सर्लाही, ५ चैत/रासस

मधेस प्रदेशका मिटरब्याजीपीडित किसान तथा मजदूर सरकारलाई घचघच्याउन काठमाडौंको पैदलयात्रामा निस्केका छन् । स्थानीयस्तरमा पटकपटक आन्दोलन गर्दा न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याजीपीडित किसान तथा मजदूर सरकारलाई घचघच्याउन काठमाडौंका लागि पैदलयात्रामा निस्केका हुन् ।

मिटरब्याजीविरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा सरकारलाई घचघच्याउन मधेस प्रदेशका मिटरब्याजीपीडित काठमाडौंका लागि पैदलयात्रामा निस्केका छन् । पीडक साहुमहाजनविरुद्ध चरणबद्धरूपमा आन्दोलन शुरू गरेका मिटरब्याजीपीडित सरकारलाई आफ्ना गुनासा र समस्या सुनाउन भन्दै काठमाडौंसम्मको पैदलयात्रामा निस्केको महोत्तरीका मिटरब्याजीपीडित मनोज पासवानले जानकारी दिए ।

उनका अनुसार मिटरब्याजी साहु महाजनले मधेस प्रदेशका आर्थिक अवस्था कमजोर रहेका धेरै मानिसलाई दुःख दिएका र त्यसबाट मुक्ति पाउनका लागि अभियान शुरू गरिएको हो । सर्लाहीबाट सङ्घर्ष समिति गठन गरेर करीब चार वर्ष पहिलादेखि शुरू भएको मिटरब्याजीपीडितको आन्दोलन अहिले मधेस प्रदेशका साथै देशभरका धेरै स्थानमा शुरू भइसकेको छ ।

स्थानीयस्तरबाट आन्दोलन गर्दा आफ्ना माग नसुनेका कारण पैदलै गएर सरकारलाई आफ्ना समस्या सुनाउन काठमाडौंका लागि पैदलयात्रामा निस्केका मिटरब्याजीपीडित पासवानले बताए ।

सप्तरीदेखि पर्सासम्मका मिटरब्याजीपीडित एक भएर पीडक साहु महाजनविरुद्ध चरणबद्धरूपमा आन्दोलन जारी राखेका र अहिले पैदलै हिंडेर काठमाडौं पुगी सरकारलाई आफ्ना समस्या सुनाउने भन्दै सिराहाकी मिटरब्याजीपीडित ममतादेवी रायले बताइन् ।

पीडित रमेश बुढाथोकीका अनुसार यसअघि काठमाडौंमा समेत आन्दोलन भएका र सरकारले मिटरब्याजीपीडितको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको भएपनि अहिलेसम्म सरकारले कुनै प्रकारका ठोस नीति नल्याएका कारण मिटब्याजीपीडित थप मारमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here