बलिउड मेगास्टार अमिताभ बच्चन दोस्रोपटक कोरोनाको शिकार भएका छन् । बिग बी आफैंले आफ्नो सोशल मिडिया पोस्टमार्फत सबैलाई यो जानकारी दिएका हुन् । यतिबेला अमिताभ बच्चन कोरोनाका कारण सबैबाट टाढा छन् । महानायक सामाजिक सञ्जालमा निकै सक्रिय छन् । बिग बी सधैं आफ्नो पोस्ट र आफ्नो ब्लगमार्फत आफ्ना प्रशंसकहरूसँग जोडिएका छन् ।
यसैबीच, अभिनेताले आफ्नो ब्लगमार्फत सबैसँग आफ्ना स्वास्थ्य अपडेटहरू साझा गरेका छन् । साथै कोरोनापछि उनको जीवनमा कस्तो परिवर्तन आएको छ र आजकल उनी दिनभर के गर्छन् भन्ने पनि सबैलाई बताए । नयाँ कर्मचारीलाई कुरा बुझाउन गा¥हो भइरहेको छ, यस कारण सबै काम आफैंले गरिरहेको उनले बताए ।
अमिताभ बच्चनले ब्लगमा लेखेका छन्, “कोभिडका कारण म आफ्नो सबै काम आफैं गरिरहेको छु । म आफ्नो ओछ्यान बनाउँछु, लुगा धुन्छु, भुइँ र शौचालय पनि सफा गर्दैछु । यससँगै म आफैं चिया–कफी पनि बनाउँदैछु । मैले कुनै पनि स्विच अन र अफ गर्नुपर्छ, त्यो पनि आफैंले । सबै फोन कलको जवाफ म आफैं दिन्छु र मेरा पत्रहरू पनि ड्राफ्ट गर्दैछु । म कुनै नर्सिङ स्टाफविना आफैं औषधि खाइरहेको छु । मेरा दिनहरू यसरी नै बितिरहेका छन् ।”
बिग बीले थप लेखेका छन्, “यो निकै रमाइलो र आत्मसन्तुष्टिदायी अनुभव हो । यसले गर्दा कर्मचारीमाथिको मेरो निर्भरता हटेको छ र मलाई थाहा छ कि उनीहरूले मसँग कति कुराहरू गर्नुपर्दछ । यस्तो अवस्थामा कर्मचारीप्रति मेरो सम्मान पनि बढेको छ ।”
गत मङ्गलवार अमिताभ बच्चनले ट्विट गर्दै आफू कोभिड पोजिटिभ भएको जानकारी सबैसँग शेयर गरेका थिए । सुपरस्टारले आफ्नो सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराउन आग्रह गरेका थिए । मेगास्टार कोरोना पोजेटिभ देखिएपछि ‘कौन बनेगा करोडपति’को सिजन १४ को सुटिङ पनि रोकिएको छ ।