• कुमार रुपाखेती

लता मङ्गेशकरले गाएको त्यो गीत ‘आकाशभरि तिरमिरे तारा म गन्न सक्दिनँ’ झैं नेपालमा लोकप्रिय छ । एउटा जमाना थियो जब देवानन्द नेपालमा सुटिङ गर्न रुचाउँथे । त्यस्तो त देवानन्दलाई राजा महेन्द्रको दोस्त ठानिन्थ्यो । त्यतिखेर भारतीय कलाकारहरू नेपाल भनेपछि हुरुक्क हुन्थे । धूलो, धूवाँ र प्रदूषणले गर्दा आकाशमा अचेल एक्कादुक्काबाहेक तारा देखिंदैन र भारतीय नोकरशाह र नेताहरूको ताँती लागेको देखिन्छ । कलाकारहरू एकताका प्रतीक हुन् भने नेताहरू हस्तक्षेपकारी ठानिन्छन् । सन् १९४७ मा भारत आजाद भएर सम्हालिन नपाउँदै सन् १९६२ मा चीनसँग भिड्नुपर्यो । चिनियाँ आक्रमणबाट अत्तालिएको भारतलाई एकसूत्रमा बाँध्न त्यही लताले– ‘ए मेरे वतन के लोगों जरा आँख में भर लो पानी, जो शहीद हुए हैं उनकी जरा याद करो कुर्बानी’ गीत गाएर भारतीयहरूमा जोश–जाँगर भरेकी थिइन् । त्यतिखेर भारतीयहरू नेहरू र पटेलबाट निराश भइसकेका थिए ।

भारतमा सन् २०२४ मा सङ्घको चुनाव हुँदैछ । भारतीय जनता पार्टीले युद्धस्तरमा यस चुनावको तयारी गरिरहेको छ । साँच्चै भन्ने हो भने भाजपाको राजनैतिक ग्राफ ओरालो लाग्दैछ र मोदी र भाजपालाई अचेल त्यहाँ ‘खोदा पहाड निकला चूहा’ भन्न थालेका छन् । नाम बडे और दर्शन छोटे स्तरमा रहेका भाजपाका लागि अहिले भारतीय काङ्ग्रेस र राहुल गाँधी ठूलै समस्या भएका छन् । त्यसैले त झिनामसिना मुद्दा उठाएर राहुल गाँधीलाई हायलकायल पार्ने दुष्प्रयास धडल्लेले भइरहेको छ । राहुल गाँधीलाई बछडा र सोनिया गाँधीलाई जर्सी गाई भन्दै बछडा र गाईलाई बदनाम गर्ने मोदी एन्ड कम्पनी कसरी हिन्दूवादी हुन सक्छन् भन्ने प्रश्न पनि उठ्न थालेको छ । त्यस्तै राहुल गाँधीलाई पप्पु भनेर होच्याउने मोदीलाई अचेल पप्पुका आमाहरूले समेत गाली गर्न थालेका छन् । स्मरण रहोस् धेरै भारतीयहरूले लाडप्यारले आफ्नो बच्चालाई पप्पु भनेर बोलाउँछन् ।

कन्हैया कुमार भन्ने काङ्ग्रेसका एकजना साधारण कार्यकर्ता छन्, जसले मोदी, अमित शाह र भाजपाको धज्जी उडाउँदै भाषणमा तहलका नै मचाएका छन् । उनी जेएनयुका पूर्व अध्यक्षसमेत हुन्, जहाँ हाम्रा कपूत सपूत बाबूराम भट्टराईले समेत शिक्षा आर्जन गरेका थिए । नेपालमा बाबुराम मृत भस्म भइसके भने भारतमा कन्हैया कुमार झिल्को भैकन बल्दैछन् । अहिले भारतमा काङ्ग्रेसका कन्हैया कुमारको जलवा गजबको छ, जसले भाजपामा हडकम्प नै मचाइदिएको छ । तेस्रोपटक निर्विरोध प्रधानमन्त्री बन्ने मोदीको सपनामा यसपटक जोडदार अङ्कुश लाग्ने छाँटकाँट देखिन्छ ।

आन्तरिक राजनीतिमा काङ्ग्रेसले   पटकनी दिने सङ्केत देखेपछि भाजपा अचेल पाकिस्तान र चीनलाई जथाभावी आरोप लगाउन र बदनाम गर्न परहेज गर्न थालेको छ । मौका–कुमौका छोटे भाइ नेपाललाई समेत उसले तथानाम भन्ने गरेकोमा अहिले निर्वाचनको मौसम भएकोले गौतम बुद्ध र पशुपतिनाथ याद आउन थालेका छन् ।

भारतमा सानो होस् अथवा ठूलो, सबै निर्वाचनमा मान्छे मर्ने, मार्ने, रुपियाँ वारा–न्यारा हुने र दल अदलबदल आम कुरो हो र अहिले त्यहाँ त्यस्तै दृश्यहरू देखिन थालेका छन् । भाजपाको दबाबले आजित भएका बिहारका मुख्यमन्त्री नीतीश कुमार समेतले भाजपाको दामन त्यागेर लालू यादवसँग हात मिलाएको देखिन्छ । त्यसो त बारा २ नं. को निर्वाचनमा समेत पद र शक्तिको दुरुपयोग, दारू, मासुमा भीड, रकमको चलखेल र किनबेच भारतीय पारामा हुँदैछ । सिके राउतले उपेन्द्रलाई हम्मे हम्मे पारेका छन् भने घण्टी छापका रमेश खरेलसमेत अहिलेसम्म ताल ठोकेर मैदानमैं छन् । विगतमा पटक–पटक टिकटविहीन बनाइएका एमालेका पुरुषोत्तम पौडेलमा हुनुपर्ने जति जोश र जाँगर देखिंदैन ।

हामी भारतीय निर्वाचनको कुरा गरिरहेका थियौं । विशाल भारतमा राजनैतिक दलहरूको आफ्नै पत्रिका, टिभी च्यानल हुन्छ, पत्रकारहरूको खरीद–बिक्री भइरहन्छ, चैनले किनिन्छ । नेपालमा झैं सत्ताधारीको सेवकको रूपमा पुलि प्रशासन चल्न बाध्य हुन्छ । दारू–मासु र लेनदेन मामुली कुरो हो र यस्तो कार्यमा भाजपा निपूण मानिन्छ । तर यसपटक मामिला गरम छ र काङ्ग्रेस गरम लोहामा हथौडा चलाएर भाजपामाथि लगाम लगाउन सक्रिय छ । कश्मीर मुद्दा, नागरिकता मुद्दा, उत्तरप्रदेशको डोजर काण्ड, अमित शाहको इतिहास, बढ्दो महँगी र बेरोजगारी, भारतीय धनाढ्यहरूको विदेश पलायन र अग्निवीर जस्ता हावादारी काण्डले गर्दा यसपटक काङ्ग्रेसले भाजपालाई धोबी–पाट दिन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here