीहरूको यो बहुचर्चित कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरी देशको कुनाकाप्चासमेत तताए। पहिलो ऐतिहासिक जनान्दोलन २०४६ को विरोधमा पञ्चायती व्यवस्थाले काठमाडौंमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरेको थियो र दोस्रो जनआन्दोलन २०६२/६३ मा राजा ज्ञानेन्द्रले काठमाडौंमा करीब तीन हजार सुरक्षाकर्मी खटाएका थिए भने अहिले एउटा व्यक्ति दुर्गा प्रसाईं समूहलाई तह लगाउन गणतन्त्रवादी सरकारले १० हजार सुरक्षाकर्मीसहित सेनाको अगाडिसमेत लम्पसार परेको थियो। राप्रपा, रास्वपा र अनेकथरी राजावादी ससाना समूहहरूमा अहिले प्रसाईंको दमदार नेतृत्व देखेर के गरौं, कसो गरौं भन्ने अन्योलमा परेको देखिन्छ। प्रसाईंको लोकप्रियता देखेर कमल थापा र राप्रपालाई आच्छुआच्छु परेको छ र रातबिरात मिटिङ गर्न थालेका छन्। प्रचण्ड, ओली, देउवाहरूले पटक–पटक गणतन्त्रमा जनताको छोरा प्रधानमन्त्री बन्ने प्रावधान छ भन्ने रटान भाषण गर्छन्। अनि पञ्चायतका प्रधानमन्त्रीहरू कीर्तिनिधि विष्ट, मरिचमान सिंह, नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द कसका छोरा थिए ? पञ्चायतकालमा पनि त जनताका छोरा नै प्रधानमन्त्री बन्थे। झन् प्रजातन्त्र आएपछि सूर्यबहादुर र लोकेन्द्रबहादुरलाई बुई चढाएर काङ्ग्रेस र एमालेले जनताको प्रधानमन्त्री बनाएको होइन र ? नकचराहरू।

‘बाप बडा ना भैया सबसे बडा रुपैयाँ’ गणतन्त्रवादीहरूको मूलमन्त्र नै बन्यो अनि त दुर्गा प्रसाईंजस्तो राजनीतिका अनाडी खेलाडीको पछिपछि नेपाली दगुरे। यो सत्य हो कि राजावादी, पञ्चे, गरीब र निमुखालाई गणतन्त्रको दुहाइ दिंदै पाखा लगाउँदै भित्तामा पु–याइएको थियो। यस्ता सबै पीडितको आवाजलाई एकत्रित र गोलबन्द गर्न प्रसाईं सफल भएको देखिन्छ। सत्ताको मजा चाखिसकेका कमल थापा प्रवृत्तिका राजावादीहरू चपाएर कुरा गर्ने, राजा, प्रजा, सत्ता सबैसँग समदूरी बनाउने र मस्ती मार्ने गर्थे भने तर प्रसाईंले राजधानीमा हाकाहाकी दहाड मारेर सबैको निद्रा भङ्ग गरिदिएका छन्। काठमाडौं केन्द्रित दुर्गा प्रसाईंको आन्दोलनको समर्थनमा मङ्सिर ७ गते राजावादीहरूले पनि वीरगंजमा जुलूस नारा गरे। संसारबाटै लोप हुन थालेको कम्युनिस्ट कोटाबाट प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन् भने नेपालमा राजतन्त्र किन फर्किन सक्दैन भन्ने नयाँ बहस सतहमा आएको छ। संसारका थुप्रै लोकतान्त्रिक मुलुकमा राजतन्त्र आन, बान र सानले कायम छ। कसैले किन विकल्प खोज्छ ? जब गणतन्त्र ‘खोदा पहाड, निकला चुहा’ साबित हुँदै गयो। जनताले दुर्गा प्रसाईं जस्ता बडबोलेलाई गले लगाए। अब हेर्नु न ‘हरहर दुर्गा, घरघर दुर्गा’ रे !

प्रतीक दैनिकका आर्थिक लेखक विश्वराज अधिकारीको अर्थजगत्मा उनको राम्रो पकड छ भन्ने कुरा प्रतीकमा उनको लेखबाट प्रस्ट झल्किन्छ। विश्वराज अधिकारीले अर्थतन्त्रका बारेमा सजिलोरूपमा किताबहरूसमेत लेखेका छन्। अर्थतन्त्रका जानकार यी ख्यातिप्राप्त लेखकले समेत हिजो मङ्सिर ८ गते शुक्रवारको लेखमा फरक विषयमा प्रवेश गर्दै नामै किटान गर्दै तपसिलका नेताहरूले केन्द्रीय राजनीतिबाट विश्राम र संन्यास लिए मात्र नेपाल र नेपालीको केही हदसम्म कायापलट हुने आशय लेखेर ‘शिरके उपर पानी बगिरहेको’ सन्देश दिन खोजेको महसूस भयो। गणतन्त्रवादी नेताहरूको चाल कुकुरको पुच्छर १२ वर्षसम्म ढुङ्ग्रोमा राखे पनि उस्तै हो भने हामीजस्ता स्याल हुइँयामा बग्नेले समेत ‘हरहर दुर्गा, घरघर दुर्गा’, ‘राजा विष्णुका अवतार’ भन्नुपर्ला जस्तो छ। भन्नेहरू भन्छन् भारतीय व्यापारी विजय माल्या र दुर्गा प्रसाईं उस्तैउस्तै स्वभावका हुन् रे। माल्या भारतीय बैंकको ऋण पचाएर विदेश भागे, प्रसाईं ऋण खाएर देशमैं जो चोर उसको ठूलो स्वर गर्दैछन्। तैपनि जनपक्षीय देखिएकाले एकपटक पुनः हरहर दुर्गे, घरघर दुर्गे। गणतन्त्रका हिजडाहरूको जमातसँग लड्न एक्लै दुर्गा काफी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here