प्रस, वीरगंज, १८ कात्तिक/

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय एकता खलबलाउनेविरुद्ध कुनै कारबाई गर्न नसकेको दोषारोपण लगाएका छन् ।

नेकपा एमाले मधेस प्रदेश कमिटीद्वारा वीरगंजमा आयोजित शपथग्रहण समारोहमा उनले अहिले राष्ट्रिय एकता खलबलाउने तत्वहरू विभिन्न आवरणमा सक्रिय रहेका र सरकार तमासे भएको आरोप लगाए ।

अध्यक्ष ओलीले एमालेको सरकार भएको बेलामा विकासको काम तीव्र गतिमा भएको बताए । उनले एमाले सरकारमा रहेको बेला पूर्व–पश्चिम फोरलेन सडकको निर्माण कार्य अगाडि बढाएको, सयौं विद्यालय, स्वास्थ्य चौकी निर्माण गरेको बताए । उनले मधेस प्रदेशका पर्सा र बारामा चक्रवातको बेलामा तीन महीनामा घरहरू पुनर्निर्माण गरेर बसोबास गराइएको बताए । यो ऐतिहासिक कार्य भएको र यस प्रकार द्रुत गतिमा कुनै पनि सरकारले काम नगरेको दाबी गरे । अध्यक्ष ओलीले हाल भूकम्पपीडितका लागि उद्धार तथा राहत कार्यमा एमालेले सरकारलाई सघाउने बताए । उनले जाजरकोट र रुकुमलगायतका जिल्लाका भूकम्प पीडितलाई तत्काल राहत व्यवस्था गर्नुका साथै उद्धार र खोजी कार्यमा सरकारलाई सघाउने प्रतिबद्धता जाहेर गरे । उनले भूकम्पपीडितका लागि एमालेको सरकारले पुनर्निर्माणको कामलाई पनि गति दिएको बताए ।

२०७२ सालको भूकम्पमा साढे आठ लाख घर निर्माण गरेको उनले दाबी गरे । एमाले सरकार रहेको बेलामा द्रुत गतिमा विकास निर्माण गर्ने १० राष्ट्रमध्ये नेपाल रहेको, त्यस बेला विश्व स्वास्थ्य सङ्गठनले पनि नेपालको प्रशंसा गरेको बताए ।

उनले एमालेकै सरकारमा हुलाकी सडक, मदन–आश्रित राजमार्ग र मध्यपहाडी राजमार्गको निर्माण कार्य अगाडि बढाइएको बताए ।

कार्यक्रममा कोशी प्रदेशका इन्चार्ज एमालेका सचिव रघुवीर महासेठले एक समयमा एमाले मधेसविरोधी भनेर प्रचार गरिएको भएपनि अहिले मधेसमा सबैभन्दा ठूलो पार्टी एमाले भएको बताए । उनले हाल नौवटा सिट जितेको एमालेले आगामी चुनावमा बहुमद सिद्ध गर्नेगरी चुनाव जित्नुपर्ने र त्यसको लागि कार्यकर्ताहरूलाई सक्रियतापूर्वक लाग्न सुझाए ।

एमाले मधेस प्रदेशका अध्यक्ष तारकेश्वर मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका सचिव एवं मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराई, मधेस प्रदेशका उपाध्यक्ष विचारी यादव, मधेस प्रदेशका पूर्वअध्यक्ष रामअवतार यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्यहरू निर्मला देवकोटा, राजकुमार गुप्ता, पुरुषोत्तम पौडेल, एमाले पर्साका संयोजक डा विश्वम्भर शर्मालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here