काठमाडौं, ५ माघ/रासस
दक्षिण एशियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
बिहीवार आयोजित प्रथम दक्षिण एशियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढ्न थालेकाले यसमा सुधार आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका संस्थाले संयुक्तरूपमा आयोजना गरेको उक्त सम्मेलनमा महासङ्घ अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताए । दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)मा यस क्षेत्रका मुलुकबीच व्यापार विस्तारको अवसर भएपनि कृषिजन्य उत्पादनको निर्यातमा गैरभन्सार अवरोधलगायतका समस्या रहने गरेको छ ।
अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभ भएका वस्तुहरूको निर्बाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने बताए ।
श्रीलङ्काका व्यापार एवं खाद्य सुरक्षामन्त्री नलीन फर्नान्डोले यस क्षेत्रमा ४० प्रतिशत सीमान्तकृत किसान रहेकाले उनीहरूको उत्पादन वृद्धि र बजार सुनिश्चितताका लागि पहल गर्नुपने बताए ।
उनले कृषि क्षेत्रको निर्यात लागत निकै महँगो भएको र यहाँका धेरै देशले खुद कृषिजन्य वस्तु आयात गरेको बताउँदै खाद्य सुरक्षा सुनिश्चिततामा विशेष प्रयास आवश्यक रहेको बताए । दक्षिण एशियाले संयुक्तरूपमा प्रयास गर्दा यहाँको खाद्य सुरक्षा सुनिश्चितता र किसानको आय वृद्धिमा सहयोग पुग्ने विश्वास मन्त्री फर्नान्डोले व्यक्त गरे ।
दुबई मल्टी कमोडिटिज सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमत बिन सुलेयमले दक्षिण एशियाले दुबईको बजारबाट फाइदा लिन सक्ने बताए ।
कृषि बजार विस्तारका लागि ब्लकचेनलगायतका प्रविधिमा आधारित व्यापारको उपयोग गर्न सकिने पनि उनले बताए । सम्मेलनमा उद्योग सचिव डा तोयानारायण ज्ञवालीले सम्मेलनका क्रममा हुने छलफलले निर्यात एवं लगानी प्रवर्धनमा सहयोग पुग्ने बताए । उनले सम्मेलनमा लगानीलाई बढी प्राथमिकता दिनुपर्ने बताए । लगानी बढ्दा निर्यात प्रवर्धन र आयात प्रतिस्थापनमा सहयोग पुग्ने उनको भनाइ थियो ।
उनले साफ्टा अन्तर्गत सबै मुलुकले फाइदा लिन संवेदनशील सूचीमा रहेका वस्तुहरू घटाउनुका साथै गैरभन्सार अवरोध हटाउनुपर्नेमा जोड दिए । उनले दक्षिण एशियाले प्रविधिको उपयोग बढाउनुका साथै व्यापार अवरोध हटाउन सके कृषि क्षेत्रमा दक्षिण एशिया विश्वकै महाशक्ति हुन सक्ने बताए । सम्मेलनमा १२ देशका करीब चार सय सहभागी छन् । सम्मेलन भोलिसम्म चल्नेछ ।