- कुमारबन्धु रुपाखेती
वीरगंज महानगरलाई समस्यै समस्याको शहर हो भन्दा अतिशयोक्ति नहोला । अचेल स्थानीय पत्रपत्रिकाहरूमा मेयरले निर्माण सामग्री जथाभावी सडकमा नराख्न अपील गरे, जथाभावी पार्किङ नगर्नू भने, वीरगंजका दुर्गन्धित पोखरी सफा गर्न भने, सामुदायिक विद्यालयको बेथिति हटाउन सक्रिय भए, श्रीसियालाई प्रदूषणमुक्त गर्ने भए, वीरगंजमा अपराध बढ्दो, तस्करी मौलायो, स्माइकरले चोरी चकारी बढाए, गुन्डागर्दी बढ्यो, हत्याजस्ता जघन्य अपराध बढ्यो भन्ने समाचार दैनिकजसो पढ्न पाइन्छ । सरकार, प्रदेश सरकारबाहेक महानगरपालिकाजस्तो नजीकको सरकारको प्रमुख दायित्व हो, आफ्नो महानगरलाई यस्ता विकृतिबाट मुक्त गर्ने । महानगरमा परिणत भएपछि वीरगंजको आम्दानी ह्वात्तै वृद्धि भएको छ, सङ्घीय सरकार र प्रदेश सरकारले पनि मनग्यै अनुदान पठाउँछन् । महानगरहरूमा त सङ्घीय सरकारले विज्ञ र अनुभवी कर्मचारीहरूसमेत पठाउने गर्दछ । वीरगंज महानगरपालिकामा आआफ्नो कार्यक्षेत्र हेर्ने छुट्टाछुट्टै फाँट र विभागहरू छन्, जहाँ टन्नै कर्मचारी पनि देखिन्छन् । तर ससाना र चानचुने खुदरिया काममा समेत मेयर सक्रिय हुनुपर्ने अवस्था छ । कर्मचारीहरूले असहयोग गरेको हो अथवा मेयरले विभागहरूमा हस्तक्षेप गरी पङ्गु बनाएका हुन्, त्यो त सरोकारवालाहरूले नै जानून् । एउटा मेयरको काम, कर्तव्य र अधिकार नगरपालिका ऐन र सरकारले तोकेको हुन्छ । तर मेयरहरू तल्लो स्तरमा झर्दै पार्किङ हेर्ने, पोखरी सफा गर्छु, प्रदूषण हटाउँछु भन्नेजस्ता तीन/पाँच कुरा गरेर कतै ‘जहाँ जाओगे, हमें पाओगे’ भन्ने सन्देश दिन त खोजेको होइनजस्तो भान पर्न थालेको छ । जब सबै क्षेत्रमा मेयर नै भिड्ने हो भने महानगरपालिकामा त्यतिका फाँट र विभाग सेतो हात्तीमा परिणत कर्मचारीहरूको के काम ?
झन् महानगरपाालिका कार्यालयभित्रको अवस्था त ‘सब जग देखा, एके लेखा’ जस्तै बुझिन्छ । हाजिर बजाएर टाप कस्ने, घाम ताप्ने, अनावश्यक गफ र विवाद गर्ने, हाकिमहरूको चाकडीमा लाग्ने, कमाइदार, मालदार फाँट खोज्ने, घुमाउरो पाराले सेवाग्राहीको काम लम्ब्याएर हाकाहाकी उपरी आम्दानी खोज्ने प्रवृत्ति महानगरका कर्मचारीमा भूतझैं सवार देखिन्छ । महानगरको बेथिति हटाउने भन्दै वीरगंजका मेयरले विजयी हुनेबित्तिकै प्रकाश अमात्य, हरि पोखरेलहरूलाई नियुक्ति दिएका थिए । यी दुई पूर्वकर्मचारी महानगरको समस्याभन्दा मेयरको समस्या समाधानपट्टि लाग्नु स्वाभाविक हो । जसले मह काढ्छ, उसले हात चाट्छ भन्ने त उखान नै छ । नौ महीना लाग्यो, वीरगंज महानगर वा मेयरले नगरवासीका लागि त्यस्तो प्रशंसनीय काम गरेको देखिंदैन, तर फोस्रो विज्ञापनको बाढी नै आएको प्रतीत हुन थालेको छ । मन, वचन र कर्मले वीरगंजको लागि काम गर्ने एकमात्र पहिलो मेयर केदार मानन्धर र पशुपति घोष मात्र यहाँको जनजिब्रोमा झुन्डिएको देखिन्छ । अन्यहरू त पैसाको खातमा बस्ने कुबेर बन्न खोजेको आभास पनि हुन थालेको छ । वीरगंज महानगर कुनै लम्बेचौडे महानगर होइन, तर यहाँ देखिने फोहरका डुङ्गुर, छाडा गाईवस्तु, भुस्याहा कुकुर र बढ्दो झिंगा, लामखुट्टेले हाम्रFे महानगरलाई जिस्काइरहेको, चुनौती दिइरहेको देखिन्छ । स्वयम् महानगरपालिका कार्यालयका हाता र भित्तामा कर्मचारीहरूले पान, सुर्ती, गुटखा खाएर जथाभावी पिच्चपिच्च थुकेर विकृत बनाएको सहजै देखिन्छ । कुनै समस्या भए प्रमुखलाई भेट्नु भन्ने उर्दी महानगर हाताभित्र लेखिएको देखिन्छ । दिनरात त्यहाँ बस्ने मेयरले समस्या चाल नपाउने र कामको सिलसिलामा पुग्ने सेवाग्राहीले आफ्नो काम गराउने कि गुनासो लिएर मेयरसमक्ष धाउने ? कतै महानगरपालिका हाताभित्र दिया नीचे अँधेरा त छैन ?
अहिले जसपाका राजेशमान सिंह मेयर छन्, युवा छन्, जोश र जाँगर छ तर यस्तै रवैया रहेमा नाम बडे और दर्शन छोटे हुने हुन् कि भन्ने चिन्ता उनका शुभचिन्तकहरूमा देखिन्छ । अचेल नामले हैन कामले चिनिन्छ । कामको च्यापाच्यापले हो कि यिनी एकासबेरै महानगरपालिकामा आफ्नो कार्यकक्षमा विराजमान देखिन्छन्, त्यसपछि यिनका अठपहरियाहरूको जमघट बढ्दै जान्छ, अनि गुनासो लिएर जाने सेवाग्राही त त्यो भीड देखेरै तर्सिन्छ, फर्किन्छ । हामीलाई शासक होइन, सेवक चाहिएको हो । हाम्रा कतिपय जनप्रतिनिधिहरूलाई आफू सेवक हो कि शासक हो भन्ने ज्ञान नै देखिंदैन । सेवक र शासकको काम, कर्तव्य र अधिकारबीच आकाश, पातालको फरक हुन्छ । एउटा जनप्रतिनिधिले आफूलाई कुनै बेला एउटा सेवकझैं र कतिपय बेला शासकको रूपमा समेत प्रस्तुत हुनुपर्छ । तर हाम्रा जनप्रतिनिधिहरूमा त बा¥है मास शासक बन्ने भूत सवार देखिन्छ । शासकहरूमा सेवा भावना हुँदैन, त्यसैले शासकहरू जनतामा लोकप्रिय हुँदैनन् भन्ने कुरा सबैले समयमैं बुझ्नु जरुरी छ । वीरगंजको समस्या समाधान गर्ने सेवक बन्नु जरुरी छ ।