रेसुङ्गा, २५ मङ्सिर/रासस
गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत निर्यात हुँदै आएको छ ।
सङ्घका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरीद गरिएको कफी प्रशोधन गरी सङ्घले निर्यात गर्दै आएको छ । जसबाट सङ्घले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ ।
कफी विकास केन्द्र, गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बीउ स्रोत केन्द्रका रूपमा काम गरिरहेको बताए । कुल छ हेक्टर क्षेत्रफलमा बीउका लागि कफीखेती गरिएको छ । अन्तर्राष्ट्रियस्तरमा निर्यात हुन थालेपछि कफीखेतीमा किसानको आकर्षण बढेको छ ।
बढ्यो आकर्षण
गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफीखेतीमा छन् । आँपचौरको पिपलारूखमा दुर्ई सय रोपनीमा डेढ वर्षदेखि कफीखेती गरिरहेका उनीहरूले बीस हजार कफीका बिरुवा रोपेका छन् ।
“विदेशमा पसिना बगाउनुभन्दा स्वेदशमैं मिहेनत गरौं भन्ने सोचले कफीखेती शुरू गरेका हौं,” बेलबासेले भने । मनोज र सरोजले गरेको कफीखेतीबाट हाल एक हजार बिरुवाले उत्पादन दिइरहेका छन् । मनोजका अनुसार गत वर्ष यसबाट सात लाख रुपैयाँ आम्दानी भएको थियो । कफीखेतीमा उनीहरूले हालसम्म ५१ लाख लगानी गरिसकेका छन् । कफीखेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरणसमेत आफैं गर्दै आएका छन् । सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँचजनालाई उनीहरूले रोजगारसमेत दिएका छन् ।
उनीहरू मात्रै होइन आँपचौरका अधिकांश परिवार कफीखेतीमा होमिएका छन् । केहीले व्यावसायिकरूपमा त केहीले घरखर्चका लागि मात्रै पनि कफीखेती गरेका छन् ।
आँपचौरका किसान कपिला खरेलको कपिला कृषि तथा पशुपक्षी फर्म छ । व्यावसायिकरूपमा कफीखेतीसँगै केराखेती र कुखुरापालन पनि गर्छिन् । उनले रोपेका दुर्ई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन् । उनले कफीखेती विस्तारका लागि छहारी निर्माणमा लागेकी छन् ।
आँपचौरकै दुर्गा खरेलले पनि कफीखेतीलाई बगैंचाका रूपमा विस्तार गरेकी छन् । उनले प्रत्येक वर्ष चार क्विन्टलभन्दा बढी कफी बिक्री गर्दै आएकी छन् । “कफीखेतीमा लगानी नडुब्ने भएकोले पनि युवाहरू आकर्षित हुनुभएको हो,” उनले भनिन् ।
गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिका–५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ । आँपचौरका स्थानीय हीरा गिरीले १९९५ सालमा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किंदा कफीको बीउ लिएर रोपेपछि पहिलोपटक नेपालमा कफीखेतीको सुरुआत भएको हो ।
कफीको सुरुआत भएको झन्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमैं थियो । त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती शुरू भएको स्थानीय दुर्गा खरेलको भनाइ छ ।