काठमाडौं, २६ असोज/रासस

इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी शुक्रवार बिहान नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरू इजरायल गएका थिए ।

उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ५०३ जनामध्ये २५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।

 “इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरूलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्कन अनुरोध गरेकामा २५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ ।”

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए ।

यस घटनामा परी चारजना नेपाली नागरिक घाइते भएकामा एकजना उपचारपछि आजै स्वदेश फर्किएको, एकजना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका र बाँकी दुईजना स्थानीय अस्पतालमा उपचाररत रहेका मन्त्री साउदले जानकारी दिए । “आक्रमणमा परी सम्पर्कविहीन हुनुभएका विपिन जोशीको खोजी निरन्तर जारी छ,” उनले भने, “यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउनेछौं ।”

इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरूको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए ।

 “कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको छ । त्यसैले उनीहरूको परिवार तथा आफन्तलाई केही समय धैर्यधारणा गर्र्न म अनुरोध गर्छु,” उनले भने ।

हाल तेल अविवबाट नियमितरूपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक कारणवश छुटेका नेपालीहरूलाई आवश्यकता अनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उनको भनाइ छ ।

परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकको उद्धार गर्न साथ दिई ऐक्यबद्धता जनाउने सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरू, इजरायल सरकार तथा नेपाल सरकार, इजरायलको नेपालस्थित राजदूतावास र नेपालको इजरायलस्थित राजदूतावास जस्ता निकायहरू र विमान चालकदलका सदस्यलाई पनि धन्यवाद दिएका छन् ।

आजै उद्धार गरी नेपाल ल्याइएका नागरिकहरूलाई विभिन्न गन्तव्यमा पु¥याउनका लागि विमानस्थलमा नेपाल प्रहरी तीनवटा बसहरू तयारी अवस्थामा राखिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here