महोत्तरी, १० चैत/रासस

इस्लाम परम्पराको एक महीने रमजान ‘रोजा’ (व्रत) शुरू भएको छ । हिजरी (उर्दू) संवत्को ‘सवान’ महीना अन्त्य हुनुसँगै बिहीवार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मौलवी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान अब शुरू भएको बताएका हुन् । ‘सवान’ महीना सकिनासाथ पहिलोपटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान शुरू हुने इस्लाम परम्परा छ । सो अनुसार बिहीवार साँझ ‘तराबी’ सम्पन्न गरेका इस्लाम धर्मावलम्बीले आज ‘रोजा’ शुरू गरेका हुन् ।

हिजरी संवत् परम्परामा चन्द्र उदयको गणनाले महीना प्रारम्भ हुन्छ । यस अनुसार ‘सवान’ सकिएपछि बिहीवार साँझ चाँद (चन्द्रमा) देखिएको हुँदा रमजान महीना आज प्रारम्भ भएको महोत्तरीको भङ्गाहा–४ का बासिन्दा ८५ वर्षीय हाजी (मक्का मदिना पुगेर विशेष धार्मिक अनुष्ठान पूरा गरेका इस्लाम धर्मावलम्बीलाई दिइने उपाधि) बिहारी अन्सारी बताउँछन् ।

इस्लाम धर्मावलम्बीले गएराति  मस्जिद (धार्मिक प्रार्थनास्थल)मा ‘तराबी’ नमाज गर्दै यस वर्षको रमजान शरीफको ‘रोजा’ (व्रत ) शुरू गरेका हुन्  । इस्लाम परम्परामा अत्यन्त पवित्र मानिएको रमजान महीनामा दिनभरि अन्नजल केही नखाई एक महीनासम्म ‘रोजा’ (व्रत) गर्ने परम्परा छ ।

नेपाल र भारतको हकमा ‘बुखारे शरीफ’ (भारतको दिल्लीस्थित सांस्कृतिक परम्पराको निर्णय दिने अधिकारसम्पन्न धार्मिक निकाय)को निर्णय अनुसार पर्व निर्णय गरिंदै आएअनुरूप गएराति चन्द्रमा देखिएकाले आज ‘रोजा’ शुरू गरिएको नेपाली मुसलमानको भनाइ छ ।

नेपाल र भारतका अधिकांश ठाउँमा ‘बुखारे शरीफ’को निर्णय अनुसार आज रोजा शुरू भएको जलेश्वरस्थित दारूल उलुम कादरिय रसिदिया मदर्साले जनाएको छ ।

रमजान महीना इस्लाम परम्परामा अत्यन्त पवित्र मानिन्छ । रमजान महीनामैं पवित्र धर्मग्रन्थ ‘कुरान’ पृथ्वीमा आएकाले यो महीनामा गरिने व्रत (रोजा) अत्यन्त पुण्यदायक हुने इस्लाम मान्यता छ ।

बालक, वृद्ध, अशक्त बिरामीबाहेकका सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ ।

बिहान सूर्योदयको एक घडी अगाडिदेखि सूर्यास्तको एक घडी पछिसम्म अन्नपानी केही नखाई दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ । एक महीने रोजा सम्पन्न भएसँगै हिजरी संवत्को ‘सवान’ महीना शुरू हुने र त्यसै दिन इद–उल–फित्र पर्व मनाउने गरिन्छ । यो पर्व इस्लाम परम्परामा मुख्य पर्व मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here