- कुमारबन्धु रुपाखेती
‘जाऊँ है घुम्न पोखरा’, ‘आउनुहोस् ललितपुर’ भन्दै महानगरपालिकाले गरेको कमालको विकास देखाउन यस्ता विज्ञापन आइरहन्छन् । तर ‘आउनुस् घुम्न वीरगंज’ हामी कसैले भन्दैनौं, किनकि महानगरीय स्तरमा यसको विकासले रफ्तार लिन सकेको छैन । पर्यटकहरूलाई लोभ्याउने र घुमाउने खालको विकास यहाँ एकादेशको कथा बनेको छ । भएको स्वीमिङपुलको हबिगत हेर्नुस्, नगर सभागृह पार्टी प्यालेसमा परिणत भएको छ, बालमन्दिर परिसरमा निजी विद्यालय चल्दैछ, घडीअर्वा परिसरको म्युजिकल फाउन्टेन र बोट (डुङ्गा) गायब छ, सडकमा जाम, हिलो, धूलो, छाडा गाईवस्तुको साम्राज्य छ । महानगरको लाखौंको औषधि लामखुट्टेले पचाइदियो अर्थात् डेङ्गुको प्रकोप छ । लक्ष्मणवा पार्क जीर्ण छ, मितेरी पुलतिर गएर प्ल्याकपुलुक गर्न डर लाग्छ । घण्टाघरको घडीले बेलाबखत आराम गरिरहन्छ । यीबाहेक हाम्रो महानगरमा हेर्नेलायक छ नै के र ? धन्य पुर्खाहरूले गहवामाई, बिर्तामाईजस्ता शक्तिपीठ निर्माण गरेर गए अनि घुमिफिरी रूम्जाटार भनेझैं शक्तिपीठ धाउने काम गरिन्छ । वीरगंजका गल्लीहरूमा छाडा कुकुरहरू आक्रामक स्थितिमा देखिन्छन् । रेलवेको जग्गाको महादुर्गति छ ।
अहिले जाजरकोटको भुइँचालोले तहलका मचाएको छ । सबै राष्ट्रिय पत्रपत्रिकाले भुइँचालोको समाचार कात्तिक १९ गतेसम्म प्रमुख पृष्ठमा छापे तर कात्तिक १९ गते आइतवार वीरगंजको ‘क’ वर्गको लोकप्रिय प्रतीक दैनिकले प्रथम पृष्ठमा भुइँचालो होइन राजेशमानको हात भाँचियो, काठमाडौं गए भनेर छाप्यो । राजेशमानको हात भाँचिएको होइन, मर्किएको मात्र हो ।
त्यस्तै, यस महानगरमा हुने कालोबजारी, मिलावट, असुरक्षा, महँगी, रूखो व्यवहार, नेपाल प्रसिद्ध छ । अनि कोही किन वीरगंज आउँछ ? वीरगंज शहर महानगर घोषणा भएको झन्डै सात वर्ष भयो । यसको राजस्व र बजेट ह्वात्तै बढेको छ । सङ्घ र प्रदेशले बेग्लै आर्थिक सहायता गर्छन् । खरायो गतिमा अनुदान पाउने राजस्व उठाउने यो महानगरको विकासको गति कछुवा चालको छ । महानगरको मेनरोड फराकिलो पार्ने कहानी ठन्डा बस्तामा परेको छ । ‘आउँ है घुम्न वीरगंज’ भन्ने साहस कसैमा छैन । उल्टै वीरगंज महानगर भनेपछि नाकमुख खुम्च्याउने चलन छ । तर सरकारी उच्चपदस्थ पदाधिकारीहरू भने वीरगंज आउन नजाने किन हो रुचाउँछन् रे !