वीरगंज महानगरपालिका तपाईंको युवा जोश जाँगर तथा उत्साहले विकसित हुँदैछ भन्ने कुरा बल्ल वीरगंज महानगरवासीले अनुभूति गर्न पाएका छन् । यतिका कार्य हुँदा तपाईंकै मात्र सोच तथा सुझबुझ हो भन्ने कुरा महानगरवासीलाई यकीन हुन सकेको छैन । तर यहाँ यस्तो सोच राख्ने व्यक्ति विरलै होलान् । तपाईंले पनि पटकपटक म विज्ञ होइन भन्ने स्वीकारोक्ति गर्नुभएको छ । हुन पनि यो विषय र क्षेत्र तपाईंको छँदा पनि थिएन । काम गर्दै जाँदा तपाईंले अनुभव र ज्ञान अवश्य बटुल्दै जानुहोला । तपाईंले त जजसले जे भने त्यो अनुसार बनाउँदै–भत्काउँदै जाने लर्को लगाउनुभएको छ । विज्ञतापूर्वक सोचविचार तथा योजनाबद्ध सुन्दर तरीकाले एकैपटक दिगो र दूरदृष्टिका साथ जनताको करको सदुपयोग गर्दै जानुपर्ने आवश्यकता छ । त्यसका लागि विद्वान्हरूको साथ र सहयोग लिनुपर्ने हुन्छ । आसेपासेहरूले त धरापमा पार्नेछन् । सरसफाइलगायत कामहरू नगरवासीको सोच, इच्छा, चाहना अनुसार विकसित भइरहेका छन्, तर यसबाहेक केही विशेष नौलो सौन्दर्यीकरणका कार्य तपाईंबाट अर्काको नक्कल (कपी–पेस्ट) अवश्य नै भएको हो । केही कामविशेष ज्ञान, सोच तथा सुझबुझ राख्ने कलाकारका (डिजाइनर) होलान्, तिनका सोच र परिकल्पनालाई वाह, क्या बात र आभार भन्नैपर्छ । महानगरले त्यस्ता व्यक्तिलाई उचित पहिचान, सम्मान तथा स्थान दिनैपर्छ किनभने यो जसको सोचसुझ हो, त्यो एक क्षण वा एक वर्षको पक्कै होइन, वर्षौंको होला र तन, मन तथा धनले होला । वीरगंज महानगरमा (तपाईं वा तपाईंको समूहमा) यस्ता विज्ञहरू कति छन् भन्ने कुरा महानगरवासीसँग लुकेको पनि छैन ।
मुख्य कुरा गरौं–मुख्य सडक तथा विभिन्न स्थान– सडक छुट्याउने डिभाइडर तथा फूटपाथमा वृक्षारोपण गराइएको छ, पुराना बोटबिरुवालाई व्यवस्थित नगरी एकरूपतामा ध्यान नदिई धमाधम नयाँ बोटबिरुवा रोप्ने काम नर्सरी ठेकेदारमार्फत भएको छ । ती बिरुवा वा बोटहरू हाम्रो माटो सुहाउँदा छन् कि छैनन्, हुर्केपछि कस्तो आकारप्रकार लिन्छन् । सुन्दर, रमणीय, मनमोहक देखिन्छन् कि कुरूप देखिन्छन्, यसबाट फाइदा–बेफाइदा के हुन्छ, यसको कल्पना भविष्यको दृश्य–छाया नेटमा अथवा कागजमा कोरेर अनूभूति अध्ययन केही गर्नुभएको छ कि नर्सरी ठेकेदारले जेजे भन्यो, त्यसकै आधारमा लगाइएको हो ? के तपाईंको समूहमा यस विषयका कोही विज्ञ छन्, जसको अध्ययन, अनुभवले ढुक्क भएर वृक्षारोपण गरिएको हो । नभए देश–विदेशका विज्ञबाट सल्लाह लिएको भए उपयुक्त हुने थियो ।
कहीं धूपी नै धूपी, कहीं जाकरन्डा नै जाकरन्डा, कहीं नीमैनीम,कहीं बोटलपाम कहीं फिशरपाम, कहीं क्रोटन नै क्रोटन विनातारतम्यको देखिएको छ । भोलि यी बोटबिरुवा हुर्केपछि सडक, लेनहरू कस्ता देखिन्छन् होला ? पछि बोटबिरुवा मास्नुपर्ने वा स्याहारसुसारमा धेरै बजेट लगानी गर्दा जनताको कर तिरोको दुरुपयोग त हुने होइन ?
गहवामाई मन्दिरअगाडि एकैपटक सवारीसाधन निषेध, नेपाली ढुङ्गा, बत्ती तथा फोहरा जडान गर्न लेखेर सुझाव दिएका थियौं, तर पछि साइड फुटाएर बत्ती जडान गरेर अनावश्यक तोडफोड र खर्च भार बढाइयो । कुनै दिन फोहराको लागि पुनः तोडफोड गरिएला, यी सबै काम एकैचोटी हुन सक्थ्यो । त्यहाँ राखिएका बेन्चहरू पनि स्तरीय छैनन्, नगर क्षेत्रका चारैतिर कृत्रिम बत्तीको झिलमिलीले वातावरणलाई कुनै टेवा पु¥याउँदैन, बरु प्रदूषण मात्र बढाउँछ । झिलीमिली भनेको चाडबाडमा मात्र हो । नगरका अन्य स्थानमा पनि सरसफाइ तथा सबै सुविधा उपलब्ध हुनुपर्छ । सुलभ शौचालयहरू अति आवश्यक छन् ।
अन्तमा वैभवशाली वीरगंजलाई यथार्थमा रूपान्तरित गर्ने हो भने मूल सडक २५/२५ मिटर हुनुको विकल्प छैन । ओठे भक्ति र दिवास्वप्न मात्र देखाउने हो भने कुरा अर्कै हो । यदि २५/२५ मिटरको चाहना–भावना छ भने २५/२५ मिटरभित्र कुनै पनि सानाठूला संरचना, यहाँसम्म कि एउटा सानो बिरुवा पनि रोप्नु भनेको जनताको रगत–पसिनाको कर तिरोको दुरुपयोग हो ।
प्रकृतिसित विशेष प्रेम तथा लगावले विगत धेरै वर्षदेखि वातावरण, वायु प्रदूषण, ध्वनि प्रदूषणसम्बन्धी कामको थालनी गरी यस क्षेत्रमा तन, मन, धनले जनचेतना, जनजागृति, घरदैलो, पसल, कार्यालय, शिक्षालय, सार्वजनिक स्थलमा सरसफाइ, वृक्षारोपण, प्लास्टिक झोला प्रतिबन्ध, श्रीसिया नदीको सफाइ, नदी, खोलाको सरसफाइ, अतिक्रमण रोक्नका लागि स्थानीयदेखि केन्द्रसम्म आफ्नो नागरिक कर्तव्य पूरा गर्ने प्रयास गर्दै आएको प्रकृतिप्रतिको प्रेम तथा अनुभवले तपाईंलाई यो सल्लाह–सुझाव दिन जमर्को गरेको छु ।
हामी हाम्रो संस्थाको उद्देश्य ‘हरियो, सफा र स्वस्थ वीरगंज, प्लास्टिक झोला, प्रदूषणमुक्त वीरगंज’, ‘धरती बचाऔं, वातावरण जोगाऔं’ भन्ने मूलमन्त्रका साथ अगाडि बढ्दै छौं ।
यहाँको कार्यकालको सफलताको कामना गर्दै हामीहरूले तपाईंको कार्यकाल शुरू हुनेबित्तिकै २३ बुँदे ज्ञापनपत्र सङ्ख्या नं ११/२०७९, मिति १५/०२/२०७९ बुझाएका थियौं । हाम्रो मुख्य मुद्दा प्लास्टिक झोला तथा प्लास्टिकजन्य सामग्रीहरूको व्यवस्थापनको थालनी अझै बाँकी नै छ, साथ र सहयोगको अपेक्षा राख्छौं । प्रदूषणमुक्त वीरगंज बनाउने अभियानमा तपाईंको सहयात्री ।