- कुमार रुपाखेती
वारिपारी भारत र नेपालमा मनाइने छठपर्व धूमधामका साथ बिदा भएको छ। दशैंमा अष्टमीलाई महाअष्टमी र नवमीलाई महानवमी भनेझैं छठलाई पनि महापर्व छठ भनिन्छ। दशैं र तिहारमा देखिएको उदासी र मन्दी भने छठ पर्वमा उक्सिएको आभास भयो। छठ पर्वमा वीरगंज बजारमा छठका पूजा सामग्री र अन्य वस्तु किन्नेहरूको ठेलमठेल नै देखिन्थ्यो र लुगा, कपडा र जुत्ता पसलहरूमा समेत दशैं, तिहारभन्दा चौगुना भीड देखिन्थ्यो। तराईमा महापर्व छठका बेला उल्लेखनीय सरसफाइ, चोखोनितो र नयाँ लुगा–कपडा खरीद गर्ने चलन छ। दशैं, तिहारमा घर नआए पनि छठ पर्वमा अनिवार्य घर आउने चलन छ।
भारतको बिहारमा भव्य छठ हुन्छ, बिहार फर्कनेहरूको भीड देखेर भारतीय रेलले नियमित रेलको अलावा पनि थुप्रै रेलगाडी बिहारी प्रयोजनका लागि थपेको थियो। छठ अचेल भारत र नेपालमा मात्र नभई विदेशमा बस्ने यताकाले समेत मनाउँछन्। यसपटक त विभिन्न छठघाटहरूमा मुस्लिम समुदायले समेत छठ मनाएर अनुकरणीय उदाहरण प्रस्तुत गरे।
वीरगंजमा छठको खरीदारी केन्द्रसमेत गहवामाई परिसर नै रह्यो। छठको अघ्र्यमा चाहिने बतासा, अदुवा, सुथनी, केरा, अमला, पानी सिंघाडा, उखु, मुला, फलफूल, अर्घपात आदिको उल्लेखनीय बिक्री भएको देखिन्थ्यो। छठ पर्वमा झन्डै ७२ घण्टा निखलाम व्रत बस्ने प्रथा छ। छठव्रतीहरूको घरमा एक महीना अघिदेखि नै माछामासु पूर्णतः प्रतिबन्धित हुन्छ। छोरीबेटीहरूलाई छठपर्वमा अनिवार्य बोलाइन्छ र पर्वको समापनपछि लुगा–कपडा र नगदसहित बिदा गर्ने चलन छ, धेरैले छठमा नयाँ पहिरन लगाउँछन्। अचेल मेंहदी लगाउने रहरले नेपाली महिलाहरूलाई भारतीयहरूझैं रन्काएको छ। घठकै ताक पारेर माईस्थान मन्दिर छेउछाउ मेंहदी लगाउने व्यापार गरेर बसेकाहरूले विभिन्न प्रकारका मेंहदी लगाएर राम्रो आम्दानी गरेको देखिएको थियो।
अचेल विवाह, व्रतबन्ध, जन्मदिन र धार्मिक पर्वहरूमा मेंहदी लगाएर सजधज हुने महिलाहरूको सङ्ख्या बढेको छ। छठ व्रतालुहरूको सहजताका लागि खोला, पोखरी र नदी सफा गर्ने, सजाउने गरिन्छ। वीरगंज क्षेत्रका अधिकांश नदी, तलाउ प्रदूषित र फोहर देखिन्छन्। महानगरले पोखरीको पानीमा हुर्किएको जलकुम्भी मात्र हटाउनाले कतिपय पोखरी हिलाम्य थिए र त्यही हिलेपानीमा छठ व्रतालुहरू उभिन विवश थिए। यस्तो प्रदूषित अवस्थाबाट बच्न धेरैले गाईवस्तुलाई दानापानी खुवाउने सिमेन्टले बनेको नादीमा पानी भरेर समेत अघ्र्य दिए। छठपर्वमा अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको निकै महत्व हुन्छ। सँझिया र बिहनियाघाटमा पुगेर नेताजीहरू समेतले आआफ्नो क्षेत्रका व्रतालु मतदातालाई शुभकामना दिंदै आफ्नो उपस्थिति दर्ज गराए। तर छठघाटमा लामखुट्टेले उपद्रो मचाएका थिए। वीरगंजमा लामखुट्टे बढेको बढ्यै छ। अचेल गर्मी घटेको र जाडो बढे तापनि लामखुट्टेको टोकाइबाट जोगिन पङ्खा खोलेर सिरक ओढेर सुत्नु प–या छ। सफा वीरगंज महानगरको त यो हाल छ भने फोहर नगरहरू त झनै बेहाल होलान्।
नेपालको तराईमा जनकपुर र वीरगंजको छठको उल्लेखनीय चर्चा हुन्छ। यहाँका छठघाट विशेषरूपले सजाइएको हुन्छ। यसपालि तिहारभन्दा बढी पटका छठमा पड्काइयो। छठका बेला पटाका पड्काउन प्रशासनसमेतले तिहारभन्दा खुकुलो गरेको हुन्छ। तराईतिर तिहारको झिलिमिली छठसम्म कमोबेस कायम रहन्छ। जुवाको लागि तिहार बदनाम छ, तर अब छठमा पनि जुवाको खालमा तिहारकै वातावरण थियो। छठताका गाउँघरमा कौडा खुबै हुन्छ। छठ पूजापछि छठघाटका पोखरी, तलाउ निकै प्रदूषित र फोहर हुन्छन्। वीरगंज बाहिरका छठघाट, पोखरी र तलाउहरू छठपछि पुनः सफा गरिएको छ भने वीरगंज महानगरभित्रका पोखरीहरू पुनः सफा भएको देखिंदैन। केही वर्षदेखि काठमाडौंमा समेत छठ मनाउन शुरू गरेका काठमाडौ बसोवास गर्ने तराईवासीले यताको जस्तै झकिझकाउ पारेर छठ पर्व मनाएको देखियो।
चाडपर्वपछि राजनैतिक पर्व तातेको छ। आज राजावादी र गणतन्त्रवादीबीच जोर अजमाइस र ताल ठोकाठोक हुँदैछ। वीरगंजमा रहेका राजावादीहरूसमेत गर्माएका छन्। आगे–आगे देखते जाइये– होता है क्या !