लुम्बिनी, १९ भदौ/रासस

लुम्बिनी विकास कोषले १० मङ्सिर २०७५ मा आयोजना गरेको पक्षी महोत्सवले सारसलाई लुम्बिनीको नगर पक्षी घोषणा गरिरहँदा उपस्थित संरक्षणकर्ता र अतिथि पाहुनाले करतल ध्वनि गरेका थिए । धार्मिकग्रन्थ रामायण र महामानव सिद्धार्थ गौतमबुद्धको जीवनकथामा यो पक्षीको महŒवपूर्ण वर्णन छ । तर पछिल्लो समय बुद्ध जन्मस्थलकै सारस संरक्षकविहीन छन् ।

विश्वभरि बुद्ध धर्मको प्रचारप्रसार बढेको बेला बुद्ध कथाको एक महŒवपूर्ण अध्यायका रूपमा वर्णित दुर्लभ पक्षी सारसको जीवनचक्र बुद्ध जन्मस्थल लुम्बिनीमैं सङ्कटमा देखिएकोमा कसैको चिन्ता भएन । चरा संरक्षणको क्षेत्रमा काम गर्ने लुम्बिनी ग्रीन युथ क्लबका अध्यक्ष अर्जुन कुर्मीको अनुभवमा लुम्बिनी विकास कोषको पूर्वी पर्खाल बाहिर प्रायः देखिने दुई दर्जनभन्दा बढी सारसका जोडी पछिल्ला केही वर्षदेखि हराइरहेका छन् । स्थानीय चराप्रेमी कुर्मीले लुम्बिनी विकास कोषको उत्तरी भाग लुम्बिनी ग्रामको सिमसार क्षेत्रमा पालिएका सात जोडी सारस पनि देखिन छाडेको बताए ।

त्यस्तै आसपासका क्षेत्रमा सधैं विचरण गरिरहने सारसको बसाइँ पनि स्थिर नरहेको उनको भनाइ छ । गर्मीयाममा सिमसार क्षेत्र सुक्ने भएकोले सारसको वंश वृद्धिमा समेत समस्या हुने गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको भरथापुर, भुजहिया, आमा, सम्मरीमाई गाउँँपालिकाको बेतकुइँया र फरेना तथा कोटहीमाई गाउँँपालिकाको बोगदिया आदि स्थानका तालतलैया, नदी–खोला र सिमसार क्षेत्र सुख्खायाममा सुक्ने गरेकाले सारस चल्ला कोरल्ने बेला अन्यत्र जाने गरेका छन् । साथै कपिलवस्तु, बाँके, दाङ, चितवन र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालीकिच ताल र निकुञ्जकै मध्यवर्ती क्षेत्र बेलडाँडीमा सारस पाइने गरेको छ ।

स्थानीय सञ्चारकर्मी अञ्जना चौहान भन्छिन्–“पहिले एकै स्थानमा ठूलो बथानमा सारस सजिलै देख्न पाइन्थ्यो । सधैं जोडीमा रमाउने सारस किसानका खेतखेतमा आनन्दले विचरण गर्थे, तर अहिले त्यस्तो कमै देखिन्छ ।” बढ्दो शहरीकरणले सारसलाई विस्थापित गराएको उनको तर्क छ ।

हिमाली प्रकृति संस्थानले सन् २०२२ को मार्चमा गरेको अध्ययन अनुसार रूपन्देही र कपिलवस्तु जिल्लामा सारसको कुल सङ्ख्या ३५४ थियो । जबकि सन् २०२० मा नेपालमा सारसको सङ्ख्या ४०४ र सन् २०२१ मा ३९४ थियो । अहिले दिन प्रतिदिन सारसको सङ्ख्या घट्दै गएको संस्थानका कार्यक्रम निर्देशक डा सुदीप सुवेदीले बताए ।

विद्युतीय सञ्जाल, बढ्दो शहरीकरण, कोलाहल, औद्योगिक प्रदूषण, चोरी शिकारी, खेतीमा विषादिको अन्धाधुन्ध प्रयोग र सिमसार क्षेत्रमा मान्छेको व्यापक हस्तक्षेपका कारण वासस्थान असुरक्षित हुँदै गएपछि सारसको सङ्ख्या घट्दै गएको सुवेदीको भनाइ छ । सिमसार, खेतबारी र घाँसे मैदानमा बस्न रुचाउने सारस पक्षी कीरा फट्याङ्ग्रा आहार गर्ने भएकोले बालीनालीमा समेत फाइदा पुग्ने गरेको बताउँदै डा सुदीप सुवेदीले भने–“खेतबारीमा अत्यधिक कीटनाशक औषधि प्रयोग गर्दा सारसको प्रजनन क्षमतामा समेत असर पुगेको छ ।”

सारसले प्रायः असार–साउनमा ओथारो बस्ने, चल्ला कोरल्ने गर्दछ । सम्मरीमाई–७ का अगुवा किसान अशोक त्रिपाठीले भने–“लामो डाँठ हुने कालानमक, कनकजीरा, गौरिया, बासमतीलगायत रैथाने धानखेतीमा सारसले गुँड बनाउन रुचाउँछ । पछिल्ला वर्षमा ती लामो डाँठे धान विस्थापित भएपछि सारसलाई सुरक्षित वासस्थलको समस्या भइरहेको छ ।” हुन त अहिले पनि बुद्ध जन्मस्थल लुम्बिनीमा सारसको सङ्ख्या राम्रै रहेको अनुमान गरिएको छ, तर सुख्खायाममा नदी, खोलानाला, तालतालैयालगायत सिमसार क्षेत्र सुक्ने गरेका कारण पनि सारसको वंश वृद्धिमा नकारात्मक असर परिरहेको पक्षी विद्हरूको कथन छ ।

त्यसैगरी पछिल्लो पाँच वर्षमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ को आमागाउँँ आसपासमा मात्र करेन्ट लागेर सातवटा सारस मरेको नेचर कन्जरभेशन फाउन्डेशनका कैलाश जयसवालले बताए । उनले भने–“जाडोयाममा कुहिरो लागेका बेला बिजुलीको नाङ्गो तारमा ठोकिएर धेरैजसो सारस मर्ने गरेका  छन् ।”प्रसारण लाइनको नाङ्गोतारमा ठोकिएर नगरपालिका क्षेत्रमा मात्र बर्सेनि सरदर छ जोडी सारस मर्ने गरेको जयसवालले बताए । विसं २०७७ साउन तेस्रो साता नगरपालिका–६, तरकुलहा गाउँँको दक्षिण सीमामा रहेका छमध्ये दुर्ई जोडी सारस करेन्ट लागेर मरेको उनको भनाइ छ । सारसलाई विश्वमैं अग्लो उड्ने चरा मानिन्छ । छ फिटसम्म अग्लो र साढे तीन किलो तौलको हुने सारसले पखेटा फैलाउँदा दुवै पखेटाको लम्बाइ आठ फिटसम्म पुग्छ ।

जयसवालले भने–“सजिलैसँग उड्न नसक्ने शारीरिक अवस्थाका कारण नेपालको एक संरक्षित पक्षी सारस करेन्ट लागेर मर्ने गरेका छन् ।” चरा संवेदनशील क्षेत्र जोगाउन तारमा करेन्ट नलाग्ने गरी इन्सुलेट गर्ने, तारमा रिफ्लेक्टर राख्ने, तथा नाङ्गो बिजुलीको तार विस्थापित गरी प्लास्टिकले बेरिएको अत्याधुनिक केबुल हाल्नेजस्ता उपाय गरेर सारसलगायत पक्षी जोगाउन सकिने जयसवालको भनाइ छ । सारसलाई प्रेम र समर्पणको प्रतीक मानिन्छ । बुद्ध आदर्श माविका शिक्षक हरिमोहन चौधरीको अनुभवमा सारस सधैं जोडीमा बस्ने गर्दछन् ।

उनीहरूको भाले वा पोथीमध्ये एउटाको मृत्यु भयो भने अर्काेले नयाँ जोडी बनाउँदैन । सकेसम्म एक्लै बस्ने अथवा छिटो प्राणत्याग गर्ने गर्छन् । सिद्धार्थ गौतम (बुद्ध)को जीवनीमा सारसको प्रसङ्ग महŒवपूर्ण छ । नातामा दाजु पर्ने आफ्ना मामाका छोरा देवदत्तले प्रहार गरेको वाण लागेर घाइते सारसलाई राजा शुद्धोधनको न्यायालयमा उभिएर राजकुमार सिद्धार्थ (पछि बुद्धत्व प्राप्त गरेपछि गौतम बुद्ध) ले जीवनरक्षा गरेका थिए । हिन्दूहरूको सबैभन्दा आस्थाको धार्मिक ग्रन्थ रामायणका रचनाकार महर्षि वाल्मीकिले सारसको जोडीको वियोगान्त कथाबाट नै छन्द निर्माणको प्रेरणा पाएको धार्मिक कथन छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक त्रिभुवन बरई भन्छन्–“वाल्मीकिले रचना गरेका रामायणको आरम्भ नै सारस (क्रौन्च) जोडीको वियोगमा आधारित रहेको मानिन्छ ।”

तमसा नदी तटमा प्रणयरत सारस जोडीमाथि एक शिकारीले वाण प्रहार गर्दा एकको मृत्यु भयो । जोडीको वियोगमा अर्काे सारसले तत्काल प्राण त्याग ग¥यो । यो दृश्य देखेपछि एक ऋषिले शिकारीलाई श्राप दिएका थिए र त्यो श्रापको श्लोकबाट अनुष्टुप छन्दमा रामकथा रचिएको थियो । रामायणजस्तै बुद्धको जीवनीमा पनि सारसको निकै महŒव छ । राजकुमार सिद्धार्थले घाइते सारसलाई जीवनदान दिएदेखि नै बुद्ध जन्मस्थलमा सारसको बाक्लो वासस्थान शुरू भएको मानिन्छ । अधिकारकर्मी तथा नागरिक अगुवा कपिलवस्तुका रामदयाल ठाकुर भन्छन्–“सारस ‘बुद्धपक्षी’ हो, यसको रक्षा गर्नु हाम्रो धर्म हो ।”

लुम्बिनीमा सारसले नगरपक्षीको सम्मान पाएको छ । गत वर्ष मङ्सिर १० गते लुम्बिनी विकास कोषले आयोजना गरेको पक्षी महोत्सवका अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगरपक्षी घोषणा गरेको हो । सो अवसरमा लुम्बिनीका तत्कालीन नगर प्रमुख मनमोहन चौधरीले भने–“भगवान् बुद्ध र सारसबीच विशेष सम्बन्ध छ । त्यसैले हामीले सारसलाई नगरपक्षी घोषणा गरेका हौं ।”  सरकारले नेपालमा पाइने ८९० प्रजातिका चराचुरुङ्गीमध्ये सारसलाई अतिसंवेदनशील प्रजातिमा सूचीकृत गरेको छ । नेपालमा हाल सारसको सङ्ख्या तीन सय हाराहारीमा रहेको पक्षीविद्हरूको अनुमान छ । नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृत भूपाल नेपालीले लुम्बिनीमा मात्रै २५० को हाराहारीमा सारस रहेको जानकारी दिए । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले सन् २००० मा सारसलाई दुर्लभ पक्षी भनी सूचीकृत गरेको छ । लुम्बिनी विकास कोष र क्रेन फाउन्डेशनको सहकार्यमा सन् १९९४ देखि लुम्बिनीमा सारस संरक्षण अभियान पनि सञ्चालित छ । अमेरिकाको अन्तर्राष्ट्रिय क्रेन फाउन्डेशनले सन् १९९४, डिसेम्बर २५ मा लुम्बिनी विकास कोषसँग सम्झौता गरेर सारस संरक्षणका लागि कोष अन्तर्गतको १,१५५ बिघामध्ये लुम्बिनी ग्राम क्षेत्रभित्र पर्ने २५६ एकड (१५३ बिघा) जमीन ५० वर्षका लागि भाडामा लिएको छ । क्रेन फाउन्डेशनले लुम्बिनी सारस आरक्ष स्थापना गरेको भए पनि अवस्था ज्यूँका त्यूँ छ ।

नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सारसलाई संरक्षित पक्षीको रूपमा अनुसूची १ मा सूचीकृत गरेको छ । साइटिस सन्धिले अनुसूची २ र आइयुसिएनले रातो किताबमा सारसलाई संवेदनशील पक्षीको सूचीमा राखेको छ । नेपाल बर्ड रेड डाटा बूकमा पनि यसलाई संवेदनशील पक्षीको सूचीमा राखिएको छ । नेपाल पक्षी संरक्षण सङ्घमा आबद्ध चराविज्ञ हिरूलाल डगौराका अनुसार सारसले प्रजननको अवधिमा दुईवटा अन्डा पार्ने गर्छ । चल्ला कोरलेपछि छ महीनासम्म माउसँगै बस्छ र त्यसपछि सारससँगै झुन्डमा जोडी बनाएर बस्छ । डगौराले सिमसार क्षेत्र ¥हास हुँदै गएकोले सारसको वासस्थान र आहारमा कमी आएको बताए ।

चरा विज्ञहरूका अनुसार नेपालसँगै अस्ट्रेलिया, कम्बोडिया, चीन, भारत, लाओस, म्यान्मा, पाकिस्तान र भियतनाममा सारस पाइछ । विश्वमा १५ प्रजातिका सारस पाइने गरेका छन् भने नेपालमा चार प्रजातिका सारस पाइन्छ । नेपालमा पाइने प्रजातिमा क¥याड्ढुरुङ, लक्ष्मण, कालीकण्ठ र सारस क्रेन हुन् । लक्ष्मण सारसलाई खोया हाँस पनि भनिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सारसलगायत दुर्लभ पक्षीको शिकार गर्ने व्यक्तिलाई रु १५ हजारदेखि ३० हजारसम्म जरिवाना वा तीनदेखि नौ महीनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here