– बैद्यनाथप्रसाद चौरसिया
यसपालि २०८० साउन महीनामा दोमास परेकोले पशुपति दर्शन अति शुभ मानिन्छ । मलाई कार्यविशेषले वीरगंजबाट काठमाडौं जाने मौका मिल्यो । साउन १३ गते दर्शनको अभिलाषाले बिहान ८ः३० बजे गौशालास्थित पशुपतिनाथ मन्दिर पुगें । त्यहाँ श्रद्धालुहरूको अत्यधिक भीड थियो । पञ्चामृतले रुद्राभिषेक पूजा लगाउने इच्छाले टिकट लिई प्रमुख प्रवेशद्वारको दक्षिणतर्पm रहेको नेपाल एसबिआई बैंकको काउन्टरमा पुगे । सूचनापाटीबाट विशेष पूजा पञ्चामृत स्नानको शुल्क रु १,१००/– बाट बढेर रु २,१००/– भए अनुसारको टिकट लिए । नजीकको काउन्टरमा स्पष्ट नेपाली भाषा बोल्ने एकजना महिलाले पञ्चामृत स्नानार्र्थ रु १,१००/– दिंदै टिकट पाउन पटकपटक अनुरोध गर्दा पनि बैंक अधिकारीबाट टिकट नपाएपछि निराश भइन् । महिलाको अनुहार उदास देखेर मैले पाकेटमा झट्ट हात हाले र एक हजारको नोट अगाडि बढाउँदै भनें– बहिनी यो लिनुस् टिकट लिई दर्शन गर्नुस् । तर महिलाले लिन मान्दै मानिनन् । अन्ततः बैंक अधिकारीले उनलाई भने– माथि समितिको कार्यालयमा जानुस् । महिला माथि लागिन् । टिकट लिई मन्दिर परिसरभित्र पुग्दा पश्चिम ढोकाबाट दर्शन गर्नको लागि देश–विदेशबाट आएका सर्वसाधारण श्रद्धालु भक्तजनहरूको दुवैतर्पm उत्तरपट्टि र दक्षिणपट्टिबाट ठूलो लाइन थियो । जुन मन्दिरको मूल प्रवेशद्वारभन्दा अगाडिबाट शुरू थियो । धकेलाधकेल र दर्शनको चिन्ताको माहोल थियो । उत्तर, पूर्व र दक्षिण ढोका विशेष पूजा आराधनाको लागि खुल्ला थियो । मैले पनि पूर्व ढोकाबाट टिकट देखाइ प्रवेश गरें र उत्तर ढोकाबाट पूजा सकाएर आधा घण्टाभित्र बाहिर आएँ । मन्दिरको परिक्रमा गरी बाहिर आउन लाग्दा बसहाको पछाडिको चौतारीमा टिकट लिन खोज्ने उक्त महिला श्री पशुपतिनाथलाई हात जोड्दै ध्यानमा थिइन् । म त्यहाँ एक क्षण उभें र सोधें– बहिनी दर्शन गर्नुभयो । मैले ‘हो’मा जवाफ पाएँ । उनले भनिन्– अर्कोपटक आउँदा रुद्राभिषेक पूजा लगाउँछु । यसपालि भएन । नेपाल राष्ट्र बैंकले आफ्नो सर्वेक्षणमा देशमा महँगी १० प्रतिशतभन्दा कम रहेको आँकडा दिन्छ तर महँगी त ९० प्रतिशतभन्दा बढी छ । पूजा सामग्री उही एक माना दूध, सानो कचौरामा घ्यू, दही, चिनी, मह आदि । महिलाको घर र ठेगाना सोध्दा जनकपुरबाट दर्शन गर्न आएको बताइन् ।
पशुपतिनाथको पूजाशैली पहिलेभन्दा बदलिएको छ । २०३०/३१ सालतिर आनन्दकुटी साइन्स कलेजमा आइएस्सी पढ्दा छुट्टीको समयमा पशुपतिनाथको पूजा गर्न फूल–प्रसाद लिई ढोकामा पुग्दा भट्टले श्रद्धा–भक्तिले पूजाआजा गरी फूल–प्रसाद चढाइदिन्थे । यो परम्परा धेरै वर्षसम्म रह्यो । अहिले त भक्तजनहरूले पूजाका लागि लगेका फूल–प्रसाद, भेटी भट्टले लिंदैनन् बरु खटिएका सुरक्षाकर्मीले डोकोमा हाल्नुस्, दर्शन गरी हिंड्नुस् भन्छन् । यस शैलीबाट देशका विभिन्न क्षेत्र र विदेशबाट बाबाको दर्शनार्थ आएका श्रद्धालु भक्तजनहरूले पूर्ण सन्तुष्टि प्राप्त गरेको मान्न सकिन्न । आजकल देशमा प्रायःजसो सबै सरकारी, गैरसरकारी संस्थामा सेवाको भावना कम र बढी धन आर्जन गर्ने होड चलेको छ । सहकारी, वाणिज्य बैंक, प्राधिकरण, निगम, आन्तरिक कर, भन्सार, यातायात आदिले वार्षिक अर्बौं रुपैयाँ आर्जन गरेका विवरण पत्रपत्रिकामा दैनिक पढ्न पाइन्छ । यसको मतलब संस्थाहरूले धन आर्जन नगरोस् भन्ने मनसाय कदापि होइन । तर धन आर्जनसँगै जनतालाई पु¥याउनुपर्ने सेवासुविधामा बढी ध्यान जानुपर्ने हो । पशुपति क्षेत्र विकास कोषको अर्थोपार्जन गर्नेभन्दा श्रद्धालुहरूलाई कसरी बढी सेवासुविधा र सहज एवं सम्मानजनक तरीकाबाट बाबाको दर्शन गराउनेतर्फ ध्यान जानुपर्ने हो । हजारौंका भीडको लागि पश्चिम ढोकामा र केहीको विशेष पूजाको लागि उत्तर, पूर्व र दक्षिण ढोका खुल्ला गर्नु मानवीय हिसाबले पनि सही मान्न सकिंदैन । उल्लिखित समस्याहरू न्यूनीकरण गर्न निम्न सुझावहरू उल्लेख गर्न चाहन्छु :–
१.उत्तर र पश्चिम ढोका सर्वसाधारणको दैनिक पूजा आराधनाका लागि हुनुपर्छ ।
२. पूर्व र दक्षिण ढोका विशेष पूजा लगाउने श्रद्धालुको लागि ।
३. श्रद्धालुको भीड र चापलाई मध्यनजर गरी भट्टहरूको सङ्ख्या दोब्बरसम्म गर्ने ।
४. सर्वसाधारणको आर्थिक अवस्थालाई विचार गरी विशेष पूजाको शुल्क निर्धारण हुनुपर्ने ।
५. भारतका तीर्थस्थलमा जस्तै श्रद्धालु भक्तजनहरूलाई बसोवासको उचित र सस्तोमा व्यवस्थाको लागि नेपाली पुजारी बाजे/पण्डाहरूलाई धर्मशाला वा सेवा ट्रस्ट खोल्न दिनुपर्ने ।
६. पशुपतिनाथ तथा अन्य प्रमुख धार्मिकस्थलतर्पm श्रद्धालुको ध्यान आकर्षित गर्न देश–विदेशमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने ।
७. पशुपति क्षेत्र विकास कोषले आफ्नो आम्दानीको केही अंश देशका गरीब, निमुखा जनताको स्वास्थ्य, शिक्षा र धार्मिक प्रवचनको आयोजन आदिमा खर्च गर्नुपर्ने ।
८. पशुपतिनाथका चारै ढोका बिहानैबाट खोल्नुपर्ने हो तर त्यो सम्भव नभए बिहान ८ बजेदेखि खोल्नुपर्ने । यसबाट भीडको चाप घट्छ र बिहान दर्शन गरी काममा लाग्न सजिलो हुनेछ ।