काठमाडौं, २० कात्तिक/रासस

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)को पक्ष राष्ट्रको २७औं सम्मेलन (कोप–२७) आइतवारदेखि औपचारिक सुरुआत भएको छ । यही कात्तिक २० देखि भएको सम्मेलन मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२)सम्म इजिप्टको शार्म एल–शेखमा भइरहेको छ ।

सम्मेलनको औपचारिक सुरुआत भएपनि मुख्य कार्यक्रम लिडर समिट सोमवार र मङ्गलवार हुनेछ । उक्त कार्यक्रममा विश्वका विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूले सम्बोधन गर्नेछन् । सम्मेलनमा १९७ पक्ष राष्ट्रका करीब ३० हजार सरकारी अधिकारी, गैरसरकारी संस्था पदाधिकारी, अनुसन्धानकर्ता, वन वातावरण विषयका विज्ञ, नागरिक समाज र सञ्चारकर्मीलगायतको सहभागिता रहनेछ ।

नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको नेतृत्वमा सहभागिता जनाएको छ ।

मन्त्री रेग्मीसँगै सम्मेलनका औपचारिक र अनौपचारिक बैठक तथा साइडलाइन वार्ताहरूमा वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, सहसचिव र अन्य सरकारी प्रतिनिधिहरूले सहभागिता जनाउनेछन् ।

यस सम्मेलनको विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी र महत्वकाङ्क्षी परिणामहरू दिने लक्ष्य तथा उद्देश्य रहेको छ । साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासहरूलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिनेसमेत सम्मेलनको लक्ष्य रहेको कोपको सचिवालयले जनाएको छ ।

सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा कायम गर्ने मार्गमा विश्वका सबै राष्ट्र ऐक्यबद्ध हुने, यस वर्ष ग्लास्गो प्याक्टको कार्यान्वयन र राष्ट्रिय निर्धारित योगदान (एनडिसिज) र न्यूनीकरणका महत्वकाङ्क्षी लक्ष्यका कार्ययोजना तयार गर्ने, अनुकूलनका विश्वव्यापी लक्ष्यमा सहमत हुने र कोप २६ मा सहमत भएको अनुकूलन वित्तको कार्यान्वयन गर्नेबारेमा छलफल र निर्णय हुनेछ ।

यसबाहेक कोप–२७ मा वित्तसम्बन्धी सबै मुद्दा अगाडि बढाइ जलवायु वित्तका विषयमा महत्वपूर्ण प्रगति गर्ने, सन्तुलितरूपमा ठोस नतीजाहरू प्राप्त गर्न वार्तामा सम्झौतालाई सुधार र सहजीकरण गर्नु, हानिनोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र (सेन्टियागो नेटवर्क), हानि तथा नोक्सानी सुविधा सम्मेलनका ‘एजेन्डा’ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here