• कुमार रुपाखेती

हामीलाई पूर्णतः परनिर्भर बनाइएको छ । हाम्रो चुलो बल्नसमेत अब अरूकै मुख ताक्नुपर्छ । प्रत्येक चाडपर्वमा हाम्रFे मथिङ्गललाई महँगीले गिजोल्छ । चाडपर्व अर्थात् महँगीको आक्रमण । सरकारमा बस्नेलाई पनि थाहा छ चाडपर्वको नाममा नेपालमा लुटको रजाइँ चल्छ तर जनतालाई बिल्लीबाँठ पार्ने महँगी रोक्न उचित चाँजोपाजो मिलाउनुको सट्टा उल्टै मिलीभगत गरेको अनुभूति हुन्छ । दशैंमा आकाशिएको प्याजको मूल्य अझै ओरालो लागेको छैन भने अहिले तिहारको मुखमा चिनीको मूल्यले आकाश छोएको छ । गरीबको भान्सा अचेल प्याज र चिनीविहीन भएका छन् । प्याज र चिनीमात्र होइन, दशैं, तिहार र छठताका लुगादेखि अधिकांश वस्तुको मूल्य बढेकै हुन्छ । सबैभन्दा विडम्बना हेर्नु न, नेपाल सरकारले चिनीको मूल्य १२७ रुपियाँ घोषणा गरेको छ तर वीरगंजमा चिनी रु ८५ मा र काठमाडौंमा चिनी १५० सम्म धमाधम बिक्री हुँदैछ । न राजधानी, न मोफसल, कसैको सरकारलाई टेरपुच्छर लगाएको छ त ? शायद मुलुक सरकारविहीन छ । तिहारमा अधिकांश नेपालीले सेल, अनर्सा, फिनी आदि घरमैं बनाउँछन् । लक्ष्मीपूजा र भाइटीकाका दिन अन्य मिठाइका लागि मिठाइपसलमा लाइन हुन्छ, मिठाइ पसललाई महँगीले गाँजिसकेको हुन्छ । मिठाइको मूल्य बढेको हुन्छ र गुणस्तर खस्केको हुन्छ । तिहारमा छठमा चाहिने माटोको प्याला र माटोले बनेका भाँडाकुँडासमेत अचेल भारतबाटै आउँछ । रसगुल्ला, लालमोहन कन्टरमा भारतबाटै आउँछ र हाम्रF मिठाइ पसलको शोभा बढाइन्छ । गुणस्तरहीन यस्ता मिठाइको चेकजाँच हुँदैन, खाइन्छ बिरामी परिन्छ । अचेल त नक्कली घ्यूसमेत भारतबाटै आउँछ । एकताका शान्ति घ्यू यताबाट उता जान्थ्यो । मिठाइ पसलहरू अधिकांश फोहर हुन्छन्, घातक रङ्ग र केमिकल मिसाइएका हुन्छन्, महँगा हुन्छन् । उपभोक्ता समिति, सरकारी चेकजाँच समितिहरूलाई तिहार लागिसकेको हुन्छ, मिठाइ पसलेको वारान्यारा हुने नै भयो । अरू फूलहरूको कुरै छोडौं, आजकाल त भाइटीकामा चाहिने सुपारीफूल, सयपत्रीफूल र प्लास्टिकजन्य नक्कली फूलसमेत पारीबाट भित्रिन्छ ।

चाडपर्व मुखैमा भएकोले प्याज र चिनीको ग्राफ तल ओर्लिने देखिंदैन । नेपालमा धेरै अघिदेखि नै कृषि उत्पादन घटेको, कलकारखाना कबाडमा परिवर्तन भएको, राजनैतिक दल र नेताहरू छिमेकी राष्ट्रहरूको दलाल भएको, यिनका राष्ट्रभक्ति र जनसेवामा खिया लागेको, नेपालीहरू विदेशिन थालेको र गणतन्त्र नै धरापमा परेको आभास हुन थालेको हो ।

नेपालका राजनैतिक दलहरू सबै क्षेत्रमा असफल हुँदै गएकाले अहिले नेपालमा पुनः राजतन्त्रको राँको बल्न थालेको अनुभव हुन थालेको छ । चोक र गल्ली अनि चिया पसलहरूमा आउँदो मङ्सिर महीनामा राजावादीहरूले ठूलै हङ्गामा गर्ने तर्क–वितर्क हुन थालेको छ । यस्तै चर्चा परिचर्चाले गर्दा सबै दलका खातापिता शीर्ष नेताहरूको स्वरमा स्वर मिलाउने चलखेल भइरहेको छ । पूर्वराजा ज्ञानेन्द्रसँग भएका सम्झौताका कुरा उठ्न थालेका छन्, प्रदेश खारेज गर्ने, समानुपातिक खारेज गर्ने, सङ्घीयता हटाउने र सबभन्दा ठूलो कुरा गणतन्त्र फाल्नेजस्ता गफले बजार रङ्मगिएको छ । उदेकलाग्दो कुरा त के छ भने हिजो राजा फाल्ने राजनैतिक दलका निराश कार्यकर्ता (काङ्ग्रेस, कम्युनिस्ट) हरू नै राजतन्त्रको पक्षमा यही मङ्सिरदेखि गणतन्त्रको विपक्षमा राँको बाल्ने भएका छन् । भर्खरै गएको भूकम्पमा पीडितहरूको बेवारिसे अवस्था २०७२ को महाभूकम्पझैं दयनीय छ । प्याज र चिनी मात्र होइन, गणतन्त्रको विपक्षमा अब नेपालमा माटो, ढुङ्गा, पत्थरसमेत बोल्ने देखिन्छ । त्यसैले म भन्छु हाय हाय ये मजबुरी, एक प्याज दुसरी चिनी । नेपालीहरूको मजबुरी गणतन्त्र कि राजतन्त्र ? कतै नभएको जात्रा हाँडीगाउँमा भनेको यही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here