काठमाडौं, १२ असोज/रासस
नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पु¥याएबापत हालसम्म एक लाख ४१ हजार २५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना गरिएका शान्ति मिसनमा रही सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेबापत सेनाले उक्त सङ्ख्यामा शान्ति पदक प्राप्त गरेको हो ।
शान्ति मिसनमा आफ्नो कार्यकाल पूरा गरेर फर्कने सैनिकलाई राष्ट्रसङ्घले शान्ति पदक प्रदान गर्ने चलन छ । संयुक्त राष्ट्रसङ्घको शान्ति यात्रामा हालसम्म एक हजार ८९६ नेपाली महिला सुरक्षा फौजबाट समेत योगदान भइसकेको छ । विश्वकै सैनिक इतिहासमा सहासिक, व्यावसायिक र अनुशासित सेनाको कोटीमा अब्बल साबित नेपाली सेना अहिले शान्ति सेना धेरै पठाउने मुलुकको सूचीमा दोस्रो वरीयतामा छ । विश्वशान्ति कार्यमा अहिले ११ मुलुकका १२ मिसनमा ३६९ महिलासहित पाँच हजार ६२३ नेपाली सुरक्षाफौज तैनाथ रहेको सेनाको शान्तिकार्य निर्देशक सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।
संयुक्त राष्ट्रसङ्घको शान्तिकार्यमा लेबनानमा पहिलोपटक सन् १९५८ मा संलग्न भएको सेनाले यसबीचमा द्वन्द्वरत विभिन्न राष्ट्रमा स्थापना भएका ४४ शान्ति मिसनमा काम गरेको अनुभव बटुलिसकेको छ । विश्वका कयौं द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने सिलसिलामा परिचालित हुँदा अहिलेसम्म ७१ सैनिकले वीरगति प्राप्त गरेका छन् भने घाइते सैनिकको सङ्ख्या ६६ पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घले नेपाली शान्ति सैनिकलाई संवेदनशील र महŒवपूर्ण मानिएको क्षेत्रको सुरक्षाका लागि खटाउँदै आएको छ । सेनाका सकल दर्जाले प्राप्त जिम्मेवारीलाई उच्च मनोबलका साथ कार्यसम्पादन गरेकै कारण राष्ट्रसङ्घबाट पटक–पटक पुरस्कार, कदरपत्र र सम्मानसमेत प्राप्त भएको छ ।
द्वन्द्वग्रस्त मुलुकमा खटिएका सेनाका बीचमा नेपाली सेना स्थानीयवासीको रोजाइमा पहिलो नम्बरमा पर्दै आएको छ । नेपालको शान्ति र असंलग्नता नीतिप्रतिको प्रतिबद्धता, नेपाली सेनाको अनुशासन र कर्तव्यपरायणका कारण संयुक्त राष्ट्रसङ्घ र स्थानीयको रोजाइमा पर्दै आएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।
नेपाली सेना जुनसुकै समयमा विश्वका कुनै पनि देशमा तत्कालै परिचालित भएर आफ्नो सैनिक व्यावसायिक, अनुशासित र साहस प्रदर्शन गर्न सक्षम भएकाले छनोट सूचीमा प्राथमिकतामा पर्दै आएको हो । द्वन्दका कारण शान्ति सुरक्षा र आर्थिक अभावमा छटपटाइरहेका स्थानीयवासीलाई मानवीय सहायता प्रदान गर्दै उनीहरूलाई विश्वासमा लिएर शान्ति कायम गर्ने अभियानमा नेपाली सेना अभूतपूर्व सफलता हासिल गर्दै आएको छ । हाल नेपाली शान्ति सेना सिरिया, पश्चिम सहारा, माली, कङ्गो, सेन्ट्रल अफ्रिका, लेबनान, इराक, इजरायल, यमन, सुडान, दक्षिण सुडान र लिबियास्थित शान्ति मिसनमा तैनाथ छन् ।
पछिल्ला वर्षमा संयुक्त राष्ट्रसङ्घबाट शान्ति सेनाको फोर्स कमान्डको जिम्मेवारीसमेत नेपाली सेनालाई लगातार उपलब्ध हँुदै आएको छ । यसअघि सातजनाले उक्त जिम्मेवारी सफलताका साथ पूरा गरिसकेका छन् । संयुक्त राष्ट्रसङ्घलाई नेपाल सरकारले आवश्यक परेको खण्डमा १० हजारको सङ्ख्यामा सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जाहेर गरिसकेको छ ।
शान्ति सेनामा खटिएबापत सेनाले प्राप्त गर्ने रकमबाट सैनिक कल्याणकारी कोष सञ्चालित छ । हाल उक्त कोषमा रहेको यथार्थ सम्पत्ति रु ६९ अर्ब तीन करोड ७९ लाखको मुख्य स्रोत भनेकोे शान्ति मिसन नै हो । उक्त कोष शान्ति सेनामा सहभागी भएबापत संयुक्त राष्ट्रसङ्घबाट प्राप्त रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा स्थापना गरिएको थियो । कोषको रकमको ब्याजबाट सेनाले आफ्ना १० लाखभन्दा बढीको सङ्ख्यामा रहेका हिताधिकारीलाई शिक्षा, स्वास्थ्य, सुविधा तथा सहुलियत, सीप एवं स्वरोजगारका लागि सहयोग प्रदान गर्दै आएको छ ।
शान्ति सेनामा नेपालको प्रभावकारी उपस्थितिकै कारण काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा शान्ति सेना खटाउने मुलुकका सेनालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका तालीमसमेत सञ्चालन हँुदै आएको छ । शान्ति कार्यमा लामो अनुभव हासिल गरेको सेनाले द्वन्द्वग्रस्त मुलुकमा तैनाथ हुँदा अपनाउनुपर्ने सुरक्षा सजगता र कार्यसम्पादनबारे अरू राष्ट्रका सेनालाई तालीम प्रशिक्षण दिनसमेत सक्षम रहेको दाबी गर्दै आएको छ । हाल शान्ति मिसनमा सशस्त्र प्रहरी बलका १९५ र नेपाल प्रहरीका ३० जनासमेत कार्यरत रहेको जानकारी दिइएको छ । शान्ति मिसनमा महिला सैनिकको सङ्ख्या वृद्धि गर्ने कार्यमा पनि गृहकार्य भइरहेको छ ।
सेनाले मिसन इलाकामा वातावरणीय प्रभाव न्यूनीकरणका लागि दुई पक्षीय र बहुपक्षीय कार्यक्रममार्फत नवीकरणीय ऊर्जाको प्रयोग गर्न तथा शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।