• डा शिवशङ्कर यादव

पाठकवृन्द, हामीले अक्सर कसैबाट यो भनाइ सुनेको हुनुपर्छ कि अमुक वा फलाना मानिस न्युरोटिक छ । के हो यसको मतलब ? आज त्यसैको बारेमा विवेचना हुनेछ । गताङ्कमा हामीले ती मानसिक रोगको वर्णन ग¥यौं जो शारीरिक लक्षणको रूपमा प्रकट हुन्छ । ती सबै मध्यम र कडा रूपका मानसिक रोग थिए । आज केही कम्ती लक्षण भएका मानसिक रोगको वर्णन गरिनेछ, जसलाई स्नायुतन्त्रिका रोग वा न्युरोटिक डिजार्डर वा न्युरोसिस भनिन्छ । न्युरोसिसको मतलब हुन्छ, धेरै सानो मानसिक गडबडी, जसमा कुनै शारीरिक रोग हुँदैन । अतः गताङ्कमा शारीरिक रोगसहितको वर्णन गरियो भने आज शारीरिक रोगरहितको मानसिक रोगको वर्णन हुनेछ, जसका नाम निम्नलिखित छन्–

१. न्युरस्थेनिया वा तन्त्रिका तन्तुको कमजोरी

२.डिपर्सनलाइजेशन र डिरियलाइजेशन वा विभक्त व्यक्तित्व तथा वास्तविकता भङ्ग न्युरोसिस

३. कल्चर वाउन्ड सिन्ड्रोम वा संस्कृतिजनित रोग

१) न्युरस्थेनिया ः यसमा निरन्तर दुःखदायी थकान हुन्छ, जुन अलिकति पनि काम गरियो भने परिलक्षित हुन्छ वा कमभन्दा कम मानसिक प्रयासमा कमजोरी र थकान महसूस हुन्छ । यसमा निम्नलिखितमध्ये कम्तीमा दुईवटा लक्षण अवश्य देखिन्छन्– मांसपेशीको दुखाइ, चक्कर लाग्ने, तनाव, टाउको दुख्ने, निद्रामा गडबडी, आराम गर्न नसक्नु, चिडचिडापन र मन्दाग्नि । यसमा स्वचालित स्नायु प्रणालीको गडबडी वा अवसादको लक्षण पनि देख्न सकिन्छ तर यो निरन्तर पनि हुँदैन र कडा पनि हुँदैन । यी अस्पष्ट परिभाषित लक्षणहरू हुन्, जसले गर्दा स्वतन्त्र निदान गर्न कठिन हुन्छ । एउटा सिएफएस वा क्रोनिक फैटिग सिन्ड्रोम भन्ने रोग हुन्छ, त्यसबाट र अर्को मेडिकल र मानसिक रोग जसमा थकान देखिन्छ, यसलाई छुट्याउन आवश्यक हुन्छ । सिएफएसमा आराम गर्दा पनि थकान हुन्छ र अलिकति पनि शारीरिक वा मानसिक प्रयासमा झन् बढी हुन्छ । यसको अतिरिक्त मांसपेशीको दुखाइ पनि सिएफएसमा बढी हुन्छ र साथै हलुका ज्वरो र  लिम्फग्रन्थी बढेको पनि देखिन्छ ।

२) डिपर्सनाइलेजशन र डिरियलाइजेशनः  यसमा व्यक्ति आफैबाट अलग हुनु र वास्तविकताबाट अलग हुनु दुईटा शब्द छन् । यसलाई राम्ररी बुझ्न आवश्यक छ । डिपर्सनलाइजेशनको मतलब हुन्छ, व्यक्ति आफूबाट नै अलग हुनु । के हो यसको मतलब ? सिर धडबाट अलग हुनुलाई डिकैपिटेशन  भनिन्छ,  जुन भौतिक कुरा हो । तर व्यक्तित्व त भौतिक कुरा होइन । व्यक्ति आफूबाट कसरी अलग हुन सक्छ ? तपाईं सपना हेर्नु भएको होला, जसमा हावा वा पानीमा पौडी खेलेको आफैंले हेरिरहनुभएको छ  । एकैसाथ आफैं दर्शक र आफैं कर्ता । यसमा तपाईं नै दुर्ई पृथक अस्तित्वमा हुनुहुन्छ । यही हो डिपर्सनलाइजेशन । यस रोगमा विपनामा पनि मानिस कुनै भीडमा आफैंलाई देख्छ । विचित्र लाग्छ यो कुरा तर बिल्कुल विचित्र छैन । यसलाई अर्को एउटा उदाहरणले बुझौं । तपाईंले कुनै केटीलाई एकोहोरो प्रेम गर्नुहुन्छ । केटीले प्रेम नगरे पनि तपाईंले एक दिन सपनामा हेर्नुहुन्छ कि तपाईंलाई स्वयम् केटीले नै चुम्बन गरिरहेकी छन् । किनभने फ्रायडको अनुसार तपाईंको दमित इच्छालाई सपनाले पूरा गरिरहेको हुन्छ । के तपाईंलाई थाहा छ, यस्तो दिनको जाग्रत अवस्थामा पनि हुन्छ ? सोध्नुस् कुनै किशोरलाई, उसले बताउँछ । यसलाई दिवास्वप्न भनिन्छ । यही हो डिपर्सनलाइजेशन र डिरियलाइजेशन । खाण्डवप्रस्थमा दुर्योधनले जसलाई जमीन सम्झन्छ, त्यहाँ पानी भएर लड्छ र जहाँ पानी बुझेर कपडा उठाएर बच्न चाहन्छ, त्यहाँ कुनै पानी हुँदैन । यही हो डिरियलाइजेशन । त्यहाँ त विश्वकर्माको जादुले काम गरेको थियो तर डिरियलाइजेशनबाट पीडितलाई जहाँकहीं पनि यो हुन्छ ।

तपाईंले एक छडीलाई पानीमा हालेर हेर्नुस् । पानीभित्रको भाग बाङ्गो र सानो देखिन्छ, जो परावर्तन र आवर्तन सिद्धान्तले हुन्छ । यही जब कसैले विनापानी पनि छडीलाई बाङ्गो र सानो हेर्छ, त्यो डिरियलाइजेशन हो, जो यस रोगीमा देखिन्छ । यसमा रोगी चारैतिरको संसार जस्तो छ, त्यस्तो देख्दैन । उसले सोझो सडक पनि नागबेलीजस्तो देख्छ । कुनै बाकसलाई पनि फ्ल्याट देख्छ । गहिराइ र मोटाइलाई रोगीले देख्न सक्दैन । भनिन्छ कि हात्तीले मानिसलाई तीन फुटभन्दा बढी आकारमा देखेर नै मानिसको वशमा आउँछ । सत्य जे होस् । गाउँघरमा मैले यस्तै सुनेको छु । यही हो डिरियलाइजेशन । यसमा मानिस वास्तविकतालाई अर्कै रूपमा हेर्छ । रोगीको यो अवस्था अस्थायी मात्र हुन्छ तर उसको सामाजिक र कार्यस्थलको व्यवहारमा पनि कमी आउँछ । यसको सुरुआत र अन्त दुवै अचानक हुन्छ । अक्सर यसमा रोगीले अप्रिय मात्र नै हेरिरहेको र उसको इन्साइट कायम रहेको हुनाले उसलाई प्रचुर असहजता र चिन्ता हुन्छ । रोगीमा उसलाई रोक्ने शक्ति नरहेको महसूस हुन्छ । यो घटना रोगीको स्पष्ट चेतना र ज्ञानमा हुन्छ । यो अक्सर दोस्रो दशकको अन्त वा तेस्रो दशकमा देखिन्छ र क्रोनिक हुन्छ । यसको उपचार सफल हुँदैन तापनि सर्पोटिभ साइकोथेरापी, एन्टिडिप्रेसेन्ट, एम्फेटामिन र एन्टिसाइकोटिक औषधि दिएर उपचारको कोशिश गरिन्छ ।

३) कल्चर वाउन्ड सिन्ड्रोम वा खास संस्कृतिजनित रोग ः यसलाई अङ्ग्रेजीमा स्पेसिफाइड न्युरोटिक डिजार्डर पनि भनिन्छ । यस वर्गमा केही न्युरोसिस यस्ता देखिन्छन्, जसको स्पष्ट कारण थाहा छैन तर केही खास सांस्कृतिक समाजमा मात्र देखिन्छ अर्थात् बिमारीको जड संस्कृतिमा हुन्छ । यी न्युरोटिक डिजार्डर निम्नलिखित हुन्– धात सिन्ड्रोम, एमोक, कोरो, विह्विटिगो, पिब्लिक्टो वा आर्कटिक सिन्ड्रोम, लताह वा स्टार्टल सिन्ड्रोम र केही भारतीय संस्कृतिजनित अरू रोग ।

धात सिन्ड्रोम ः भारतीय संस्कृतिमा यो मान्यता छ कि वीर्य वा धात धेरै बहुमूल्य हुन्छ र हजारौं रगतको बुँदबाट एक बुँद वीर्य बन्छ । अतः यसलाई अनाहकमा बर्बाद गर्नुहुँदैन । तर किशोर र वयस्क यसलाई स्वप्नदोष वा हस्तमैथुनमा प्रचुर मात्रामा बर्बाद भएको हेरिरहेको हुन्छ । हस्तमैथुन गर्नेले एकातिर यसलाई रोक्नमा असमर्थ हुन्छ र अर्कोतिर संस्कृतिको मान्यता अर्कै हुन्छ । दुवैको द्वन्द्वमा ऊ मानसिक रोगी भएर जान्छ । यस्तो अवस्थामा रोगीले पिसाब गर्दा सेतो आएकोलाई पनि वीर्य नै भएको ठान्छ, जो वास्तवमा फस्फेट नामक तŒव हुन्छ । यसैलाई धात सिन्ड्रोम भनिन्छ । यो हेरेर उसको सातो जान्छ कि अब त यो स्वप्नदोष र हस्तमैथुनमा मात्र रहेन । ओभरइस्टिमेसनले रोगी थकावट, कमजोरी, चिन्ता र अवसादको शिकार हुन्छ, जसमा वास्तविकताको रञ्च मात्र हुँदैन । यसको उपचार त केवल यौन शिक्षा नै हो ताकि रोगीले आफूले बनाएको गलत धारणाबाट वाहिर आओस् । तथापि चिन्ता र अवसादको औषधि उपचारको पनि आवश्यकता हुन्छ ।

एमोक ः को मतलव हुन्छ, क्रोधावेशमा दगुर्नु । यो मलेशिया संस्कृतिमा पाइन्छ, जसमा अलिकति पनि जिस्काए मान्छे क्रोधावेशमा दगुरेर नजीकको मानिसमाथि जाइ लाग्छ र कहिलेकाहीं उसको हत्या पनि गर्छ । नभन्दै दगुर्दा उसको बाटोमा अवरोध गर्ने मानिस पनि आउँछ ।

कोरो ः यो हस्तमैथुन गर्ने पुरुष वा महिलामा भारतसमेत एशियामा पाइन्छ । पुरुषले सोच्न थाल्छ कि उसको लिङ्ग सिकुडिरहेको छ र कुनै दिन पेटभित्र गएपछि मेरो मृत्यु हुन्छ । महिलाले यो सोच्न थाल्छिन् कि उसको योनी र दूध खुम्चिरहेको छ र हुँदाहुँदा एक दिन उसको मृत्यु हुन्छ । माओरी भाषामा कोरोको मतलब हुन्छ ग्रान्ड फादर । अर्थात् मानिस बूढो जस्तो भएको महसूस थर्न थाल्छ । नभन्दै यसको उपचार पनि त्यही काउन्सेलिङ र यौनशिक्षा हो । विह्विटिगो ः यो विचित्रको रोग अमेरिकी इतिहासमा पाइन्छ । यसमा अनिकालको समयमा मानिस यो सोच्न थाल्छ कि ऊ मासु खाने राक्षसमा परिवर्तित हुँदैछ ।

पिब्लोक्टो ः यस विचित्र रोगलाई आर्कटिक हिस्टेरिया पनि भनिन्छ, जो एस्किमो आदिवासीमा पाइन्छ तथा रोगी अक्सर महिला हुन्छन् । जाडोको रातमा पनि अक्सर महिला अचानक आफ्ना सबै कपडा च्यातेर नाङ्गो भएर आँसुमा कपडालाई भिजाएर असाध्यै चीसोमा पनि फालिदिन्छन् र चरा वा जनावर जस्तो कराउन थाल्छन् । यो अवस्था करीब एक/दुर्ई घण्टासम्म रहन्छ र जब आफैं ठीक हुन्छ घटनालाई पूरै बिर्सिन्छ । मतलब उसले त्यस्तो गरेकी थियो भन्दा पनि पत्याउँदैनन् ।

लताह ः सर्वप्रथम ओ ब्रायनले सन् १८८२ मा मलेशियाका अधेड र बूढी महिलामा यसलाई पाएका थिए । तर यो जापानमा पनि पाइन्छ । यो संस्कृतको लताबाट बनेको शब्द हो । जसरी लताले आफ्नो रूखको अनुसरण गरेर चढ्छ, त्यसरी नै यस रोगमा अक्सर कुनै महिलाले कुनै मानिसको अनुसरण एक्कासि गर्न थाल्छ र झस्काउने खालले कसैको आज्ञाकारिता दर्शाउन थाल्छ अथवा उसको नकल गर्न थाल्छ, जसरी कुनै बच्चाले ठूलोको नकल गर्न थाल्छ । लताहको अर्को अर्थ चाइल्डिस वा बचकाना पनि हुन्छ । केही अरू भारतीय संस्कृतिजनित रोगमा आउँछन् । सूचीबाई अथवा प्युरिटी मैनियाः सूचीबाई एउटा बङ्गाली शब्द हो । यो हिन्दूहरूको विधवालाई बनाइएको नियम अनुसार चल्ने प्रक्रिया हो, जसमा विधवाले अति पवित्रता र सफाइ राख्नु, परपुरुषसँग नछोइने आदि नियम पालना गर्नुपर्छ । यही पालना गर्दागर्दै महिलाले अति गर्न थाल्छिन् र मानसिकरूपले बिमार हुन थाल्छिन् ।

एसेटिक सिन्ड्रोम ः जब कुनै किशोर वा युवायुवतीले साधुजस्तो ब्रह्मचर्य आदिका क्रियाकलाप गर्न थाल्छन्, तब उसलाई एसेटिक सिन्ड्रोम भनिन्छ । किनभने युवायुवतीबाट त्यस्तो अपेक्षा गरिंदैन । यस्तो हाम्रो धार्मिक पाखण्डताले सजिलै हुने सम्भावना हुन्छ । मेरो क्लिनिकमा भर्खरको विवाहिता आइन्, उनले विचित्र किसिमको हर्कत देखाइन् । जाँचमा सबै कुरा सामान्य थियो । रोगीलाई खोतल्दा के पत्ता लाग्यो कि ऊ वीरगंजको एउटा धार्मिक संस्थाको सदस्य हुन्, जसले उसलाई ब्रह्मचर्यको पालना गर्न सिकाइरहन्छ । अब एक वैवाहिक जोडी एकैसाथ रहने र ब्रह्मचर्यको पालना पनि गर्ने कुरा कति निर्दयी सल्लाह हुन्छ, यसको कल्पना पनि गर्न सकिंदैन । तर उनी पालना गर्थिन् र बदलामा बिमार भएर वित्थामा चिकित्सा गराउनुपथ्र्यो । यस्तोमा लक्षणहरू अनेक हुन्छन्, जसरी आँखा चम्काउने, अचानक रुने र हाँस्ने आदि । तस्लिमा नसरिनले अरब महिलाका बारेमा घतलाग्दो कुरा लेखेकी छन् । उनी भन्छिन् कि अरबका महिला जब कुनै पुरुष चिकित्सकसँग रोग देखाउन जान्छन् भने औधी खुशी हुन्छन् । जब चिकित्सकले टेबुलमा सुताएर जाँच्न थाल्छ, तब महिलाले स्तन र पेटको भागतिर इशारा गरेर जाँच्न जोड गर्छन तथा आनन्दले विभोर हुन्छन् । किन हुन्छ यस्तो ? किनभने अरबका महिला सेक्सुअली धेरै सप्रेस्ड हुन्छन् र उनीहरूको क्रियाकलाप मेरो क्लिनिकमा आएकी जस्तो परभर्ट वा विकृति हुन्छन् । उनीहरू न्युरोटिक हुन्छन् ।

न्युपिटल साइकोसिस ः जो अक्सर ट्युनिसियाको वैवाहिक उत्सवमा देखिन्छ, जसमा दुलही अर्धचेत हुन्छिन्, मुठी कसेर जान्छ र मिर्गीजस्तो दौरा पर्छ, जो नयाँ माहोलको भयले पैदा हुन्छ ।

झिनझिनिया ः जसमा मानिसले सम्भोगको बेलामा वा स्वप्नदोषमा वा हस्तमैथुनमा अधिक वीर्य गएको चिन्ताले हातखुट्टामा झनझनाहटको शिकायत गर्छ । यी सबैमा उचित सल्लाह नै उपचार हो । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here