– कुमार रुपाखेती
‘पशुपतिनाथको सुनको छानामा चारखुट्टे बाँदर’ भन्ने गीत केटाकेटी छँदा धेरैले सुनेका होलान्। शायद अधबैंसे हुँदा ओलीले पनि यो गीत सुनेका रहेछन्, र त उनले अस्ति प्रधानमन्त्री बन्दा पशुपतिनाथमा एक क्विन्टलभन्दा बढी सुनको जलहरी लगाउने बन्दोबस्त मिलाए। तर यो जलहरी पनि कचहरी पुगेको छ। जलहरी निर्माण गर्ने क्रममा थुप्रै किलो सुनको घपला भएको कुराले संसद् गर्माएको छ । कुनै बेला नेपाललाई काण्डैकाण्डको मुलुक भनिन्थ्यो। अहिले त काण्ड मात्र होइन, सबै राजनीतिक दलका शीर्षहरू भस्मासुर साबित हुँदै गएका र तिनले जे छोए पनि भस्म हुन थालेको देखिन्छ। हिन्दूहरूको सबैभन्दा पूजनीय आराध्यदेव महादेवको निवास पशुपतिनाथ मन्दिरलाई समेत यिनले बाँकी राखेनन् । बिचरा राजा महाराजाहरू सधैं आफ्नो भाषणको पुछारमा ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् भन्दै’ शिवलाई पुकार्थे। यिनै हिन्दूहरूको आस्थाको केन्द्र श्री पशुपतिनाथलाई समेत जलहरी काण्डले सडकमा छताछुल्ल पारेको छ। मन्त्री, प्रधानमन्त्रीको शपथ खाँदा ईश्वरको ठाउँमा यी क्रान्तिवीरहरूले अन्यथा शब्द बोलेर भगवान्को निरादर गर्ने गरेको सबैलाई थाहै छ। सत्ताबाहिर रहँदा धर्मलाई अफिम र चाडपर्वलाई सामन्तीसूचक प्रथा भन्दै विरोध गर्ने यिनीहरू सत्ताको चमकदमकमा आएपछि रातो टीका निधारमा टिलिक्क टल्काउँदै लाजै नमानी धर्मभिरू भएको पनि देखिएकै हो। अचेल यी धर्मभिरू त ज्योतिषको भर पर्ने, जादूटोना मान्ने अनि कोही कोही त अघोरीको रूप धारण गरेर हिंडेको समेत देखिन्छ। यिनीहरूको छेपारे चरित्रले प्रभावित छोटेनेताहरूसमेत गाउँघरमा बोक्सी र टुनामुना गर्न जान्ने भन्दै गरीब, निमुखा, असहाय एक महिलाको घरखेतसमेत ताक्न थालेका छन् । नेपालगंजकी निर्मला कुर्मी यसको उदाहरण हुन् भन्ने पूर्वएमाले सांसद बादशाह कुर्मी यसको जिताजागता प्रमाण हुन्।