ट्वीटरका मालिक एलन मस्कले ट्वीटर ब्रान्ड समाप्त गर्ने पूर्ण तयारी गरिसकेका छन् । अब यस माइक्रो ब्लगिङको प्लेटफर्मको नयाँ युग आरम्भ भएको छ । ट्वीटरका प्रयोगकर्ताहरू अबदेखि नयाँ युआरएल (एक्स डट कम) टाइप गरेर ट्वीटरमा पुग्न सक्छन् । त्यस्तै, ट्वीटरमा अब छिट्टै चराको लोगोको सट्टा एक्स देखिने भएको छ ।
एलन मस्कलाई चिनियाँ एप वि च्याट निकै मन पर्छ, उनले धेरै पहिले भनेका थिए, म वि च्याटजस्तै केही ल्याउन चाहन्छु । वि च्याट चीनको एउटा सुपर एप हो, जहाँ हरेक प्रकारको सेवा पाइन्छ । वि च्याटबाट सामजिक सञ्जाल, भुक्तानी सेवा, टिकट भुक्तानी सेवा, गेम सर्भिस र अन्य थुप्रै सेवाहरू दिइन्छ ।
एक्स डट कममा एलन मस्कले ट्वीटर मात्र होइन अन्य कम्पनीहरू पनि रिडाइरेक्ट गर्न सक्छन् । जस्तै टेस्ला, स्पेस एक्स, नेउरालिड्ढ, द बोरिङ कम्पनी, स्टारलिङ आदि प्रोजेक्टलाई एक्स डट कममा शिफ्ट गर्न सकिन्छ । अर्थात् एक्स डट कम खोलेपछि एलन मस्कको यी सम्पूर्ण कम्पनीको इन्टरफेस पनि खुल्न सक्ने बताइन्छ । यद्यपि यो स्पष्ट भएको छैन । एक्स डट कम नयाँ होइन, सन् १९९९ मा एलनले एक्स डट कमको शुरूआत गरेका थिए ।