- कुमार रूपाखेती
वीरगंज महानगरपालिकालाई अचेल म बलवान महानगर ठान्न विवश भएको छु । टेलिकमको कार्यालयमा फोहर फाल्ने, नापीको सरकारी हाकिमलाई हायलकायल पार्दै सिडिओ कार्यालय तान्ने, शिक्ष्Fकहरूलाई सुधारको नाममा जथाभावी सरूवा गर्ने, सामुदायिक विद्यालयलाई आफ्नो सम्पत्ति ठान्ने, महानगरपालिका परिसरमा चुल्ठेमुल्ठे नगरप्रहरीको परेड, नगरनेतृत्वले बोल्दा अनियन्त्रित हुने, जस्तोसुकै सभासम्मेलन र कार्यक्रममा समेत नगरप्रमुख मोबाइल, फेसबूकमा व्यस्त देखिने आदि इत्यादि क्रियाकलाप नियालेर हेर्दा वीरगंज महानगरपालिका अचेल बलवान नगरपालिकामा परिणत भएको आभास हुन थालेको छ । बलवान नगरपालिकामा अचेल विभिन्न कारण देखाउँदै अवकाश पाएका कर्मचारीहरूले अवकाशपछि पाउने रकम पाउन हम्मेहम्मे पर्न थालेको छ । रिझाएर समयमा अवकाश रकम पाउने भाग्यमानी पनि छन् ।
बलवान नगरपालिकामा अचेल सेवाग्राहीले सानो कामका लागि समेत पटकपटक धाउनुपर्ने अवस्था छ । बलवान नगरपालिकाका अधिकांश जनप्रतिनिधिहरूको लवाइखवाइ र बोलाइ त झन् ‘अरे वाह ! तेरा क्या कहना’ स्तरको छ । बलवान नगरपालिकामा जनप्रतिनिधिहरू त अचेल जङ्गे (जङ्गबहादुर) शासनकालका बडाहाकिमभन्दा बडका देखिन्छन् । सरकारी तेल, सेतो नम्बरको सरकारी सवारीसाधनमा हुइँकिंदै आतेजातेलाई जङ्गे भाषामैं उर्दी दिइरहेकासमेत देखिन्छन् । माथिल्ला स्तरकाहरू त झन् सेलिब्रेटीझैं भारेभुरेहरूसँग सामूहिक तस्वीर खिचाउँदा गर्व गरेका देखिन्छन् । बलवान भएकोले कसैले विरोध गर्न सक्दैन भन्ने भ्रममा पनि छन् यिनीहरू । धाक त रावणको समेत रहेन तर रावणझैं बाँसको सिढी बनाएर चन्द्रमा छुने दुष्प्रयास गर्दैछन् ।
शिक्षकहरूको सरूवाको चौतर्फी हल्लीखल्ली हुँदा स्थानीय टिभी च्यानलमा नगरप्रमुखले हास्यास्पद किसिमले मेरै पार्टीले असहयोग गरे पनि पछि हट्दिनँ, सरूवाले शिक्षामा सुधार हुन्छ, व्यवस्थापन समितिले खसी काटेर खान्छ, स्वयंसेवक शिक्षक माग गरेको जस्ता हास्यास्पद र फितलो कुरा गरेर हातमा रहेको मोबाइलको फेसबूकमा रमाउन थाले, अरूले के भने त्यो उनलाई थाहै भएन । राजेशमान जस्ता फेसबूके गुलाम थुप्रै छन् ।
प्रचण्ड गर्मीको मौसम, स्वीमिङ पुलमा पानी छैन, नगर सभागृहमा सांस्कृतिक कार्यक्रम हुन छाडेको दशकौं भइसक्यो । घण्टाघरमा लिपापोती गर्न आवश्यकता नै छैन तर घण्टाघर डेन्टिङ, पेन्टिङ हुँदैछ र घण्टाघरको घडी चल्न छाडेको छ । बलवानहरूले जे पनि गर्न सक्छन् भनेको यही हो । महानगर भनेको वीरगंज मात्र होइन, ३२ वटा वडा पनि हुन् । वीरगंजबाहिरका वडाहरूको अवस्था गाउँपालिकाभन्दा बदत्तर छ । वीरगंज जेलरोड वडा नं ५ को कारागारपूर्वको खाली जग्गा कसैले ऐलानी भन्छन्, कसैले मेरो भन्दै फर्जी काम गर्छन्, जनप्रतिनिधिले मागीखाने भाँडो बनाएको त्यो जग्गाबारे नगरप्रमुखलाई उनकै जनप्रतिनिधिहरूले गुमराहमा राखेको नगर विकासमा सक्रिय नगरप्रमुखलाई भनक नै छैन । वीरगंज कारागारले पनि त्यो दुई कट्ठा जग्गा मेरो भन्छ तर लिन सकेको छैन ।
ठेलमठेल नगरप्रहरी भर्ना गर्न एकताका विमल श्रीवास्तव बदनाम थिए, अचेल राजेशमानले उनलाई उछिनेका छन् । माईस्थानको गहवामाई मन्दिर वरिपरि सौन्दर्य थप्ने नाममा फेरि तोडफोड र कुरूप बनाउँदै बेन्चहरू थपिंदै छन् । एउटै खर्चमा हुने काममा दोहोरो खर्च ?
नापी, मालपोत, यातायात मात्र होइन अचेल पालिकाहरूमा समेत हदै तल्लो दर्जाको भ्रष्टाचार संस्थागत हुँदैछ भन्ने खबर पढेकै छौं । कतिपय पालिकाहरूमा परिवारवाद र चचाचुहरू शिर उठाएर बोल्न थालेका छन् । नगरप्रमुख भन्छन्– शिक्षकहरूलाई महानगरमैं सरूवा गरेका हौं । सबैलाई थाहै छ क्षेत्र बाहिर सरूवा गर्ने अधिकार यिनलाई छैन । महानगरपालिकाको उकुसमुकुस वातावरणबाट अत्तालिएर वडा नं ५ कै तीनजना कर्मचारीले भर्खरै राजीनामा दिएका छन् भने केही स्वाभिमानी कर्मचारीहरू राजीनामा दिने तरखरमा छन् ।
बलवानहरूको अगाडि निरीह राष्ट्रसेवक कर्मचारीहरूको के औकात ? भनिन्छ, नापी कार्यालयका हाकिम नारायण श्रेष्ठसमेत कि त सरूवा, कि राजीनामाको स्थितिमा पुगेका छन् रे ।
वीरगंजलाई बलवान होइन, बुद्धिमानहरूको आवश्यकता छ । अन्यथा वीरशम्शेरले जग बसालेको वीरगंजलाई धनकुबेर होइन हरिकङ्गाल हुन बेर लाग्दैन । हामी निमुखाहरू त यही भन्छौं– भगवान्के घरमे देर है, अन्धेर नहीं । बकुला भगतहरू सावधान । पदीय शक्ति दुरूपयोग गरेर भ्रष्टाचारको आहार बनेको छ नेपाल । भर्खरै उजागर भएको नक्कली भुटानी शरणार्थीकाण्डले तहल्का मचाउन थालेपछि चारैतिर कोठे बैठक र तै चुप मै चुपको वातावरण सिर्जना हुँदैछ । छोटेमोटे कर्मचारीहरूलाई बलिको बकरा बनाएर खेल रफादफा गर्ने पुरानै रणनीति बन्दैछ । नामुद भ्रष्टाचारी र अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारमा उजूरी परेका स्वतन्त्र सांसद अमरेश सिंह बहती गङ्गामे हात धुन र आफ्नो केस रफादफा गर्न पानीमाथिको ओभानो बन्दै संसद्मा नङ्गाझार बने । असंसदीय व्यवहार, संस्कार देखाए । कसले कारबाई गर्ने ? गठबन्धनको नाममा थुप्रै अभागीले कुर्सीको स्वाद चाख्न पाएका छन् । त्यसैले म भन्छु गठबन्धनको आडमा जित्नेले धेरै धाकधक्कु नलगाएकै राम्रो । भोलिका दिनमा धेरैको अवस्था ‘धाकभन्दा धक्कु ठूलो, हिंड्दाखेरी खुट्टै लुलो’ निश्चित देखिन्छ ।