- कुमार रूपाखेती
उपेन्द्र यादवको विजय जुलूसमा सहभागी हुन आउँदा हाम्रा मुख्यमन्त्री सरोजकुमार यादवको पाकेटमारी भएछ । यसअघि पनि बगलीमाराले उनको बगली सफाचट गरेको रहेछ । मिडियाहरूले रास्वपा विजयी भएको तनहुँ र चितवनको जोडसोडले प्रचार गरे पनि बारा क्षेत्र नं २ मा विजयी जसपा अध्यक्ष उपेन्द्र यादवको चर्चा परिचर्चा दबे स्वरमा गरे । प्रचार पाउन उपेन्द्र यादवले दुई सय किलोको माला भिरे, मुलुट पहिरिए, हात्तीको बथान झिकाए तर त्यहाँ पनि मुख्यमन्त्रीको बगली (खल्ती) र बगलीमाराले नै विशेष चर्चा पाए । त्यसो त बाराको यो उपनिर्वाचन उपेन्द्र यादवको जीवनमरणको सवाल थियो रे । धन्य बारावासीले यो अकाल मृत्युमा लगाम कसिदिए । उपेन्द्र यादवलाई जीवनदान दिए । पराजित भएपछि बुरुक्क–बुरुक्क उप्रँदै नानाथरी आरोप लगाउने हाम्रो परम्परालाई जनमतका सिके राउतले निरन्तरता दिए, चुनावमा गठबन्धनले धाँधली गरेको आरोप जडिदिए । यी दुईजनाबीच मधेसको ‘बाप’ बन्ने होडबाजी जारी नै छ । तर यो निर्वाचनमा उपेन्द्रले कुबेरको ढुकुटी खोल्दै पानीसरह पैसा बगाएको देख्दा मधेस प्रदेशमा नेता बन्न चाहनेहरू खूबै उम्रिएका छन् ।
वजयी भएपछि त ‘बाप बडा न भैया, सबसे बडा रुपैयाँ’ गर्ने त उपेन्द्रको नानीदेखिको बानी हो । ‘जय जीतेन्द्र, जय धर्मेन्द्र, जय जय जय हो जय राजेन्द्र’ भन्ने लोकप्रिय हिन्दी गानामा अब ‘जय जय जय हो जय उपेन्द्र’ थपिदिए सुनमा सुहागा हुने थियो । धन्य सप्तरीबाट हराएका उपेन्द्र बारामा सकुशल भेटिए । सप्तरीमा मणि हराएको सर्पझैं बनेका उपेन्द्रलाई बारा जिल्लाले पारसमणि बनायो ।
प्राथमिकतामा शिक्षा छैन
अस्ति एउटा विद्यालयले अभिभावक भेलामा तोकिएको पसलबाट मात्र विद्यालय पोशाक, जुत्ता, मोजा, ट्र्याकसुट, स्कूल ब्याग र किताब खरीद गर्न आदेश दिंदै बच्चाहरूको उज्ज्वल भविष्यका लागि बरु बाहिर ट्युशन पढाउन राम्रो गुरु आफैंले छानेर खोज्न घतलाग्दो आदेश दिएछन् ।
सबैलाई थाहा छ, अभिभावकबाहेक कसैको प्राथमिकतामा शिक्षा छँदै छैन । सङ्घ सरकारको तलब खाने अनि पालिकाहरू मालिक बन्ने चलनले सामुदायिक (सरकारी) विद्यालयहरू आजित छन् । केन्द्र सरकारको तलब खाने शिक्षकहरूका अनुसार पालिकाहरू ‘मिल गया लाठी, बन गया हवलदार’ बनेका छन् रे । सबैलाई थाहै छ, अचेलका अधिकांश जनप्रतिनिधि ‘लिख लोरा, पढ पत्थर’ चरित्रका छन् । सबै हैन है । सुन्दा अचम्म लाग्दा थुप्रै सामुदायिक विद्यालय स्थानीय, निजी तथा राहतबाट चलेका छन् । जस्तै गोर्खाको एक सामुदायिक प्राथमिक विद्यालयमा वीरगंजका मणिराम शर्मा (हाल अमेरिका र काठमाडौं) निवासीले प्रत्येक महीना निजी स्रोतबाट मासिक पाँच लाख दिन्छन् र त्यो विद्यालय चलेको छ । अब हेर्नुस् न सरकारी विद्यालयमा शिक्षा निश्शुल्क, दिवा खाजा र किताब निश्शुल्क अरू थुप्रै चीज र सुविधा फ्री छ । तर पालिकाहरूले केही सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम अनिवार्य गरेको छ र विडम्बना हेर्नुस् नेपाली पुस्तक सित्तैमा तर अङ्ग्रेजी पुस्तक खरीद गर्नुपर्छ । वीरगंज महानगरले लागू गरेको अङ्ग्रेजी मध्यमको सरकारी विद्यालयमा पनि यो दृश्य देखिन्छ । बिचरा पहाड र देहातका कतिपय विद्यालयमा नेपाली पाठ्यपुस्तकसमेत वार्षिक परीक्षासम्म पनि विद्यार्थीले पाउँदैनन् तर पनि परीक्षामा बस्नुपर्छ । उपबुज्रुक जनप्रतिनिधि भएका कतिपय पालिकाहरूले र विद्यार्थी छैन भन्दै धमाधम सरकारी विद्यालय बन्द गर्दै वडा कार्यालय र क्लब सञ्चालन लाजै नमानी गर्दैछन् ।
हाम्रो महानगरमा समेत सरकारी विद्यालय बन्द गर्दै वडा कार्यालय सञ्चालनमा छ । वडा नं ५ रेशमकोठीमा रहेको जेपी चतुर्वेदी विद्यालयमा समेत टिसाइ गर्दै वडा नं ५ वडा कार्यालय सञ्चालन गर्नाले यस विद्यालयको पठनपाठन र कलिला बालबालिकाहरूलाई थुनेर पढाउन थालिएको छ । विद्यार्थीलाई होइन वडा कार्यालयलाई अप्ठेरो छ रे । यसअघि वडा कार्यालय भएको विशाल भवनमा अचेल भूत नाच्छ । वडा नं ५ मा रहेको गरीब, निमुखा पढ्ने एकमात्र सामुदायिक विद्यालय जेपी चतुर्वेदी विद्यालय बन्द गर्ने गराउने खेलको विपक्षमा पूरै वडा र टोल छ । भारतीय सीमा क्षेत्रमा रहेका थुप्रै यस्ता विद्यालय बन्द गर्नाले केटाकेटीहरू सीमापारि भारतीय विद्यालयहरूमा भर्ना हुने र ‘हमारा प्रधानमन्त्री नरेन्द्र मोदी है’ भन्दै पढ्न विवश छन् । विद्यालय बन्द गर्ने चक्रव्यूह रच्नेहरूले कमसेकम बाल मानसिकता र राष्ट्रियतालाई ध्यान दिनुपर्दैन र ? जस्तो आफू उस्तै च्यापु ।
फिरङ्गी
मोरङ, सुनसरी, सप्तरी र बाराबाट घुमीघुमी, पायक पर्ने क्षेत्रबाट निर्वाचन लड्नाले उपेन्द्र यादवलाई यसपटक ‘फिरङ्गी’समेत भने । तर मधेसका मसिहालाई एकाएक फिरङ्गी भनी सम्बोधन गर्दा धेरै मान्छे अलमलमा परे । तर स्थापित नेताले हार्ने भयत्रासले गर्दा बिरालोले बच्चा सारेझैं, चुनावी क्षेत्र परिवर्तन गर्नु राम्रो चाहिं होइन । यो त ‘उठ जोगी फटकार छाला जता जाला उतै खाला’ भने जस्तै हो । अब नेता मात्र होइन सामुदायिक विद्यालय बन्द गरेर केटाकेटीहरूलाई घरीघरी ठाउँ र विद्यालय सार्न लगाउनाले कलिलो बाल मस्तिष्कमा कस्तो नराम्रो असर पर्न सक्छ भन्ने कुरा पालिकाहरूले कहिले बुझ्ने । मैले अघि नै भनें सीमा क्षेत्रमा विद्यालय बन्द हुँदा भारतीय विद्यालयमा पढ्न जानेहरूले ‘क माने कबुतर, ख माने खरगोश‘ सिक्दैछन् । समयमा होश पुर्याऊ । सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउने कि भोटे ताल्चा ठोक्ने ?