– कुमारबन्धु रुपाखेती

२०४७ देखि नेपाल र नेपालीले विभिन्न किसिमका आन्दोलन देखे, भोगे, झेले। यिनमा ऐतिहासिक जनआन्दोलन, माओवादी जनयुद्ध र मधेस विद्रोह प्रमुख मानिन्छ। त्यसो त नेपालका सबैजसो आन्दोलनहरूमा विदेशी धाप र रापको गन्ध आउँछ रे। शायद त्यसैले होला जनआन्दोलनका नायक गिरिजाहरू पटक–पटक प्रधानमन्त्री बनाइए र पुरस्कृत गरिए। त्यस्तै पुरस्कार एमालेका ओली, माधवहरूले पनि पाए अनि जनयुद्धका सञ्चालक प्रचण्ड र बाबुरामले पनि बक्सीसमा प्रधानमन्त्री नै पाए र मधेस विद्रोहका जन्मदाता उपेन्द्र, राजेन्द्रहरूले हैसियत अनुसारको मन्त्री पदमा हालीमुहाली चलाउने अवसर पाए। यसरी आन्दोलनहरू बिस्तारै पदमुखी आन्दोलनमा परिणत हुँदै गएको देखिन्छ। आन्दोलन गर्ने, पद प्राप्त गर्ने र बिस्तारै पदमुखी आन्दोलनमा परिणत हुँदै गएको देखिन्छ। आन्दोलन गर्ने, पद प्राप्त गर्ने र बिस्तारै मतभेद र मुख फुलाएर अलग अलग बस्ने चलनसमेत २०४७ देखि नै श्रीगणेश भएको मानिन्छ। गणेशमान, गिरिजा र कृष्णप्रसादको मनमुटाव, माधव ओलीबीचको टकराव, प्रचण्ड, बाबुरामबीच भाँडभैलो तथा उपेन्द्र, महन्थ, राजेन्द्रको टुक्राटाक्रीमा विराजमान पदमुखी राजनीतिकै फल हो। अब पुरस्कृत हुने पालो छ, विगतमा स्वतन्त्र मधेसको नारा घन्काउने सिके राउतको। मधेसको नाममा छोटेमोटे आन्दोलनरूपी कारनामा यिनले पनि देखाए। उपेन्द्र, राजेन्द्रलाई मरिचझैं चाउरी पारिदिए– अब मेरा बारी है, भन्दै यिनी काठमाडौंमा जमेका छन्। त्यसो त राजावादी आन्दोलनकारीको नाममा विगतमा कमल थापासमेतले उपप्रधानसम्मको पगरी हात पारे। अचेल यिनी नकाबधारी राजावादी साबित भएका र यिनको सट्टामा राजेन्द्र लिङदेनहरू पुरस्कृत हुने भएका छन्। जसको राप र घाममा आन्दोलन गरे पनि पद, पगरी पक्का छ नेपालमा।

सङ्क्षेपमा भन्ने हो भने नेपालमा २०४७ सालदेखि अन्योलको राजनीतिको सूत्रपात भएको छ, जुन झन्झन् विकराल बन्दै गएको छ। गिरिजा बहुमतमा हुँदाहुँदै मध्यावधि निर्वाचनमा जानु, गणेशमानको विजोग, सूर्य र लोकन्द्रबहादुर प्रधानमन्त्री बन्न काङ्ग्रेस, एमाले भरिया बन्नु, खिलराज रेग्मीको नेतृत्वमा सरकार बन्नु र निर्वाचन हुनु, ज्ञानेन्द्रको शासनमा देउवा नेतृत्वमा एमाले सरकारमा जानु, वामदेवले एमाले र देउवाले काङ्ग्रेस फोड्नु, ओली, माधवबीच तूँतूँ–मैंमैं र अदालतले ओलीको सरकारलाई घोक्रेठ्याक लगाउनु, बाबुराम पार्टी, पार्टी चहार्नु आदि जस्ता थुप्रै कारणहरूले गर्दा २०४७ पछि हाम्रो राजनीतिमा अन्योल सिवाय केही छैन। जनता त कुहिरो बनेको छ बिचरा। अहिले झन् काङ्ग्रेसका अकबरी सुन भनिने देउवाको सट्टा प्रचण्ड सत्तामा काबिज हुनाले अन्योल बढेको छ, जसको प्रभाव प्रदेशहरूमा प्रस्टै देखिन थालेको छ। विदेशतिर नेताहरूलाई अस्थायी सरकार र कर्मचारीहरूलाई स्थायी सरकार भनिन्छ तर हाम्रो अन्योलपूर्ण राजनीतिले कर्मचारीहरूलाई नेताहरूको रहमोकरममा बाँच्ने कठपुतली बनाइदिएको छ। हाम्रा कर्मचारीहरू त नेताहरूले जता नचायो उतै नाच्नुपर्ने अवस्था छ। अन्योलकै कारण हाम्रा सरकारहरू कहिल्यै पाँच वर्ष टिकेनन्, प्रदेशको अवस्था पनि जैसन गुरु वैसन चेला, दुनु नरक में ठेलमठेला जस्तै छ। गनिमत छ कि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबूले पाँच वर्ष मुख्यमन्त्री बनेर इतिहास रचे। अन्योल नै अन्योलमा नेपाली प्रजातन्त्रको तीन दशक व्यर्थ बितिसक्यो र अझै यस्तो कतिन्जेल चल्छ कुनै ठेकान छैन। जुन मुलुकमा सरकारलाई जनतामा र जनतालाई सरकारमा विश्वास हुँदैन, त्यहाँ अन्योल सिवाय केही हुँदैन। नेपालजस्तो लामो समयसम्म अन्योल भोग्ने मुलुक अन्तमा अरूको शिकार भएको, पराधीन भएको थुप्रै इतिहास छ। हाम्रो के गति होला दैव नै जानून १

जमानामा भारतीय सिनेमामा जोगेन्दर भन्ने एउटा खलनायक थिए, जसले एउटा फिल्ममा रङ्गाको भूमिका निर्वाह गरेका थिए र रक्तपात देखेपछि दङ्गा गरेपछि ‘रङ्गा खुश हुआ’ भन्दै ठहाका लगाउँथे। नेपाली राजनीतिमा समेत पहाडदेखि मधेससम्म थुप्रै रङ्गा–विरङ्गाहरू देखिएका छन्। यस्ता रङ्गा–विरङ्गाहरूलाई राजनीतिबाट तल नझारेसम्म, न यहाँ अन्योल समाप्त हुन्छ न सुशासनको कल्पना गर्न सकिन्छ। रङ्गाहरूले आन्दोलनको नाटक मञ्चन गरिहन्छन्, पगरी पडकाइरहन्छन्। रङ्गा, विरङ्गा, तिरङ्गा हाम्रा लागि घातक छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here