• कुमार रुपाखेती

आयोजकहरूका अनुसार वीरगंजमा अहिले रात्रिबजारले तहल्का मचाएको छ ।

रात्रिबजारले यहाँको अर्थतन्त्रलाई सबल बनाउँदै गएको तथा सफल भएकोले जनकपुर र नारायणगढ, चितवनसमेत रात्रिबजारप्रति प्रभावित भएका र रात्रिबजार त्यता पनि खोल्न चौंचौं परेका छन् । तर नेपालमैं नाम कमाएका काठमाडौं महानगरका प्रमुख बालेन र धराने प्रमुख हर्क साम्पाङ किन हो किन हाम्रो रात्रिबजारलाई देख्या नदेख्यै, सुन्या नसुन्यै कानमा तेल हालेर बसेका छन् ? भनिन्छ, काठमाडौंमा रातभरि खुल्ने ठमेल बजार र रात छिप्पिन थालेपछि धरानमा मदिराप्रेमीहरूको आतङ्कले गर्दा बालेन र हर्क त्यसै पनि रात्रि कारोबारदेखि बिच्किएका छन् रे ।

रात्रिबजारको नाममा वीरगंज आदर्शनगर क्षेत्रमा यातायातको साधन प्रवेश निषेध गर्ने, बीच सडकमैं खोम्चा थाप्ने, रात्रिबजारको नाममा सडकमैं मःमः र चाउमिन पसल थाप्ने, जथाभावी बिजुलीको लाइन तान्ने गरिएकाले खोम्चाको व्यापार त बढेको छ, स्थायी पुराना लत्ताकपडाका पसल, ठूलठूला होटलहरू सम्साँझैं बन्द गर्नुपर्ने अवस्था छ । रात्रिबजार लाग्ने आदर्शनगर क्षेत्र विदेशी सामान पाइने, स्तरीय होटल भएको, सबैजसो बैंक रहेको विकसित क्षेत्र, संवेदनशील क्षेत्र मानिन्छ तर रात्रिबजारको नाममा त्यहाँ सडकपेटी अतिक्रमण हुँदै गएको, हरियालीमा असर परेको, खुला नाचगानले शान्ति भङ्ग भएको तथा एकपटक रात्रिबजार अवलोकन गरेर फर्कने स्थानीय दोस्रोपटक नजाने घोषणा गर्न थालेका छन् । रात्रिबजारमा स्थानीय युवक–युवतीले सेल्फी खिच्ने थलो बनाएको तथा सजिलो भेटघाट क्षेत्र भने पाएका छन् । सीमापारिबाट सम्साँझैं मदिरा पिउन आउनेहरूले रात्रिबजारको लुफ्त उठाउन पाएको चाहिं ठीक साँचो हो । आर्थिक मन्दीको यो बेलामा रात्रिबजार घुम्ने बहानामा बालबच्चाले अभिभावकको गोजी हलुको पार्दै आएका छन् । काम नपाएका बेरोजगार लठुवाहरूको टन्डेली मार्ने आकर्षक क्षेत्र बनेको छ, हाम्रो रात्रिबजार ।

कतिपय मध्यमवर्गीय अभिभावकहरूका लागि ‘काम नपाएकी बुहारी…’ बनेको छ महानगरको यो रात्रिबजार । बरु यो उखरमाउलो गर्मीमा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरीमा पौडी खेल्ने व्यवस्था मिलाएको भए सुनमा सुहागा हुने थियो । बिचरा पौडीपोखरी त राजनीतिक प्रयोजनका लागि निर्माण भएझैं लाग्छ । आदर्शनगर क्षेत्र सफा चौडा सडक र हरियालीका लागि नाम कमाएको क्षेत्र हो । यो ट्रान्सपोर्ट एरियासमेत हो, जहाँ माल ढुवानी पनि हुन्छ तर रात्रिबजारको नाममा त्यस क्षेत्रमा साँझपखदेखि नै सवारीसाधन प्रवेश निषेध गर्नाले ट्रान्सपोर्ट व्यवसायसमेतमा असर परेको गुनासो छ ।

मुलुकमा राजमार्गको छेउमा रहेको मुग्लिन बजार रातभरि खुल्छ, राजमार्ग छेउका थुप्रै बजार रातभर जाग्राम रहेर खोलिन्छन्, तिनको रात्रिबजारमा समेत होटल, रेस्टुराँबाहेक सबै बन्द रहन्छन् । सडक, राजमार्गछेउका रात्रिसेवामा खोलिने यस्ता बजारहरूले ग्राहकको छिलाइ मात्र गर्ने र स्तरीय सेवा नदिने आरोप लाग्ने गरेको छ । हाम्रो रात्रिबजारमा समेत खूबै छिलाइ गरिन्छ । बाल उद्यान, माईराम पोखरी, पुरानो बसपार्क क्षेत्र महानगरको सम्पत्ति हो, अनि कसैलाई असर नपर्ने गरी आफ्नै मातहतका यी क्ष्Fेत्रमा रात्रिबजार सञ्चालन गरे महानगरलाई पनि आम्दानी स्रोत बढ्ने, रात्रिबजारको नाममा आदर्शनगर क्षेत्रमा यातायात नाकाबन्दी गर्नुपर्ने अवस्था आउने थिएन । गीता मन्दिरको पूर्वपट्टिको खाली ठाउँमा समेत रात्रिबजार सञ्चालन गरे कसैलाई मर्का नपर्ने उल्टै महानगरलाई फाइदा हुने थियो । यस्ता कुराहरूमा यिनलाई सल्लाह दिनु सूर्यलाई दियो देखाउनुजस्तै हो । अचम्म त के छ भने निष्पक्ष र खोज पत्रकारिताको प्रबल सम्भावना रहेको वीरगंजका अधिकांश पत्रकारबन्धुहरूसमेत रात्रिबजारको अप्ठेरोबारे लेख्न, बोल्न कन्नि काट्छन् । अझ कतिपयले त नयाँ थालनी भन्दै रात्रिबजारको गुणगानमा सम्पादकीय लेखेरै रिझाएको देखिन्छ । यिनको रवैया देखेर मलाई गुलजारको शेर याद आउँछ–

अजीब किस्सा है, जिन्दगीका भी,

कमबख्त पूरी जिन्दगी जिनी पडती है, एक दिन मरने के लिए ।

पञ्चायतकालीन रमाइलो मेलाको नयाँ संस्करण हो रात्रिबजार । देखावटी काम र बनावटी वाहवाही महानगरको हितमा छैन । कुनै बेला वीरगंजको ट्राफिक व्यवस्था सुदृढ गर्ने भन्दै उतिबेलाका नगरप्रमुख विमलप्रसाद श्रीवास्तवले ठूलै तामझाम र खर्च गरी घण्टाघरदेखि आदर्शनगरसम्म ट्राफिक लाइट लगाए । जडान गरिएको केही महीनापछि नै ट्राफिक लाइट थला पर्यो, जसको अहिले अवशेष पनि छैन । महानगर भएपनि हामी अझै बत्तीको सङ्केतमा होइन, ट्राफिक प्रहरीको सिट्टी र हातको इशारामा चल्न विवश छौं । घडीअर्वा पोखरी परिसरको हबिगत सबैलाई थाहै छ । धन्य ज्येष्ठ नागरिकले पाएकोले लक्ष्मणवा पार्कको स्वरूप हेर्नलायक गतिलो छ । आफ्नो मातहत रहेको जमीनमा महानगरले रात्रिबजार लगायो भने अरूलाई मर्का पर्ने थिएन भन्ने मेरो बुझाइ हो । महानगरको सिको गर्दै अचेल सडकमा टेन्ट गाडेर सानले भोजभतेर गर्ने कुरीति फस्टाएको छ । कस्तो विडम्बना ! हेनुस् न, अस्ति हाम्रा मेयरसाबले सडक सुरक्षा सप्ताहको उद्घाटन गरे अनि ‘उल्टे चोर कोतवालके डाँटे’ स्तरमा रात्रिबजारको नाममा सडक व्यापार गराउने, रात्रिबजार क्षेत्रमा यातायातका साधन छिर्न नदिने कामले के सडक अतिक्रमण भएन र ?

चलनचल्तीको रोडमा किल्लाकाँटी र फलामे बारले छेकेर गहवामाई मन्दिरको त सौन्दर्य बढ्यो । अनि दुई नम्बर रोड फलामे बारले जाम गर्दा मेनरोड र सहायक सडकहरूमा जाम र दुर्घटना बढेकाले शहर नै कुरूप बनेको कसले देख्ने ? अन्तिममा म यही भन्छुः

सिख नहीं पाया मीठे झूट का हुनर

कडवे सच ने कई लोग छिन लिए मुझसे ।

भारतमा समेत अचेल भाजपा समर्थक पत्रकारहरूलाई व्यङ्ग्य गर्दै भनिन्छ :

गुलामी एक ऐसी बिमारी है

जिसे इसकी आदत पडती है,

वह अपनी ताकत भूल जाता है

तैपनि भन्न करै लाग्छ– जाउँ न सरर, रात्रि बजारमा…। अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here