- अनन्तकुमार लाल दास
मानिस एउटा सामाजिक प्राणी हो । सार्थक समाजको अभावमा मानिसको विकास सम्भव छैन । समाजको पहिलो एकाइ परिवार हो । केटाकेटीहरूको शिक्षण समाजमा अवस्थित विद्यालयमा हुन्छ तर उनीहरूको व्यक्तित्व विकास घरकै पाठशालामा हुन्छ । आमाको कर्तव्य जुन दिनदेखि बच्चा गर्भमा आउँछ, त्यसै दिनदेखि शुरू हुन्छ । केटाकेटीको स्वास्थ्य र मस्तिष्क विकासका लागि आमाले गर्भावस्थादेखि पाँच वर्षसम्म सकारात्मक चिन्तन र खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ किनभने आमाको केटाकेटीसँग विशेष सम्बन्ध हुन्छ । आमाको नजीक हुनु, खेल्नु, कुराकानी गर्नु यी सबैको प्रभाव केटाकेटीहरूमाथि बढी नै पर्दछ । पाँच वर्षपछि शिक्षाको जवाफदेहिता अन्य मानिसको काँधमा जान्छ । हुनत आमाबुवाको जिम्मेवारी सधैं रहिरहन्छ तर पाँच वर्षपछि यो जिम्मेवारी बुवाको काँधमा सर्छ ।
यस कारण यदि आफ्नो भावी पीढीलाई राम्रो बनाउनु छ भने घरलाई एउटा पाठशालाको रूपमा विकसित गर्नुपर्छ । आमा, बुवा वा घरका अन्य सदस्यको स्वभाव, काम गर्ने तरीका, घरको व्यवस्था र वातावरण यस्तो हुनुपर्छ जसमा केटाकेटीहरू आपैंm विकसित हुँदै जाऊन् । केटाकेटीहरूलाई कस्तो बनाउनु छ, कसरी बनाउनु छ ? उनीहरूलाई संस्कारी बनाउनु छ कि कुसंस्कारी, यसको लागि उनीहरूलाई मात्र उपदेश दिएर केही हुँदैन । उपदेश कानले मात्र ग्रहण गर्छ । जबसम्म उपदेश स्वभावमा परिणत हुँदैन र त्यसको कुनै अर्थ हुँदैन । यस कारण भनेर मात्र काम चल्दैन, आफ्नो व्यवहारद्वारा उसलाई सिकाउनुपर्छ । हामीले सन्तानलाई जस्तो बनाउन खोजेका हौं घरको वातावरण पनि त्यस्तै बनाउनुपर्छ । यसका लागि सबभन्दा पहिले स्वयं र घरका अन्य सदस्य सोही अनुरूप ढल्नुपर्छ । यदि अन्य सदस्य सो अनुरूप आचरण गर्दैनन् भने मुख्य व्यक्तिले केटाकेटीहरूको लागि घरको वातावरण व्यवस्थित गर्नुपर्छ । अर्थात् आफ्नो दैनिकी र उठ्ने, बस्ने क्राम सही बनाउनुपर्छ । एक अर्कासँग सभ्य व्यवहार गर्नुपर्छ । बच्चा जन्माउनु छ भने उसलाई कसरी सुविकसित र सुसंस्कृत बनाउनुपर्छ, त्यस कुरामा अभिभावकले ध्यान दिनुपर्छ ।
यदि सन्तानलाई मूसा–बिरालोजस्तो पाल्नुछ भने भन्नु केही छैन । घरको कुनै पनि सदस्यले चाहे जसरी व्यवहार गरोस्, जस्तो आचरण गरोस् तर सन्तानले राम्रो गरोस् भन्ने कल्पना असम्भव हो । घरको वातावरणको लागि अभिभावक जिम्मेवार हुनैपर्छ । केटाकेटीहरू ५–६ घण्टाको लागि मात्र विद्यालय जान्छन् र फर्केर घर आउँछन् । यसर्थ उनीहरूमाथि घरको बढी प्रभाव पर्छ । १७–१८ घण्टा उनीहरू घरमैं हुन्छन् । वास्तविक पाठशाला त घर नै हो । विद्यालयमा पढाएर कसैले यदि सुनौलो सपना देख्छ भने त्यो गलत हो । पहिले र अहिलेमा धेरै फरक छ । पहिलेका शिक्षकहरू विद्यार्थीको पढाइलेखाइमा जति ध्यान दिन्थे त्यसभन्दा बढी ध्यान उनीहरूलाई संस्कारी कसरी बनाउने कुरामा ध्यान दिन्थे । उनीहरूमा कसरी सुधार ल्याउने कुरा दिनहुँ छलफल गरिन्थ्यो । शिक्षकहरू सधैं अभिभावकको सम्पर्कमा हुन्थे । वर्तमानजस्तो मोबाइल र इन्टरनेट त्यस बेला थिएन । वर्तमानमा घरको वातावरण पनि बिग्रँदै गइरहेको छ । यस कारण विद्यालय शिक्षा पर्याप्त छैन । यदि भावी पीढीलाई राम्रो बनाउनु छ भने अभिभावकहरूले घरको वातावरण, घरको रहनसहनमा सुधार ल्याउन आवश्यक छ ।
यसपछि विद्यालयका शिक्षकहरूको नम्बर आउँछ । शिक्षकलाई आमाबुवा भन्दा श्रेष्ठ यस कारणले भनिएको छ किनभने अभिभावकहरूसँग अक्षर ज्ञान गराउने समयको अभाव छ र धेरैजसो अभिभावक योग्य पनि छैनन् । जोसँग योग्यता छ उनीहरूले पनि १०–२० मिनेट भन्दा बढी समय खर्च गर्दैनन् । शिक्षक नै यस्ता सुसंस्कृत व्यक्ति हुन् जसलाई ५–६ घण्टा विद्यालयमा बस्नुपर्छ । यस कारण आमाबुवापछि केटाकेटीहरूको व्यक्तित्व निर्माण गर्ने जिम्मेवारी शिक्षकको हुन्छ, किनभने केटाकेटीहरूको लागि उनीहरू नै शासक हुन्, मार्गदर्शक हुन् र राजा हुन् । यस कारण शिक्षकको स्वभाव, विचार र व्यवहारको छाप विद्यार्थीमाथि पनि पर्छ । शिक्षकले कसरी र कस्तो छाप विद्यार्थीमाथि पार्न चाहन्छ त्यसका लागि कति प्रयास गर्दछ त्यो शिक्षकको बुद्धिमत्तामाथि भर पर्छ ।
एउटा राजाको गुनासो के थियो भने उसको छोरा न पढलेख गर्छ, न उसको कुरै सुन्छ । उनी विष्णु शर्मा नामक शिक्षक कहाँ आफ्नो छोरोलाई पढ्न पठाउँछन् । शिक्षकले पढ्नका लागि काठको स्लेट र कलम दिए तर राजकुमार पढ्न मानेनन् । त्यसपछि शिक्षकले शिक्षण विधि परिवर्तन गरे र कथाको माध्यमबाट पढाउन थाले । कहानी सुन्दासुन्दै राजकुमार राजनीति र अर्थ व्यवस्थाबारे निपुण भए । यो देखेर राजा पनि खुशी भए । शिक्षक यदि सीपयुक्त छ भने विद्यार्थीलाई चाहेजस्तो बनाउँन सक्छ । वर्तमानमा शिक्षकलाई सरकारी पाठ्यक्रम पूरा गर्नुपर्ने हुन्छ । विद्यार्थीहरूलाई राम्रो ग्रेड हासिल गराउन मिहिनेत गर्नुपर्ने हुन्छ । यसको लागि बेग्लै कुनै काम गर्नुपर्ने आवश्यकता पनि छैन । इतिहास पढाउँदा त्यसको निष्कर्ष यसरी पढाउनुपर्छ जसको लाभ विद्यार्थीहरूले पाओस् । जुनसुकै विषय पढाउँदा त्यसलाई जीवनोपयोगी बनाएर पढाओस् । यसबाहेक शिक्षकहरूले आफ्ना विद्यार्थीका लागि अलिकति समय निकालेर उनीहरूको कुनै समस्या छ भनेर सोधे भने विद्यार्थीको समस्या बुझ्न सजिलो हुन्छ र सो अनुसार सही सल्लाह दिन सकिन्छ । जस्तै सरसफाइको शिक्षा, आफूभन्दा ठूलाको आदर गर्ने शिक्षा, अनुशासनमा बस्ने शिक्षा आदि सजिलै प्रदान गर्न सकिन्छ । यसरी शिक्षकले चाहे भने सजिलै उनीहरूलाई प्रेरित गर्न सक्छ ।
यसको लागि शिक्षकहरूलाई कुनै अतिरिक्त भार वहन गर्नुपर्दैन । यदि शिक्षक चरित्रवान छ, राष्ट्रसेवक छ, शिक्षकको प्रवृत्ति पढाउनु मात्र पढाउनका लागि होइन, हामी अन्य जागीर जस्तै जागीरे होइनौं भने शिक्षकको जागीर मात्र जागीर हुँदैन । यस कारण हामीले शिक्षकलाई ‘गुरु’ भन्छौं । यस कारण समाजमा शिक्षकको ठूलो स्थान छ र हुनु पनि पर्छ । शिक्षकहरूले ध्यान दिनुपर्ने अर्को कुरा के हो भने शिक्षण हाम्रो आध्यात्मिक, नैतिक, राष्ट्रिय र नागरिक जिम्मेवारी हो । तलब कम छ भने सरकारलाई भन्नुपर्छ, व्यवस्थापनसँग लड्नुपर्छ वा कमाइको अर्को स्रोत खोज्नुपर्छ किनभने तलबलाई आधार बनाएर थोरै वा बढी पढाउने वा आफ्नो जिम्मेवारी कम वा बढी ठान्नु राम्रो प्रवृत्ति होइन । एउटा शिक्षक राष्ट्र निर्माता हो । इतिहासलाई नियाल्दा हामीले के हेर्छौं भने प्राचीनकालमा सन्त र ब्राह्मण शिक्षण गर्दथे । उनीहरूको विद्यालय हरेक गाउँमा थियो । दान–दक्षिणा जे पाउँथे त्यसमैं जीवन निर्वाह गर्दथे । उनीहरू समाजमा विद्यमान हरेक समस्याको समाधान प्रस्तुत गर्दथे । उनीहरू गरीब भए तापनि आफूमाथि गर्व गर्दथे । यसको एकमात्र कारण के थियो भने उनीहरूको जिम्मेवारी अन्य वर्गको तुलनामा बढी महŒवपूर्ण थियो ।
कुनै पनि विद्यार्थीले राम्रो ग्रेड हासिल गर्न सकेन वा फेल भयो भने केही बिग्रने होइन । ऊ पुनः राम्रो ग्रेड ल्याउन सक्छ तर यदि उसको व्यक्तित्व सही भएन भने जीवन बर्बाद हुने सम्भावना बढी हुन्छ । पाठ्यक्रममा यस्ता विषय समावेश नभए तापनि शिक्षक र नागरिक समाजले केटाकेटीहरूलाई ज्ञानका अतिरिक्त नैतिक, बौद्धिक र राष्ट्रिय–अन्तर्राष्ट्रिय कर्तव्य पालनको प्रेरणा दिन सक्छन् । सरकारले पनि शिक्षा विधेयक बनाउँदा शिक्षालाई कसरी आकर्षक र देश सुहाउँदो बनाउने, शिक्षण पेशालाई कसरी मर्यादित बनाउने, कसरी बेरोजगार र विदेश पलायन कम हुने, सामाजिक उच्छृङ्खलता कसरी कम गर्ने आदि कुरामाथि विशेष ध्यान दिनुपर्ने हुन्छ । अर्थात् नैतिक शिक्षाले नै देशको आन्तरिक व्यवस्था सुदृढ गर्न सक्छ । वर्तमानको उथलपुथलपूर्ण परिवेशमा पनि बेलायत आज एउटा सभ्य देशको रूपमा देखा परिरहेको छ । यो भनिरहँदा म बेलायतको प्रशंसक होइन् तर जसरी सात समुद्र पार गरेर उसले अन्य देशमाथि शासन गरेको थियो, के यो उसको विशेषता थिएन र ?
यदि मानिसमा भएको गुणलाई विकसित गर्ने र उसको चरित्रको विकास गर्ने क्रम बढाउन सकियो भने झुपडीमा बस्ने मानिस पनि महान् र श्रेष्ठ बन्न सक्छ । यस प्रकारको व्यवस्था बनाउनु हाम्रो शिक्षा प्रणालीको काम हो र यो सरकारको दायित्व हो । यस कारण हामीले केटाकेटीहरूको मस्तिष्कलाई साँघुरो बनाउने, पैसा खेर फाल्ने, युवा पीढीलाई पलायन हुन बाध्य पार्ने, देशमा बेरोजगारी बढाउने शिक्षा परिवर्तन गरेर उद्देश्यमूलक शिक्षा लागू गर्न सरकारलाई दबाब दिनुपर्छ । हामी सम्प्रभुतासत्ता सम्पन्न नागरिकले जसरी सत्ता परिवर्तन गर्न सक्छौं त्यसैगरी शिक्षामा पनि परिवर्तन ल्याउन सक्छौं भन्ने कुरा बिर्सनुहुन्न किनभने आजका पढेलेखेका मानिसहरू ‘मालिक’ होइन ‘नोकर’ बन्न रुचाउँछन् । आज उनीहरू आमाबुवा, सन्तान, समाज, देश र नैतिक जिम्मेवारी बिर्संदै गइरहेका छन् । आज पनि यदि पढेलेखेका र नपढेखेकाबीच तुलना गरियो भने पढेलेखेका मानिसहरू नै बढी अनैतिक देखिन्छन् ।
यस पछिको तेस्रो पक्ष स्वयं विद्यार्थीहरू हुन् । विद्यार्थीहरू यदि स्वयंलाई अनुशासनमा राख्दैनन् भने उनीहरूको जीवनको जग हल्लिरहन्छ । विद्यार्थी जीवन संयम, तपस्या र साधनाको जीवन हो । विद्यार्थी जीवन मौजमस्ती गर्ने जीवन होइन । हरेक विद्यार्थीले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ र नराम्रो बानीबाट बच्ने प्रयास गर्नुपर्छ । खेल्नु उनीहरूको लागि आवश्यक छ तर मोबाइलमा होइन । उनीहरूले मस्तिष्क र शरीरलाई फाइदा हुने खेल खेल्नुपर्छ । जसले सानै उमेरदेखि अनुशासन पालना गरेन, ऊ ठूलो भएपछि कसैलाई अनुशासनमा राख्न सक्दैन । भन्न के खोजिएको हो भने राम्रो विद्यार्थी नै राम्रो शिक्षक बन्न सक्छ । त्यसैगरी जस्तो गुण हामीमा हुन्छ त्यस्तै गुण हामीले अरूलाई पनि सिकाउँछौं । नराम्रा केटाहरू कहिले पनि राम्रो बुवा बन्न सक्दैनन् किनभने जो योग्य हँुदैन, ऊ विकास पथमा कहिल्यै पनि अग्रसर हुन सक्दैन । विद्या हासिल गर्नुको उद्देश्य राम्रो ग्रेड ल्याउनु मात्र नभई योग्यता र स्वभावमा वृद्धि गर्नु पनि हो । विद्यार्थी जीवन भविष्यको जग बलियो बनाउने समय हो ।
निष्कर्षतः शिक्षा तीन भागमा बाँडिएको छ । पहिलो अभिभावक जसको काम घरमा यस्तो वातावरण निर्माण गर्नु हो जसमा केटाकेटीहरूको विकास सही ढङ्गले हुन सकोस् । दोस्रो शिक्षक जो पाठ्यक्रम शिक्षण सँगसँगै विद्यार्थीहरूलाई त्यो कुरो पनि सिकाओस् जसबाट उनीहरूले आफ्नो व्यक्तित्व परिष्कृत गर्न सकून् । तेस्रो स्वयं केटाकेटीहरू, जो स्वयं यस्ता कुरा सिक्न जिज्ञासु बनून् । यदि उनीहरू सिक्न चाहँदैनन्, अभिभावक र शिक्षकलाई सहयोग गर्दैनन्, आफ्नै मनपरि गर्छन् भने बिचरा शिक्षकहरूले पनि केही गर्न सक्दैनन् । यी तीनवटै भागमा बाँडिएको व्यक्तित्वको निर्माण शिक्षा व्यवस्था, भावी जीवनको उन्नयन र आफ्नो समाजको दृढ स्वरूपलाई दर्शाउँछ । यी सबैको सम्बन्धमा हामी सबैले ध्यान पु¥याउनुपर्ने हुन्छ । यससँगसँगै शिक्षाको विकास र बालबालिकाको व्यक्तित्व विकासका लागि यी तीनवटै वर्गले आ–आफ्नो उत्तरदायित्व बुझ्नुपर्छ अनि मात्र हाम्रो देश सुखी र समृद्ध बन्न सक्छ ।