जेरूसेलम, १० कात्तिक/एएफपी

स्थल आक्रमणको तयारी गरिरहेको बेला लडाकू विमान र ड्रोनहरूको सहयोगले स्थल सेनाले पछिल्ला दिनमा गाजामा ‘लक्षित आक्रमण’ गरेको इजराइली सेनाले बताएको छ ।

 “पछिल्लो दिनमा आइडिएफ लडाकू विमान र युएभीको साथमा स्थल सेनाले मध्य गाजापट्टीमा थप लक्षित आक्रमण गरेको छ”–सेनाले एक विज्ञप्तिमा भनेको छ–“आइडिएफले एन्टी–ट्याङ्क मिसाइल प्रक्षेपण स्थल, सैन्य कमान्ड र नियन्त्रण केन्द्रहरूका साथै हमास आतङ्कवादीलगायत कैयौं आतङ्कवादी लक्ष्य पहिचान गरी प्रहार गरेको छ, कारबाईको अन्त्यमा सेना उक्त क्षेत्रबाट बाहिर निस्केको छ ।”

सेनाले जारी गरेको श्यामश्वेत फुटेजमा बख्तरबन्द सवारीको एउटा समूह देखिन्छ जसमा आक्रमणपछि आकाशमा धूलोको बाक्लो बादल उडेको थियो ।

सेनाले अघिल्लो रात पनि प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा ट्याङ्क र स्थल सेनामार्फत यस्तै प्रकारको स्थल अभियान सञ्चालन गरेको थियो ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले यसै साताको शुरूमा इजराइलले ‘स्थल आक्रमणको तयारी गरिरहेको’ दोहो¥याएपछि पछिल्लो आक्रमण भएको हो ।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमास बन्दूकधारीहरूको भीड इजराइलमा घुसपैठ गरी एकहजार चार सय मानिस मारेको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए । त्यस्तै हमासले २२४ भन्दा बढीलाई बन्धक बनाएको छ ।

इजराइलको जवाफी हवाई तथा तोप आक्रमणमा गाजापट्टीमा २,९१३ बालबालिकासहित कम्तीमा ७,०२८ मानिस मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।

सन् २००५ मा प्यालेस्टिनी क्षेत्रबाट एकतर्फीरूपमा इजराइल फिर्ता भएपछि गाजामा मारिनेको सङ्ख्या यो सबैभन्दा बढी हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here