• कुमारबन्धु रुपाखेती

आजभन्दा झन्डै चालीस वर्षअघि राष्ट्रपति रोनाल्ड रेगनको निम्तोमा तत्कालीन राजा वीरेन्द्र अमेरिका पुगेका थिए । उनीहरूबीच एउटा सङ्क्षिप्त वार्तालाप यस्तो थियो । जुन त्यतिखेर निकै आलोचित र चर्चित थियो ।

राष्ट्रपति रेगन–महाराज तपाईंले अहिलेसम्म आफ्ना जनतालाई प्रजातन्त्र किन नदिएको ?

राजा वीरेन्द्र– महामहिम, नेपाली जनता असाध्यै सोझा छन्, जालझेल जान्दैनन् । टाठाबाठाले प्रजातन्त्र खाइदिन्छन् । त्यसैले अहिले नदिएको हो ।

त्यतिखेर नेपालमा जनमत सङ्ग्रह भइसकेर सुधारिएको पञ्चायती व्यवस्था सत्तामा थियो । ४० वर्ष अघिको राजा वीरेन्द्रको त्यो सटिक जवाफ अहिलेको परिप्रेक्ष्यमा कति सान्दर्भिक र सत्य छ, त्यो पाठकवृन्दले आफैं मनन गर्नुहोला । २०४७ सालपछिको नेपाललाई नियालेर हेर्दा यस्तो लाग्छ कि यो प्रजातन्त्र कथित प्रजातन्त्र) केही राजनैतिक दलका सीमित व्यक्तिहरूका लागि मात्र भिœयाइएको हो । प्रजातन्त्रको नाममा आफ्नो प्राणको आहुति दिने महान् शहीदहरूलाई ओझेलमा पार्दै जिउँदा शहीदहरू (नेताहरू)ले प्रजातन्त्रलाई आफूखुशी उपयोग गर्ने हतियार बनाएका छन् । सक्रिय राजतन्त्रमा राजपरिवारका सदस्यहरूमा महत्वपूर्ण पदहरू बाँडफाँड गरिन्थे तर त्यतिखेर योग्यता र इमानदारिताको कदर गरिन्थ्यो ।

अहिले त प्रजातन्त्रको नाम बेचेर नातावाद, फरियावाद, अयोग्य र भ्रष्टहरूको आडमा पदहरू किनबेच र लिलाम भइरहेको सरेआम देख्न सकिन्छ । पद र कुर्सीका लागि सामाजिक सद्भाव खल्बल्याउनेदेखि राष्ट्रद्रोहसम्मका कामहरू प्रजातन्त्रवादी भनिने नेताहरूबाट सम्पन्न हुँदै आएको छ । शायद त्यसैले होला सक्रिय राजतन्त्रका बखत यिनलाई अराष्ट्रिय तत्वको आरोपसमेत लाग्दै आएको थियो । राजा महेन्द्रले आफ्नो शासनकालमा भारतीय हस्तक्षेप क्रमशः मत्थर पार्दै गएका थिए भने प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा प्रत्यक्षरूपमा भारतीय हस्तक्षेप र दबाब बढ्दै गएको छ । हाम्रा कतिपय नेताले त नेपाललाई भारतको प्रान्तभन्दा तल्लो दर्जामा पु¥याएको देखिन्छ । भारतमा प्रान्तहरूमा स्वतन्त्र र स्वेच्छाले प्रदेशको मुख्यमन्त्री, मन्त्रीहरू रोजिन्छ भने हाम्रFेमा प्रधानमन्त्रीजस्तो गरिमामय पदसमेत भारतीय रोजाइको हुन्छ भन्ने आरोप सरेआम लाग्न थालेको छ । एउटै स्तरका भए पनि नेपालका प्रधानमन्त्रीहरू भारतीय प्रधानमन्त्रीसमक्ष सधैं जुनियर र अनुनय–विनय गरिरहेको अवस्थामा भेटिन्छन् । भारतीय नेतामात्र होइन, त्यहाँको सुरक्ष्Fा निकायका प्रमुख, उपप्रमुखहरूसमेतले हाम्रा नेताहरूलाई निर्देशन दिइरहेका हुन्छन् । भारतीय राजदूतले हाम्रा प्रधानमन्त्री, पार्टीका प्रमुखहरूलाई जस्तै प्रतिकूल अवस्थामा समेत जस्तोसुकै बेला भेट्न सक्छन् भने मोदीले दर्शनभेट नदिंदा प्रचण्डजस्तो हस्ती खिस्रिक्क पर्दै भारतबाट लुरुलुरु फर्कन्छन् । हाम्रा जलविद्युत्, जडीबुटी, कतिपय राजनैतिक परिवर्तनसमेतमा भारतीय हस्तक्षेप देखिन्छ । प्रजातन्त्रवादी कतिपय दलहरूसमेत भारतीय दानापानीमा हुर्किरहेको आरोप लाग्छ । अब यस्तो अवस्थामा राजा वीरेन्द्रले ४० वर्ष अघि अमेरिकी राष्ट्रपति रेगनलाई दिएको अन्तर्वार्ता कति समय सान्दर्भिक छ आफैं गुणाभाग गरौं । जथाभावी नागरिकता वितरण, बालुवा, गिट्टी र नदीजन्य खनिज, बालुवा, पत्थर भारत निकासी, सीमा क्षेत्रमा अझै भारतीय रुपियाँको प्रचलन बढ्दो, प्रशासनको निष्क्रियताले सीमा क्षेत्रमा भारतीय गाडी, मोटरसाइकलको भरमार, सीमा मिच्ने दशगजा सार्ने काम धडल्लेले भइरहेको, दलका शीर्ष नेताहरू गुफ्तगु गर्न आलोपालो दिल्ली हानिनु  तथा प्रत्यक्ष, अप्रत्यक्ष भारतीय हस्तक्षेपलाई नेताहरूले शिरोधार्य गर्नु, कालापानी क्षेत्रलाई भारतले सजिलै निल्नु आदि इत्यादि घटना, दुर्घटना हेर्दा प्रजातन्त्रप्रेमी नेताहरू लाई पद, कुर्सी पाउन भारतीय सत्तारूढ दलको आशीर्वादको आवश्यकता आदि इत्यादि कारणहरूले गर्दा विगतभन्दा वर्तमानमा हामी भारतप्रति पराधिन हुँदै गएको आभास हुन थालेको छ । आजको यस्तो परिवेश हेर्दा नेपाली राजाहरू वास्तवमा राष्ट्रवादी, राष्ट्रप्रेमी र स्वाभिमानी थिए भन्न कर लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here