• कुमार रुपाखेती

मधेस आन्दोलनको क्रममा वीरगंज र जनकपुरमा रहेको भानुभक्तको सालिक एकैपटक नेस्तनाबुद गरिएको थियो । आन्दोलनको क्रममा आदिकवि भानुभक्त आचार्यको सालिक जनकपुरको भानुचोकमा आन्दोलनकारीहरूको शिकार भएपछि त्यस चोकको नामसमेत परिवर्तन गरी रमेश महतो चोक राखिएको थियो । रमेश महतो मधेस आन्दोलनको पहिलो शहीदमा दरिन्छन् । तर अहिले पनि चलनचल्तीको भाषा र लेखापढीमा रमेश महतो चोक होइन, भानुचोककै नामले प्रख्यात छ । जनदबाबपछि जनकपुरधामका प्रमुखले साबिक भानुचोकमा आदिकवि भानुको स्मारक बनाउन रु २० लाख बजेट छुट्याएर भानुभक्तको सालिक ठड्याउने जमर्को गर्दा ठूलै विरोधको सामना गर्नुपरेको मात्र होइन, भानुको सालिक ठड्याउने कार्य नै स्थगित गर्न बाध्य बनाइए । खासगरी जसपा, लोसपा र तिनका भ्रातृ सङ्गठनहरूले भानुचोकमा भानुको सट्टा मधेस आन्दोलनका प्रथम शहीद रमेश महतोको प्रतिमा राख्न दबाब दिंदैछन् । लोसपाका हर्ताकर्ता भनिने महन्थ ठाकुरसमेतले त्यहाँ भानु होइन रमेश नै भनेर वकालत गर्न थाल्नाले विवाद झन् चर्किएको छ । महन्थ ठाकुर अचेल राजनीतिबाट विस्थापित हुँदै गएको मनुवा हुन् ।

नेपालमैं प्रख्यात रामजानकी मन्दिर जनकपुरमा छ । यिनै आदिकविले रामजानकीको स्तुति गर्दै रामायणलाई नेपाली भाषामा उल्था गरेर नेपालीलाई नै गुन लगाएका थिए । भानुभक्तको रामायण पढ्ने र प्रभावित हुनेहरू जनकपुरमा थुप्रै छन् । तर रङ्गभेदीहरू विभिन्न अडचन थापेर भानुलाई त्यहाँबाट विस्थापित गर्न हरसम्भव प्रयास गर्दैछन् । पञ्चायतविरोधी आन्दोलनमा ठूला दलहरूले आन्दोलनको नाममा मुलुकका थुप्रै स्थानमा राजा, महाराजाका मूर्ति ढालेर खसाउन हुने, चोकहरूको नाम परिवर्तन गर्न हुने र मधेसमा मधेस आन्दोलनमा भानुको मूर्ति तोडफोड गर्दै, चोकको नाम बदल्ने काम कसरी अनुचित भयो भनी प्रतिप्रश्न गर्नेहरूलाई देख्दा ‘जैसन गुरु वैसन चेला’ भन्न मन लाग्छ । स्मरण रहोस्, भानुभक्तका जात बिरादरीवाला दलहरूको सहयोगले नै बाराबाट बल्लबल्ल उपेन्द्र यादव सांसद बनेका छन् । बारामा उनलाई जिताउन काङ्ग्रेस, माओवादी, माधव नेपालहरूको अहम् भूमिका थियो । तर यिनै उपेन्द्र यादवले जनकपुरको भानुचोक र भानुको सालिकबारे बोल्नुभन्दा नबोल्नु नै बेस ठान्दै गुँगा र बहरा बनेका छन् । यस्ताहरूले आदिकवि रचित रामायण वाचन गर्नु जरुरी छ ।

भानुभक्त कुनै जातविशेषको नभई मुलुककै धरोहर हुन् भन्ने कुरा रङ्गभेदीहरूलाई कसले सम्झाउने ? आन्दोलनको नाममा जनकपुरमा बेलाबेलामा कहिले महेन्द्र, कहिले वीरेन्द्र र अन्तिममा भानुको सालिक ढालिएको हो । भारतलगायत अन्य मुलुकहरूमा ससम्मान भानुको सानदार आदमकद मूर्तिहरू चोकचौराहामा देखिन्छन् । तर जानकी मन्दिर क्षेत्रमा रामायण लेख्ने भानु नअट्नु खेदजनक र निराशाजनक छ । भानु जिउँदो भए शायद यो श्लोक भन्थे– … म भानु भैकन आज यस्तो … ।

मधेस आन्दोलनको प्रथम चरणमैं वीरगंज बसपार्क भानुचोकमा रहेको भानुको प्रतिमा ढालिएको थियो । मैले देख्दा लावारिसरूपमा वीरगंजमा छरपस्ट भई भानुको मूर्तिका टुक्रा यत्रतत्र फालिएका थिए । वीरगंजमा भानुको मूर्ति ढाल्नुअघि उनको शिरमा आन्दोलनकारीहरूले थरीथरीका दलहरूका झन्डासमेत बाँधेका थिए । जनकपुरधाम उपमहानगरपालिका बिचरा प्रमुखले त जसोतसो भानुको अस्तित्व कायम गर्न खोजे पनि वीरगंजमा भानुबारे चुइँक्क बोल्नेसमेत कोही देखिएन । वीरगंजमा साहित्य सम्मेलनहरू भइरहन्छन् । नेताहरू यस्ता साहित्यिक कार्यक्रमहरूमा सिरकत गरिरहन्छन्, पुरस्कार दिन्छन् । तर कुनै साहित्यकारले कहिल्यै वीरगंजबाट विस्थापित भानुबारे बोल्ने जुर्रत गर्दैनन् । केही समयअघिसम्म महेश गौतमको लक्ष्मी प्रतिष्ठानले वीरगंजमा भानुजयन्ती मनाउँथ्यो । जुन अचेल बन्द छ । प्रत्येक असार २९ गते भानुजयन्ती मनाइन्छ । वीरगंज महानगरले विगतमा साहित्य र साहित्यकारलाई प्रोत्साहन गर्ने भन्दै बजेटसमेत राख्ने गथ्र्यो । साहित्यको त्यो बजेट विभिन्न बहानामा चट गरिन्थ्यो । अनि वीरगंजको भानु पनि जनकपुरझैं ‘म भानु भैकन आज यस्तो’ कै अवस्थामा छन् । मधेस आन्दोलनलाई जायज ठहर्याउन वीरगंजमा हतारहतारमा रामजनम तिवारीको मूर्ति, कतै गजेन्द्रनारायण सिंह, त कतै कसैको प्रतिमा ठड्याइएका थिए । भानुभक्तको तुलना कुनै पनि हालतमा यस्ता नेताहरूसँग गर्न सकिंदैन भन्ने सत्यतथ्य थाहा हुँदाहुँदै मधेसमा थुथ्नुनमा लाठी रोक्न पल्केकाहरूले अझै राजनीतिक रोटी सेक्न छाडेका छैनन् । प्रत्यक्ष, अप्रत्यक्ष मधेसकेन्द्रित दलहरू यस्ताहरूका संरक्षक बनेका छन् । बिचरा भानु भैकन आज यस्तो हबिगत छ ।

बालकृष्ण खाँण र टोपबहादुर रायमाझीहरूले त मोटो रकम भिœयाउने लोभमा आफ्नै नेपाली नागरिकलाई भुटानी साबित गर्ने दुष्प्रयास गरे र कानूनी फन्दामा परे । तर सरकारले नै आदिकवि भनी सम्मानित गरेको भानुभक्तलाई विदेशीझैं व्यवहार गर्दै उनको मूर्ति स्थापना गर्न नदिनेहरूलाई समेत कानूनी कारबाई गर्न जरुरी देखिन्छ । के गर्नु यो वीरगंज यहाँ बरु महात्मा गाँधी मार्ग बन्न सक्छ, महात्मा गाँधीको प्रतिमा ठडिन सक्छ, अनि म भानु भैकन आज यस्तोलाई छुवाछूतको व्यवहार गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here