जोहानेसबर्ग, १६ भदौ/एपी
दक्षिण अफ्रिकाको जोहानेसबर्गको मध्यभागमा अवस्थित एउटा पाँच तले भवनमा आगो लाग्दा ७५ जनाभन्दा बढीको जलेर ज्यान गएको छ भने अन्य ८८ जना घाइते भएका छन् ।
शुक्रवार दुईजना घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको हो ।
स्वास्थ्यमन्त्री जो पहालाका अनुसार ६२ जनाको शरीर पहिचान गर्न नसकिने गरी जलेकोले डिएनए परीक्षणका निम्ति सम्बद्ध निकायलाई निर्देशन दिइएको पत्रकारहरूलाई बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार २० जना विदेशी नागरिकको पनि मृत्यु भएको छ । कामको खोजीमा दक्षिण अफ्रिका आएका मलावी र तान्जानियाका आप्रवासीको मृत्यु भएको जनाइएको छ । प्रिटोरियास्थित तान्जानियाको उच्चायुक्तको कार्यालयले आफ्नो देशका पाँचजनाको जलेर ज्यान गएको पुष्टि गरेको छ ।
केही वर्ष अघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । सरकारी स्वामित्वको उक्त भवनमा सन् २०१९ देखि समस्या देखिएको सरकारी अधिकारीहरूले स्वीकार गरेका छन् । घरबारविहीन व्यक्ति कुनै औपचारिक भाडा सम्झौताविना उक्त भवनमा बसेका थिए ।
दक्षिण अफ्रिकाको संसद्ले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ । प्रहरीले पनि आपराधिक मुद्दा दर्ताको तयारी गरेको छ । यद्यपि कुन निकायलाई विपक्षी बनाइयो भन्नेबारे स्पष्ट भएको छैन ।
बिहीवार घटनास्थलको भ्रमण गरेका दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले उक्त दुर्घटना आंशिकरूपमा भवन कब्जा गर्ने र घरबारविहीनलाई त्यहाँ बस्न अनुमति दिने आपराधिक तŒवका कारण भएको बताएका छन् । उनले महानगरको आवास समस्या सम्बोधन गर्न जोड दिंदै राष्ट्रिय एवं स्थानीय सरकारलाई संवदेनशील हुन आग्रह गरेका छन् ।
जोहानेसबर्गको आवास सङ्कट समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै जोहानेसबर्गका पूर्वप्रमुख हर्मन मशाबाले राष्ट्रपति रामाफोसाको आलोचना गरेका छन् । राष्ट्रपतिले यो घटनालाई दुःखदायी भनेर मात्र नपुग्ने भन्दै २५ वर्षदेखि शहरले भोगेको समस्या रातारात सृजना भएझैं प्रस्तुत हुनु आपत्तिजनक भएको उनले बताएका छन् ।
दक्षिण अफ्रिकामा घरवारविहीनहरू विविध कारणले बिग्रे–भत्केका तथा राज्यले परित्याग गरेका भवनमा बलपूर्वक बस्ने गरेका छन् । त्यस्ता घर ‘कब्जा गरिएका भवन’का रूपमा चिनिन्छन् । रासस