• कुमारबन्धु रुपाखेती

आम नेपालीले यसपटकको बडादशैं येनकेन प्रकरेण झेले । महँगीले गर्दा जीवन धान्न धौधौ परेको बेला दशैंको आगमनले धेरैलाई ऋणी बनायो । वीरगंजको अष्टमी मेलामा समेत यसपालि विगतझैं तामझाम देखिएन । बलिप्रथाको विरोध भएपनि बलि दिने क्रममा र्हास आएको देखिएन । अष्टमी मेलामा अस्थायी पसल थाप्नेहरूको समेत बिजोग देखियो । मेलापातमा गहना तान्ने चोरहरूको विगतको अचाक्ली सम्झिएर श्रद्धालु गृहिणीहरूले गहनाविहीन भएर गहवामाईको मेला भरे । पारिपट्टिबाट पाकेटमार र रोगी भीखमाग्नेहरू सरोबर आएका थिए । मितेरीपुलमा रहेको फ्रन्टलाइन चेकपोस्टले पर्स (मनिब्याग)समेत चेक गर्यो । मेला भर्न आउनेलाई निश्शुल्क खाजा खुवाउने प्रचलनमा यसपटक कमी आएको देखियो ।

अस्थायी पसलेहरूले जथाभावी दिसापिसाब गरेर मुख्य सडकलाई दुर्गन्धित बनाए । लुगालत्ता हाम्रो वीरगंजतिरभन्दा पारिपट्टि निकै खरीद–बिक्री भए । नेपालीहरूको रक्सौलप्रेमले गर्दा रक्सौल क्षेत्र खचाखच र झकास देखिन्थ्यो तर हाम्रा व्यापारीहरू पुर्पुरोमा हात राखेर झक मारेका देखिन्थ्ये । दशैंको उपलक्ष्यमा सीमाबाट खूबै दुई नम्बरी सामान ओसारपोसार भएछ । दशैंको अवसरमा यसपटक छुट, विशेष छुट दिने होडबाजी देखिएन । मेलाको अवसरमा कमसल र मिलावटी सामान खूबै खप्यो । मासुपसलहरूको त रामराज्य नै थियो । बकरी, काइ सबै खप्यो । मदिरालयहरूले समेत जमेर दशैं मनाए । पियक्कडहरूले सान सौकत प्रदर्शन गर्दै रेस्टुरेन्टमा नै भोजभतेर गरे ।

दशैं यसपालि जनतालाई होइन नेताहरूलाई लागेको पाइयो । पर्साका केही नेताहरूले आसेपासे र झोलेहरूको स्वागतार्थ खसी, बोका ढालेरै मस्ती गरे । त्यसैले कतिले बडादशैं २०८० लाई राजनीतिक दशैं भने । केहीले महँगो दशैं नामकरण गरे । हुनेखानेहरूले त मेरिजको खालमा नयाँ नोटको खूबै प्रदर्शन गरे भने चाइनिज तास र नयाँ नोटले जुवाडेहरूको रौनक बढाएको थियो । कतैकतै सोर्ह भाइ (कौडा) लगाएको समेत देखियो । स्मरणीय छ, पर्सामा बडादशैंदेखि छठसम्म ग्रामीण भेगमा कौडा खूब खेलिन्छ । वीरगंज महानगरले बेमौसमी भर्ना गरेको अनि दशैंको मुखमा खोसुवामा परेका कर्मचारीहरूले स्थानीय जनप्रतिनिधिहरूलाई सराप्दै दशैं बिताए ।

सडक गल्ली जाम गरेर, जथाभावी चन्दा उठाएर माटोको दुर्गाको मूर्ति बनाएर पूजापाठ गर्ने गराउनेहरूले दुर्गापाठको सट्टा डिस्को बजाएर सबैलाई अचम्भित पारे । दुर्भाग्य यो बडादशैं केही वडाध्यक्षको हकमा नराम्रFे देखियो, कुटाइ खाए । बडादशैंको सप्तमीदेखि नै वीरगंजका सडकहरूमा यातायात अव्यवस्थित भएको थियो । वीरगंजका थुप्रै पुराना बासिन्दाहरू विगतझैं वीरगंजका शक्तिपीठहरू गहवामाई आदि सम्झिएर यता आएको देखियो । दशैं आएको सूचना दिने मालाश्री धुन, रोटेपिङ, चङ्गा उडाउने आदिको नामोनिसान वीरगंजमा देखिएन । केही घरमा दशैंभरि मालाश्री धुन चैं घन्किएको सुनियो । दशैंपछि तिहार र छठ आगमन भइसकेको छ । आम जनताको दशा त्यस्तै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here