जनकपुरधाम, २१ असोज/रासस
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको रामबाबू रायको ‘जनकपुर बिग मार्ट’मा गएराति भीषण आगलागी भयो ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घण्टापछि बिहान करीब ७ः१५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । आगलागी भएको करीब आधा घण्टामैं वारुणयन्त्र घटनास्थलमा पुगे पनि मार्टमा लत्ताकपडा धेरै भएकाले नियन्त्रणमा लिन कठिन भएको थियो ।
सञ्चालक रामबाबू रायले मार्टका सम्पूर्ण सामान जलेर नष्ट भएको र तीन तले घरमा समेत क्षति पुगेकोले रु १० करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिए । उनले मार्टको दोस्रो तल्लामा परिवारसहित बसोबास रहेकामा वैकल्पिक बाटोका कारण भागेर ज्यान जोगाउन सकिएको बताए ।
‘क्षणभरमैं जल्यो सम्पत्ति’
सर्लाहीको मलङ्गवा नगरपालिका–११ स्थायी ठेगाना भएका राय विगत २५ वर्षदेखि व्यापारिक कारोबारमा संलग्न छन् । शुरूमा उनले काठमाडौंमा ‘डोर टु डोर’ अर्थात् घरघरमा गएर सामान बेच्ने काम गरे र पछि अरूकै पसलमा बजार व्यवस्थाकका रूपमा काम गरे ।
सर्लाहीबाट झोला भिरेर काठमाडौं छिरेका रायले केही समय अरूको पसलमा काम गर्न सिकेपछि आफ्नै व्यापार शुरू गरे । “म शून्य लगानीबाट उठेको मान्छे हो । शुरूमा काठमाडौंका घरघरमा गएर सामान बेचें । त्यसपछि काठमाडौंबाहिर जिल्लाजिल्लामा गएँ । त्यसबाट केही पैसा आर्जन गरेपछि सानो पसल, होलसेल, रिटेल र डिपार्टमेन्ट स्टोरसम्म पुगें,” भावविह्वल हुँदै रायले भने, “तर २५ वर्षसम्म गरेको मेहनत र लगानी एकै रातमा सखाप भयो । झोला बोकेर घरबाट निस्केको थिएँ, अहिले फेरि झोला मात्रै बोकर सडकमा आएँ ।”
व्यापारमा संलग्न भएको २५ वर्षमध्ये करीब १५/१६ वर्ष उनले काठमाडौंको न्यूरोडस्थित रञ्जना हाउस र महाबौद्धबाट व्यापार गरे । तर विसं २०७२ को गोर्खा भूकम्पपछि व्यापारमा मन्दी आएपछि जनकपुर झरेका रायले यहाँ रामानन्द चोकनजीकै कपडा व्यापार शुरू गरे । छोटो समयमा व्यापार राम्रो हुँदै गएपछि आफ्ना सबै व्यापार बन्द गरेर रायले सम्पूर्ण लगानी हाल डिपार्टमेन्ट स्टोरसमेत रहेको घरमा लगानी गरे ।
“म एकैपटक ठूलो लगानी गरेर आएको होइन । ससाना व्यापारबाट ठूलो, त्यसैबाट कमाएको पैसाले ‘लज’ चलाइरहेको थिएँ तर भूकम्पपछि कारोबारमा गिरावट आएपछि जनकपुर आएको हुँ । यहाँ आएपछि अरू सबै व्यापार छाडें । भएको सम्पत्ति बेचेर करीब तीन करोडमा यही घर र व्यापारमा लगानी गरें तर एक रातमा सबै सखाप भयो,” रायले भने । रायले यही व्यापारलाई बढाउन काठमाडौंको थानकोटमा रहेको चार आना जग्गा, लज र अरू सबै जायजेथा बेच्नुका साथै सिद्धार्थ बैंक शाखा जनकपुरबाट रु तीन करोड ६५ लाख ऋण लिएको बताए ।
‘पीडामाथि पीडा’
रायलाई व्यापारमा हिम्मत गर्न सघाउने उनकी पत्नी थिइन् । उनले बाहिर र पत्नीले पसल सम्हाल्ने काम गरिरहेका थिए । “घरबार राम्रै चलिरहेको थियो, पत्नीले यो सबै हिम्मत दिएकी हुन् तर डेढ वर्षअघि अचानक पत्नीको दुईवटै मिर्गौला खराब भयो । त्यसपछि हाम्रो दुःखका दिन शुरू भए । आठ दिनअघि मात्रै पत्नीको उपचार भएको थियो । अब त केही सहज होला भनेको फेरि यो बज्रपात आइलाग्यो,” रायले आफ्नो पीडा बताए ।
जनकपुरमा केही वर्षदेखि सबै क्षेत्रका व्यापारमा मन्दी छ । त्यसको असर रायले पनि भोगे । सडक विस्तार, आन्दोलन, कोरोना र आर्थिक मन्दीले समस्या भोगेका उनी दशैं आएपछि केही भएपनि राहत होला भन्ने आशामा थिए । त्यसैलाई मध्यनजर गरी केही दिनअघि मात्रै नयाँ सामान ल्याएका थिए ।
“समस्या थियो तर पनि हिम्मत हारेको थिइनँ । राम्रा दिन आउने आशामा बसिरहेको थिएँ । दशैं तिहारले केही राहत होला भनेर ऋण गरेर सामान थपे तर अब त उठ्नै नसक्ने गरी सम्पत्ति र सबै सपना खरानी भए,” गम्छाले टिलपिलाएका आँसु पुछ्दै रायले भने, “भगवान १ पीडामाथि पीडा किन दिएको ? अब के गरेर खानु ? कसरी ऋण तिर्नु कुनै विकल्प रहेन मसँग ।”
सबैभन्दा दुःखको कुरा त रायले बैंकबाट ऋण लिंदा गरिने बीमाबाहेक सामानको बीमा गरेका छैनन् ।
“जायजेथा बेचेर लगानी बढाएँ । २५ वर्ष पसिना बगाएँ । काठमाडौंबाट भूकम्पले विस्थापित ग¥यो, फेरि उठ्न खोज्दै थिएँ । जनकपुरले त उठीबास नै लगायो, अब कहाँ जाने, कसरी उठ्ने १” रायले निराशा पोखे ।