• कुमार रुपाखेती

आम जनताले नातानुसार कसैलाई छोरी, स्वास्नी, भतिजा–भतिजी, भाइ भन्ने चलन छ । राजतन्त्रमा दरबारियाहरूले दर्जानुसार राजा, रानी, युवराज, युवराज्ञी, अधिराजकुमार र अधिराजकुमारी भनी सम्बोधन गर्दथे । राजा महेन्द्रले आफूलाई सहयोग मिल्नेगरी कुनै न कुनै संस्थाको हर्ताकर्ता बनाएका थिए ।

राजा वीरेन्द्रसमेतले अधिराजकुमार भाइ धीरेन्द्रलाई खेलकूदमा अधिराजकुमारी दिदीलाई बाल सङ्गठनको हर्ताकर्ता बनाएका थिए । त्यस्तै अर्का चल्तापूर्जा भाइ ज्ञानेन्द्रसमेत राजाका राजनीतिक सल्लाहकारझैं थिए । युवराज छोरा दीपेन्द्र र निराजनलाई मात्र होइन, शाहजादा पारसलाई समेत दामासाहीले कतै कतैको सर्वेसर्वा बनाएका थिए । राजाहरूले भाइभारदार र दरबारियाहरूलाई पद दिएर रिझाएर राख्दथे । जिल्ला जिल्लामा त्यतिखेर साहेबज्यूहरू हुन्थे । त्यत्तिखेर दरबारिया शरदचन्द्र शाहको खेलकूद क्षेत्रमा निकै  दबदबा थियो, भनिन्छ शरदचन्द शाह खेलकूदमा रहे पनि आसेपासेलाई मन्त्री, अञ्चलाधीश बनाउने ल्याकत राख्दथे ।

नेपाली खेलकूदमा शरदचन्द्र शाहको योगदान उल्लेखनीय थियो । पूर्व खेलकूद अञ्चल सचिव एवं वीरगंजका मेयर प्रदीप सुवेदीका अनुसार शरदचन्द्र शाह विलक्षण प्रतिभाका धनी थिए । राजाले नियुक्त गरेका भाइ–भारदार र दरबारियाहरू थोरै गन्हाए पनि धेरै राम्रा राम्रा काम गर्न माहिर मानिन्थे । राजाले ठोक बजाएर नियुक्त गरेका अञ्चलाधीशहरू १४ अञ्चलमैं राज्य व्यवस्था कायम गर्न, साम्प्रदायिक सद्भाव बढाउन र राजाको आदेश पालन गर्न माहिर मानिन्थे । एक्कादुक्काबाहेक सबै अञ्चलाधीशहरू आफ्नो काममा पोख्त, सफल र खप्पिस थिए । दरबारसँग सोझै सम्बन्ध भएकाले अञ्चलाधीशहरू कसैसँग दब्दैनथे । त्यत्तिखेर प्रहरी प्रमुख, सेना प्रमुख र अन्य जल्दाबल्दा पदहरूमा राजाकै विश्वासपात्रहरू विराजमान गराउने प्रचलन थियो । त्यत्तिखेर पनि भ्रष्टाचार हुन्थ्यो, तर अहिलेको तुलनामा एकदमै न्यून । त्यत्तिखेर नागरिकतामा एकदम कडाइ थियो, अहिलेजस्तो नेपालीलाई भूटानी शरणार्थी बनाउने त गुन्जाइस नै थिएन । त्यत्तिखेर दरबारको प्रत्यक्ष निगरानीमा चल्ने गृह मन्त्रालय जोगमेहर श्रेष्ठले गृहमन्त्रीको रूपमा सफलतापूर्वक चलाए । नेवारी लयमा नेपाली बोल्ने उनको भाषण सुन्दा हाँसो उठ्थ्यो । उनको नेपाली प्रस्ट थिएन । गठबन्धनको नाममा अचेल नाम र अवधि तोकेर (प्रचण्ड २ वर्ष, माधव नेपाल १ वर्ष र बाँकी देउवा) प्रधानमन्त्री पद बाँडफाँड गरिन्छ, उत्तिबेला राजाले चाहेको मान्छे ठोक बजाएर प्रधानमन्त्री बन्थे । त्यत्तिखेर मन्त्री, मन्त्रालय, प्रधानमन्त्री र राष्ट्रिय पञ्चायत सदस्यहरू अहिलेझैं भ्रष्टाचारमा गन्हाएका थिएनन्, गन्हाउनु अघि नै पदबाट हात धुनुपर्ने प्रचलन थियो । त्यत्तिखेर पाँच विकास क्षेत्रको आफ्नै विशेषता थियो, अनि राजा मुलुकको कुनाकाप्चा घुमिरहन्थे । दरबारभित्रै चाकडीबाजहरूसँग रुमलिएर बस्ने खालका न महेन्द्र थिए, न वीरेन्द्र नै । राजा महेन्द्र वीरेन्द्र र ज्ञानेन्द्रसँग उठबस र सङ्गत गरिसकेका ९४ वर्षीय विश्वबन्धु थापाका अनुसार ज्ञानेन्द्रको सत्तामोहले गर्दा नवयुवराज हृदयेन्द्रको बेबीकिङ्ग बनाउने प्रयास तुहियो । बेबी किङ्गका लागि कुनै बखत गिरिजा कोइराला र भारत करीबकरीब मानिसकेका थिए रे । राजा ज्ञानेन्द्र राजनीतिक सरसल्लाहका खातिर अहिले भारतमा राजनीतिक खुसुरपुसुरमा सक्रिय छन् ।

गणतान्त्रिक नेपालका बहुदले नेताहरूसँग आजित भारतले अचेत ज्ञानेन्द्र शाहलाई भाउ दिन थालेका पनि सत्य नै हो । भारतकै आड भरोसामा ज्ञानेन्द्रले नेपाल नछाडेको हो । भारतले ज्ञानेन्द्रलाई तुरूपको एक्का बनाएर राख्न खोज्दैछ रे । अस्तिको निर्वाचनमा राप्रपा तङ्ग्रिएको, राष्ट्रिय स्वतन्त्र पार्टी अस्तित्वमा आएपछि पूर्वराजामा पनि हौसला बढेको देखिन्छ । नत्र अस्ति झापामा जनताको ढुङ्गामुढा खाँदा ओलीले अत्तालिएर व्यर्थमा किन ज्ञानेन्द्र र हिमानीलाई सत्तोसराप गर्थे । नेपालका दरबार र भारदारको नालिबेलीसँग हामी सबै वाकिफ छौं । बिचरा नेपाली राजा–महाराजा र दरबार त एकादेशको कथा भैसक्यो । अहिले चलनचल्तीको राजनीतिमा त प्रचण्ड, देउवा, ओलीहरूको चक्रव्यूहमा नेपाल र नेपालीहरू फसेका छन् । कुनै दलका कुनै नेता सङ्ला छैनन् । भागबण्डा मिलाएर सत्ता लुछाचुँडी गरेर भुँडी भर्न सके –दो जिस्म, एक जान छन् ।

भर्खरैको भूटार्नी शरणार्थीकाण्डमा भएको भ्रष्टाचारमा एमाले, काङ्ग्रेस, माओवादीहरूको मिलिभगतले हामीलाई वाइडबडी जहाजकाण्ड, सुडान घोटालाकाण्ड, महराले भारतलाई साइजमा राख्न चीनसँग मागेको ५० करोडकाण्ड, यतिकाण्ड, ओम्नीकाण्ड, आयल निगम जग्गा खरीदकाण्ड, गोकुल बास्कोटाकाण्ड, ललिता निवास जग्गा काण्ड, ३५ किलो सुनकाण्ड स्मरण गराएको छ र विगतझैं टाँयटाँय फिस्स हुने सङ्केत पनि दिएको छ ।

पटकपटक प्रधानमन्त्री भैसकेका ओलीले आफ्नो प्रधानमन्त्रित्वकालमा सिन्को नभाँचेपनि भूटानीकाण्डमा पार्टी सचिव टोपबहादुर रायमाझी र अन्य आसेपासे फस्ने देखेपछि माओवादी लडाकू शिविर घोटालामा भएको अर्बाैंको भ्रष्टाचार छानबीन गर्नुपर्ने हास्यास्पद माग राखेर भूटानी शरणार्थी काण्डलाई फितलो पार्ने दुष्प्रयास गर्दैछन् । ओली प्रधानमन्त्री हुँदा लडाकूको फाइल नखोलेर के हेरेर बसे ? हमाम में सब नङ्गे हैं–भनेझैं आफ्नो आड्ढो छारो उडाउन तनिक लाज लाग्दैन । प्रोपोगन्डा फैलाउनसमेत ओली, प्रचण्ड र देउवा होनहार मानिन्छन् । पञ्चायतकालमा समेत यिनले केही बकम्फुसे हल्ला फैलाएर राजपरिवारलाई जनताको नजरमा खसाउने दुष्प्रयास गर्थे । जस्तै पम्फादेवी भनेको रानी ऐश्वर्या हो, नमिता–सुनीता काण्डमा दरबारिया संलग्न छन्, भक्तपुरमा पुराना मूर्ति चोर्ने भारदारहरू क्रेन लिएर गए, भक्तपुरेले लखेटे, भारदारबीच भीषण मनमुटाव, सूर्यबहादुर थापाले दरबार थर्काए आदि इत्यादि । तर अहिले त हत्या, हिंसा, बलात्कार, तस्करी, राष्ट्रद्रोही कार्यमा सबैजसो नेताहरूको नाम आइरहेको छ । राजतन्त्रमा पत्रकारिता जोखिमको पेशा थियो, अहिले सहज छ तर पत्रिका र पत्रकारहरू अप्ठेरो र असहज महसूस गर्छन सत्य लेख्न, किन ? लामो जेल जीवन भोगेका, निर्वासनमा जीवन बिताएका, छद्म नाममा लुकेर बसेका देउवा, ओलप्, प्रचण्ड, माधवहरूको त यस्तो पदमोह, भ्रष्टाचार मोह छ भने जेलजीवन नभोगेका, सङ्घर्ष नै नगरेका तिनका उत्तराधिकारीहरूले मुलुकलाई कुन गन्तव्यमा लाने हो भन्न गाह्रो छैन ।

हिजो झुटमुटको रानी ऐश्वर्यालाई पम्फादेवी भन्नेहरूकी महारानी आरजु राणा देउवा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी महारानी मञ्जु खाँण अनि पूर्व उपराष्ट्रपतिका सुपुत्र, रामबहादुर थापा बादलका कुपुत्र, उपप्रधानमन्त्री रायमाझीका सुपुत्रहरूले बहती गङ्गा में लुट मचाएको देख्दा राजघरानाका भाइ भारदार र रानी ऐश्वर्याको हैकमलाई समेत बिस्र्याइदिएको छ ।

अवस्था यस्तै रहने हो भने राजनीतिक दलहरू मात्र होइन, कुनै पनि नेता, कार्यकर्ता सङ्ला र इमानदार नभेटिने निश्चित छ । त्यसैले त असफल राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीको भर्ना खोल्दा कुनै दाग नलागेका, इमानदार, नैतिकवान, राष्ट्रभक्त, होनहार महानुभावहरूलाई नारायणहिटीमा आएर दर्खास्त फारम भर्न आह्वान गरेका रहेछन् । मुलकुभरि भ्रष्टाचारविरोधी मुहिम चल्दासमेत नेताहरूलाई लाज छैन । नजाने कुन मिट्टीका बनेका हुन् यिनीहरू ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here