- चिरञ्जीवी सापकोटा
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको पाँच दिनलाई यमपञ्चक भनिन्छ । पाँच दिनसम्म यम सम्बद्ध विषयवस्तुको पूजा आराधना गरिने भएकाले यस समयलाई यमपञ्चक भनिएको हो । यो समयमा यमराज पनि आफ्नी बहिनी यमुनाकहाँ टीका लगाउन जाने हुँदा मृत्युको भय हुँदैन भन्ने धार्मिक एवं लौकिक मान्यता रहिआएको छ ।
यिनै यमपञ्चकका समयलाई तिहार पनि भन्ने गरिन्छ । तिहारको अर्थ पनि चाड अथवा उत्सव भन्ने हुन्छ । मृत्युका देवता यमराजले आफ्नी बहिनी यमुनासँग धेरै समय भेट गर्न पाएका हुँदैनन् । यमुनालाई पनि आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा हुन्छ । यमुनाले अनेकौं माध्यममार्फत दाजु यमराजलाई बोलाउन पठाउँछिन् । काग, कुकुर, गाई आदिलाई दाजुलाई निम्तो दिन पठाए पनि दाजु यमराजको आगमन नभएपछि बहिनी यमुना स्वयम् आफैं भेट्न जान्छिन् र भाइटीकाको अवसरमा दाजु यमराजलाई टीका लगाइदिन्छिन् । तोरीको तेलमा दुबोको झुप्पो चोबेर दाजुको वरिपरि तेल र पानी मिश्रित धाराले मसिनो रेखा कोरी मखमली फूलको मालासहित भाइटीका लगाइदिएको कथा प्रसङ्ग पुराणमा वर्णन पाइन्छ । यही धार्मिक मान्यताका आधारमा काग, कुकुर, गाई, गोवर्धन पर्वतका साथसाथै भाइको पूजा गरी भाइटीका लगाउने शास्त्रीय चलन रहिआएको छ ।
यमराज को हुन् ?
सूर्य र विश्वकर्माकी पुत्री संज्ञाका गर्भबाट जन्मिएका यमराज दक्षिण दिशाका दिक्पाल हुन् । यिनको मुख्य काम नर्कका पापीहरूलाई यातना दिएर नर्कबाट मुक्त गराउनु हो । यमराजकी पत्नीको नाम हेममाला अर्थात् धुवर्णा र बहिनीको नाम यमुना हो । यमराजको लोकलाई यमलोक भनिन्छ भने यमराजले हातमा कालदण्ड धारण गरेका हुन्छन् । यमराज र शनिश्चर दाजुभाइ हुन् ।
काग तिहारको महत्व
कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरिन्छ । काग अत्यन्तै चलाख पक्षी हो । सर्वभक्षी प्राणीका रूपमा पनि कागलाई लिने गरिन्छ । कागको पूजा गर्नाका विभिन्न कारणहरू रहेका छ्न् । कागले सबैलाई समान दृष्टिले हेर्दछ भने यसले अन्नबालीमा लाग्ने कीरा फट्याङ्ग्रा पनि खाइदिन्छ र अन्नबालीलाई जोगाउँछ । कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिइन्छ । काग यमराजका प्रियपात्र भएकाले सन्देशवाहकका रूपमा कागको पूजा गरिन्छ । कागपूजाकै दिनमा समुद्रमन्थनका बेला उत्पत्ति भएका धन्वन्तरिको पूजा पनि गरिन्छ । यस दिनलाई धनतेरसको रूपमा पनि मनाउने चलन छ । यस दिन सङ्ग्रह गरिएका सुनचाँदी आदि धातुका वस्तुहरू कल्याणदायी मानिन्छन् । त्यसैले यस दिन धन जोड्ने चलन रहेको छ ।
कुकुरपूजा
कार्तिक कृष्ण चतुर्दशीको दिनलाई कुकुर तिहार भनिन्छ । यस दिनलाई नर्क चतुर्दशीको रूपमा पनि सम्बोधन गर्ने गरिन्छ । यस अवसरमा कुकुरको पूजा गर्नाले नर्कजन्य यातनाको भोग गर्नुपर्दैन भन्ने मान्यता रहेको छ । कुकुरलाई आदेशपालक रक्षक मात्र मानिंदैन । कुकुर विभिन्न अपराध अनुसन्धान कार्यमा पनि प्रयोग हुने गर्दछ । त्यसैगरी, प्राकृतिक प्रकोप पर्नुअघि कुकुरले पूर्वसूचना दिने पनि गर्दछ । कुकुरलाई भैरवको वाहनका रूपमा पनि पूजा गर्ने गरिन्छ ।
लक्ष्मीपूजा
कार्तिक कृष्ण औंसीका दिन महालक्ष्मी भगवतीको उपासना हुने गर्दछ । प्रतिपदा तिथि लागेको अवस्थामा गाईको पूजा पनि हुने गर्दछ । गाईलाई पनि लक्ष्मीकै प्रतीक मानिन्छ । महालक्ष्मी धनधान्यकी देवी एश्वर्यकी प्रतीक हुन् । कार्तिक कृष्ण औंसी अन्धकारमय रात रहने र उक्त अवसरमा महालक्ष्मी यस पृथ्वी लोकमा परिभ्रमण गर्ने र जसको घर दीपमालिकाले झलमल्ल छ, जसको घर पवित्र छ, उसैको घरमा महालक्ष्मीको पदार्पण हुने र बास गर्ने मान्यताका आधारमा पनि यस दिन दीपावली गरेर महालक्ष्मीको पूजा आराधना हुने गर्दछ । महालक्ष्मीको पूजा गरी घरका दराज, भण्डार आदिमा स्वस्तिक चिह्न अङ्कित गरी शुभलाभ लेख्ने चलन पनि हाम्रो समाजमा रहेको छ । सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवीलाई महालक्ष्मी भनेर भनिन्छ । जसलाई त्रिगुणमयी देवीका नामले पनि पुकारिन्छ । महालक्ष्मी भगवतीका आठ स्वरूप छन् । आद्यलक्ष्मी, धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, वीणालक्ष्मी, जयालक्ष्मी र विद्यालक्ष्मी गरी आठ स्वरूप छन् । यस अवसरमा आठै स्वरूपको पूजा गर्ने गरिन्छ । यस अवसरमा महालक्ष्मीको पूजा गर्नाले सुख, शान्ति, एश्वर्य प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । यही मान्यताका आधारमा लक्ष्मीपूजाकै दिनमा भव्यरूपमा दीपमालिका गरी दीपावली मनाउने प्रचलन छ । यसै दिन चेलीबेटीहरूले भैलो खेल्ने प्रचलन पनि रहेको छ ।
गोवर्धनपूजा
कार्तिक शुक्ल प्रतिपदाको दिन गाईको विशेष पूजा गर्ने परम्परा छ । यसै दिन गोवर्धन पर्वतको पूजा पनि गर्ने गरिन्छ । भगवान् श्रीकृष्णसहित गोकुलवासीले गोवर्धन पर्वतको पूजा गरेको कथा प्रसङ्गकै मान्यताअनुरूप यसै दिन गाईको गोबरको पर्वत निर्माण गरी विशेष पूजा गर्ने गरिन्छ । गोवर्धन पर्वतमा भगवान् श्रीकृष्णको बास रहेको मान्यता पनि छ । यसै अवसरमा देउसी खेल्ने र रमाइलो गर्ने प्रचलन पनि रहिआएको छ ।
भाइटीका
कार्तिक शुक्ल द्वितीयाका दिनलाई भाइटीका भनिन्छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइटीका लगाइदिएको धार्मिक मान्यता रहेको छ । यमपञ्चकका पाँच दिन यमराज आफ्नी बहिनी यमुनाको घरमा बास बस्छन् र पृथ्वीवासीलाई कालको भय, त्रास हुँदैन भन्ने धार्मिक मान्यता छ । भाइटीकाका दिन दियो, कलश, गणेशको पूजा गरी अष्ट चिरञ्जीवीको पनि विशेषरूपमा पूजा आराधना गरिन्छ । बिमिरो, ओखर आदिको पूजा गरेर ओखर फोडेर आफ्ना दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइ मखमली फूलको माला लगाइदिएर आशीर्वाद प्रदान गर्ने शास्त्रीय परम्परा छ । ओखर यमराजको प्रतीक हो, जसलाई ढोका बाहिर फोडिन्छ । बिमिरो यमुनाको प्रतीकको हो, जसलाई पूजा गरी पवित्र स्थानमा राखिन्छ । कहिल्यै नसुक्ने तेल, मखमलीमाला र दुबो दीर्घजीवनका प्रतीक हुन्, जसबाट दीर्घजीवनको कामना गर्ने गरिन्छ । यसरी पाँच दिनसम्म भव्यरूपमा मनाइने पर्व नै यमपञ्चक हो ।