- कुमार रुपाखेती
गाउँघरमा टाढा–टाढा घर हुन्थे, फराकिलो क्षेत्र हुन्थ्यो । बिहानी भएको सूचना कुखुराको भालेले बासेर, चराहरूले चिरबिर गर्न थालेपछि, कोठामा घाम पस्न थालेपछि पाइन्थ्यो । बिहानीपख इनार वरपर लुगा धुने, नुहाउने र दतिवनले मुख धुनेहरूले जिभिया गरेको सुनिन्थ्यो । नीम, आँप, अम्बाका दतिवन बारीबाट ल्याइन्थ्यो । बारीमा नरोपेरै गेनरी र बथुवाको साग, सानो अमिलो गोलभेंडा र अनेरिया घिरौंला फल्दथ्यो । दश बजे भात खाएर बस्ता बोकेर (किताब–कापी च्यापेर) कोही चप्पल र अधिकांश खाली खुट्टा स्कूल जान्थे । पाँच पैसा, दश पैसा, सुका, मोहर (चवन्नी–अठन्नी) घरबाट टिफिन खान दिन्थे, हुनेखाने ढ्याक (एक रुपियाँ) बोकेर आउँथे र स्कूल बाहिर बदाम, बरफ, घुघुनी–भुजा खान्थे । रित्तो खल्ती हुनेहरू स्कूल कम्पाउन्डमैं खेलिरहन्थे । त्यति बेलाको खेलमा छकन्ता, तु–छुट्टी– तु–ता, कपर्दी, सानो सानो हातेबल, डिपलिस, लट्टु नचाउने, गुच्चा र पैसा राखेर खोपी र बाहिरी भित्री खेलिन्थ्यो । फूटबल र चङ्गा उडाउने लोकप्रिय खेल थियो त्यतिबेला ।
डेढ महीना गर्मीको छुट्टीमा खुब चङ्गा उड्दथे । घरघरमा कुटो, कोदालो, खुर्पी, हँसिया र दाउरा चिर्ने बन्चरो हुन्थ्यो । आइमाईहरू डेलीमा हँसिया राखेर घाँस लिन जान्थे, गाईवस्तुका लागि र लोग्नेमान्छेहरू कुटो, कोदालो लिएर खेततर्फ लाग्थे । त्यतै हातमुख धुने, दिसा, पिसाब गर्थे, त्यतिखेर जनसङ्ख्या कम भए पनि नोकरीको अवसर थिएन । गाउँघरमा बाँदर, भालु नचाउने, दुलदुल घोडा घुमाउने, मदारी र चटक देखाउने चलन थियो । टिसिएनले दाउराको गुलिया बेच्थ्यो, बन्चरोले चिरेर घाममा सुकाएको दाउरालाई ढुङ्ग्रोले फुकीफुकी गृहिणीले खाना पकाउँथे । खेतीपाती हुनेहरूका घरमा बयलगाडा, टायरगाडामा धान, अनाज आउँथ्यो । दही बेच्ने अहिरहरू ‘दही किनाइ’ भन्दै घरदैलो चहार्थे, पैसा नहुनेले अनाज दिएर दही साट्थे । बजारमा सग्गड पनि फाटफुट देखिन्थ्यो । त्यतिखेरको सग्गडलाई अचेल टाँगा भनिन्छ । त्यतिखेर केटाकेटीहरू गुडकौना पनि खुबै गुडकाउँथे । त्यतिखेर सरकारी स्कूल मात्र थिए, प्रायःजसो शिक्ष्Fकहरू साइकल र पैदल पढाउन आउँथे । विद्यार्थीसित साइकल हुनु ठूलो कुरा हुन्थ्यो । गाउँघरमा प्रायःजसोको पिढीमा जाँतो हुन्थ्यो, दशैं तिहारताका ढिक्की कुटेको आवाज सुनिन्थ्यो । घरहरू खुला र फुसका हुन्थे, कम्पाउन्डमा टाटी लगाउँथे । हुनेखानेको कम्पाउन्ड काँडेतारले घेरिएको हुन्थ्यो । भदौ, असोजताका मौसम खुल्ने र वीरगंजबाट पनि पहाड, हिमाल देखिंदा दशैं नजीकिएको आभास हुन्थ्यो । त्यतिखेर रेडिमेडको जमाना थिएन, सीमित दर्जीहरू हुन्थे र दशैंताका ती दर्जीहरूलाई लुगा सिउन भ्याई नभ्याइ हुन्थ्यो । त्यतिखेर दशैंताका नयाँ लुगा सिलाउने चलन थियो । घरभन्दा बढी रूखबिरुवा भएकोले विभिन्न थरीका चरा देखिन्थे । चैत, वैशाखमा कोइलीको कुहु–कुहुले कानै खान्थ्यो, राति जाडोमा घर वरिपरि स्याल आउँथे, कुखुरा लान्थे । आमाहरू डुङ्गुरका डुङ्गुर लुगा बोकेर डल्लो गोलो साबुन लिएर धुन पोखरी पुग्थे । त्यतिखेर लुगा धुन, नुहाउन डल्लो साबुन र कपालमा पहेंलो माटो दलेर नुहाउने गरिन्थ्यो । खाने नूनसमेत डल्लो पाइन्थ्यो र गरम मसाला, जीरा, धनिया, बेसार सिलौटामा पिस्ने चलन थियो । सबै भान्सामा सिलौटो पाइन्थ्यो । त्यतिखेर साँप, खासगरी गोमन र करैतको बिगबिगी थियो । पिंजडामा सुगा, मैना पाल्थे । बाख्रा, गाई, भैंसी र कुकुर पनि पाल्थे । कुखुरा र हाँस पोखरीमा नुहाउन जाँदा जुका खुबै लाग्ने गर्दथ्यो । सिनेमा हलमा जानु त एउटा महान अवसर नै हुन्थ्यो । हेरेर आउनेले नहेरेकालाई सिनेमाको कहानी सुनाउँथे । बेलुका लोग्नेमान्छेहरू चौतारामा र आइमाईहरू पिढीमा बसेर भलाकुसारी गर्ने गर्थे । कसकोमा के पाक्यो, को पाहुना आयो सबै थाहा हुने । सवारीका साधन साइकल र गाडा नहुनेहरू कोसौं पैदल हिंडेर टाउकोमा छैंटी, गठरी राखेर आफन्तकहाँ जान्थे । पूजाआजा गर्न घरघरमा पूजाकोठामा ढक्की हुन्थ्यो । कसैको शादी विवाह सात गाउँलाई थाहा हुन्थ्यो । घरघरमा अम्बा, आँप, जामुन, बयर, तुतका रूख हुन्थे, मन लागे जति खाऊ । साँझपख घरघरमा टुकीमा मटीतेल हाल्ने, लालटेनको शीशा कपडाले पुछ्ने र हुनेखानेले मेन्टोल (पेट्रोमेक्स) बाल्दथे । वर्षात्मा दलदल बन्ने, बहीमा माछा मार्ने, माछा मार्न बल्छी हाल्ने, सिपुली थाप्ने गरिन्थ्यो । सबैसँग घडी हुन्थेन, घाम हेरेर समयको अनुमान गर्थे, जेल, सलाई फैक्ट्री, सिगरेट फैक्ट्री एक एक घण्टामा घन्टी बजाएर समयको जानकारी दिन्थे । कसैकसैसँग रेडियो हुन्थ्यो, समाचार सुन्न गाउँ नै जम्मा हुन्थ्यो । वीरगंजमा महेन्द्र आरोग्य भवनबाहेक एक्कादुक्का डाक्टरका क्लिनिक थिए, बैद्यबाहरू पनि थिए । रक्सौलमा रेल गुडेको वीरगंजमा प्रस्टै सुनिन्थ्यो, एउटा सानो रेल वीरगंज–रक्सौल गरिरहन्थ्यो । जसलाई नेपाल रेलवे भनिन्थ्यो, अहिले विपी उद्यानलाई वीरगंजको स्टेशन भनिन्थ्यो र त्यो क्षेत्रलाई स्टेशन रोड भनिन्थ्यो । त्यतिखेर सानाठूला खेलकूदका कार्यक्रम भइरहन्थे । स्कूलबाट आएर बासीभात खाने चलन थियो । त्यसताका आँप किलोको होइन सयकडाको हिसाबले खरीद बिक्री हुन्थ्यो । गरही, पोठिया, चेरेङ्गा, मंगुरी, सौरी र चेलवा माछा खुबै पाइन्थ्यो । त्यतिबेला रोगव्याधि, फूसको घरमा आगलागी र चोरको बिगबिगी थियो । जाडोमा घुर ताप्ने चलन र गर्मीमा खाट घरबाहिर राखेर सुत्ने चलन थियो । जिलेबी, कचौडी, लालमोहन त्यतिखेर खुबै पाइने मिठाई हो । त्यतिखेर अहिरले बनाएको पेडा खुबै प्रचलित थियो । नागपञ्चमी, ऋषितर्पणी, कुशे औंसी, क्वाँटी खाने दिन, माघे सङ्क्रान्ति आदि ठूला चाडपर्व मानिन्थे । वीरगंजमैं लाखे नचाउने, झुलनसमेत लाग्दथ्यो । झुलन हेर्न गाउँगाउँबाट मान्छे वीरगंज धाउँथे । बाघ–बकरी र ताशमा साइटिङ लोकप्रिय थियो । नदीनाला सफा हुन्थे । काम चलाउ चर्पी हुन्थ्यो ।
तिनताका राजाको महोत्सवमा लाग्ने रमाइलो मेला निकै रोचक र लोकप्रिय थियो । यतिखेर सर्प मार्न होस् अथवा चोर लखेट्न हरेक घरमा तेल पियाएको बाँसको लठ्ठी हुन्थ्यो । घुन्सारीमा भुटेको चामलको भुजा र गाईभैंसीको बिगौती खुबै खाइन्थ्यो सित्तैमा । मेलाहरूमा पहलवानी त्यतिखेरको आकर्षणको केन्द्रबिन्दु हुन्थ्यो ।
केही समाजसेवी मास्टरहरूले घरमैं स्कूल चलाउँथे र आम्दानीको स्रोतको रूपमा बिफैया माग्ने, चकचन्ना मनाउने गर्दथे । एक सवा सवैया, दु सवा अढैया पनि पढ्नुपर्ने । त्यतिखेर अङ्ग्रेजी त ठूलो कक्षामा मात्र पढ्नुपर्दथ्यो । त्यतिखेर पैसाको निकै महŒव थियो । पुलिसको रौब अहिलेभन्दा पहिले थियो । त्यतिखेर हाकिम साकिमको त कुरै छाडौंस डिट्ठा, तहसिलदार र खरदार, बहिरदारको समेत निकै रोबदाब चल्दथ्यो । त्यतिखेर पैसा महँगो, खाद्यान्न सस्तो थियो । त्यतिखेर निस्फिक्री हरियो सागपात, कर्कलो पाइने भएकोले आमा, दिदी बहिनीहरूले गुन्द्रुक हाल्ने, मस्यौरा बनाउने, आँपको अचार हाल्ने गर्दथे । यस्ता आँप, लसुन र भेडे खुर्सानीका अचार शीशाको बोयाममा राखिन्थ्यो । केटाहरूले वर्षामा घोङी, केकडा, कछुवा, माछा समात्थे, गुलेलीले चरा मार्ने, पोलेर खाने गर्दथे । त्यसैले त म भन्छु उहिले त बाजेको पालामा मोहर गन्थे डालामा, अहिले त हाम्रो पालामा मकै छैन डालामा । अस्तु !