बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ।
‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको हो। सांसद मदनकुमारी शाह (गरिमा) प्रस्तावक रहेको यो प्रस्तावमा सांसद अनीता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जीतेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा (पार्वती), प्रमिला कुमारी, डा विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आलेमगर समर्थक रहेका छन्। राष्ट्रियसभामा उक्त प्रस्ताव पेश गर्दै सांसद शाहले राजनीतिक शासन व्यवस्था फेरिए पनि मुलुकको अर्थतन्त्र र विकासको अवस्था नफेरिएको बताइन्। अब सबैको लक्ष्य र उद्देश्य समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनुपर्ने उनको भनाइ छ। “मुलुकको अर्थतन्त्र ओरालोमा छ, यसै कारण मुलुक कतै असफल हुने त होइन भन्ने चिन्ता छ, पर्याप्त लगानी आएको छैन, नीतिगत भ्रष्टाचार रोकिएको छैन, पारदर्शिता छैन,” उनले भनिन्, “राजनीतिक परिवर्तन भएपनि हामीले आर्थिक परिवर्तन गर्न सकेनौं, मुलुकको खराब अर्थतन्त्रका कारण आम मानिसको जनजीवन नराम्रोसँग प्रभावित भइरहेको छ।”
आर्थिक गतिविधिमा सुस्तता देखिंदा र सूचकहरू बिग्रँदा त्यसले नागरिकमा सरकारप्रति वितृष्णा जगाएको पनि उनले बताइन्। “बढ्दो महँगी, बैंक तथा वित्तीय संस्थाको कर्जा तिर्न नसक्ने अवस्था, चर्काे ब्याजदरलगायतका कारण नागरिकमा निराशा र राजनीतिप्रति वितृष्णा देखिन थालेको छ, यसलाई समाधान गर्नु सरकारको पहिलो कर्तव्य हो,” सांसद शाहले भनिन्।
उक्त प्रस्तावको समर्थनमा सांसद अनीता देवकोटाले राजनीतिक व्यवस्था परिवर्तन भएपनि लामो समयदेखि नागरिकको अवस्था परिवर्तन हुन नसकेकाले सरकारले अब तत्काल सुधारको प्रयास थाल्नुपर्ने बताइन्। “नागरिकको जनजीवन झन् खराब हुँदै गएको छ, अहिले आगामी आर्थिक वर्षको बजेटबारे पनि तयारी भइरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि तत्कालै प्रयास थाल्नुपर्छ,” उनले भनिन्।
सांसद खिमलाल देवकोटाले अर्थतन्त्रमा संरचनागत समस्या रहेकाले त्यसलाई जरैबाट समाधान गरिनुपर्ने बताए। “आयातमा आधारित राजस्व र उपभोगमा आधारित विप्रेषणलाई अहिलेसम्म कुनै पनि सरकारले चिर्न सकेन, गम्भीरतापूर्वक प्रयास नै भएन,” उनले भने, “व्यापार घाटा हरेक वर्ष कहालीलाग्दो तरिकाले बढिरहेको छ, बिहान उठेदेखि बेलुका सुतेसम्म र जन्मेदेखि मृत्युसम्ममा प्रयोग हुने हरेक सामान आयात भइरहेका छन्।” कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा व्यापार घाटाको अनुपात बढ्दै गएको उनको भनाइ छ।
उक्त प्रस्तावमाथि छलफल गर्ने क्रममा सांसदहरूले यो विषयलाई सत्तापक्ष र प्रतिपक्षका रूपमा नभई सबैको साझा सरोकारको विषय हुनुपर्नेमा समेत जोड दिएका छन्। सार्वजनिक महत्वको प्रस्ताव पेश हुँदै गर्दा र छलफलका क्रममा अर्थमन्त्री उपस्थित हुनुपर्ने भन्दै सांसदहरूले विरोध जनाएका थिए। प्रमुख प्रतिपक्ष दलका सांसदले उभिएर उक्त प्रस्तावको छलफलमाथि भाग नलिने भन्दै विरोध जनाएका थिए। त्यस कारण १४ मिनेटका लागि बैठक नै स्थगित भएको थियो। अर्थमन्त्री राष्ट्रियसभामा उपस्थित भएपछि छलफल अघि बढेको हो।
सांसदको सङ््ख्या घटाउन माग
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ।
बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औंल्याए। उनले भने, “प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सांसद वा मन्त्री तीनपटक र पार्टी/दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौं। समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमैं समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं। ” उनले प्रतिनिधिसभामा सदस्य सङ्ख्या २७५ बाट घटाएर १६५ र प्रदेशसभाको सङ्ख्या ५५० बाट घटाएर ३३० मात्रै कायम गर्न सुझाव दिए।
विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसङ्गत नरहेको पनि उनको भनाइ छ। “अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायहरूमा दलीय भागबन्डाका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरूमा पार्टी सदस्य भर्ना गर्ने काम बन्द गरौं,” उनले भने।
नागरिकका समस्या र गुनासा तत्कालै सम्बोधन गर्न सरकारले संयन्त्र बनाउनुपर्ने उनको सुझाव छ।
एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शुरूमैं आकस्मिक समयमा उनले भद्रपुर विमानस्थलबाट झापाको बुधवारेमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा केही समूहबाट होहल्ला तथा ढुङ्गामुढाको प्रयास भएको भन्दै आपत्ति प्रकट गरे।
प्रमुख सचेतक गिरीले आफ्नो पार्टी शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने उल्लेख गर्दै यस्ता अवाञ्छित गतिविधिको विरोध गर्ने स्पष्ट पारे।
सोही पार्टीका सांसद बिजुला रायमाझीले काठमाडौं महानगरपालिका–६ को सरस्वती नगरस्थित आफ्नो व्यवसाय गर्दै आएकी नीरा पाण्डे आचार्यको हत्या भएको सात दिन बितिसक्दा पनि अझै दोषी पत्ता लाग्न नसकेको भन्दै सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराइन्। उनले घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई छिटोभन्दा छिटो कानूनी कारबाईको दायरामा ल्याउन माग गरिन्।
नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले अहिले नीरा पाण्डेको परिवार शोकमग्न अवस्थामा रहेको जनाउँदै घटनाका दोषी पत्ता लगाइ कारबाईको दायरामा ल्याउन गृह मन्त्रालयको ध्यानाकर्षण गराए।
सांसद थापाले सिङ्गो काठमाडौंको सुरक्षा संवेदनशीलतालाई ध्यानमा दिएर कुनै ठाउँविशेष मात्र नभई पूरै काठमाडौंमा सिसी क्यामेरा जडान गर्नुपर्ने सुझाव दिए। सांसद प्रभु साहले वर्षायामको सुरुआतसँगै आइपर्ने विपद् व्यवस्थापनको सम्बन्धमा सरकारले गरेका पूर्वतयारीबारे सदनलाई जानकारी गराउन माग गरे।