- शीतल महतो
नेपालजस्तो विकासोन्मुख देशको उन्नतिको आधार नै उपलब्ध स्रोत साधन एवं जनशक्तिको उच्चतम उपयोग गर्नु हो । तर कोभिडले शिथिल पारेको अर्थतन्त्रलाई चलायमान गराउनु र व्यापक रोजगार सिर्जना गर्नु नेपालका लागि ठूलो चुनौतीका रूपमा देखापरेको छ । कुल जनसङ्ख्यामा विभिन्न उमेर समूहको अनुपातमा आएको फेरबदलका आधारमा पनि मुलुकको आर्थिक समृद्धि प्रभावित हुने काम गर्दछ । कुनै पनि मुलुकका लागि युवाको बाहुल्यता भएको समयावधि ५०–६० वर्षको हुन्छ । त्यसपछिको अवधि भनेको अहिलेका युवा वृद्धावस्थामा प्रवेश गर्ने अवधि हो । यो अवधिमा अधिकांश, केटाकेटी सरह बसीखाने आश्रित समुदायमा पर्दछन् । उमेर बढ्दै जाँदा उपचार खर्च पनि बढ्छ र सोही अनुसार स्वास्थ्यकर्मी र अस्पतालको सङ्ख्या वृद्धि गर्नुपर्ने हुन्छ । अन्ततः यसले सरकारकै खर्च बढाउँछ । वृद्ध भत्ता, पेन्सनजस्ता सामाजिक सुरक्षाभत्तामा बर्सेनि ठूलो धनराशि छुट्याउनुपर्दा राज्यले ठूलो व्ययभार बोक्नुपर्ने हुन्छ । यसरी एकातिर राज्यको व्ययभार बढ्ने, अर्कोतिर आर्थिकरूपले सक्रिय उमेर समूहको अनुपात घट्दा आर्थिक वृद्धिमा प्रतिकूल असर पर्ने सम्भावना रहन्छ ।
युवाको जोश, जाँगर र नयाँ विचारलाई उत्पादनमूलक आर्थिक क्रियाकलापमा लगाउँदा अर्थतन्त्र समुन्नतितर्फ लम्कन्छ । युवामा अथाह साहस, जोश, जाँगर र क्षमता छ, जुन नेपालका सन्दर्भमा दिनानुदिन खेर गइरहेको छ । उनीहरू भोलिका कर्णधार मात्र होइनन्, आजका आर्थिक सामाजिक परिचालक पनि हुन् । त्यसैले युवाको ऊर्जालाई मुलुकको अर्थतन्त्रको सुधारका लागि लगाउनुपर्ने अहिलेको आवश्यकता हो । समय क्रमसँगै नेपालले विभिन्न देशसँग कूटनैतिक सम्बन्ध अगाडि बढाउँदै रोजगारका लागि श्रम स्वीकृति लिंदै आएको छ । नेपालमा शिक्षा क्षेत्रको विकास भइरहे पनि विकसित राष्ट्रहरूका विद्यालय तथा विश्वविद्यालयजस्तो गुणस्तर कायम हुन सकेको छैन । त्यसैले वैज्ञानिक शिक्षा नीति अङ्गीकार गरेर कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छ भन्नेतर्फ राज्य गम्भीर हुनै पर्दछ । अहिले विश्वविद्यालयबाट उत्पादित यस्ता जनशक्ति जापान, अमेरिका, क्यानडा जस्ता मुलुकमा जान थालेका छन् । जसलाई बौद्धिक पलायन भन्ने गरिन्छ । उच्च शैक्षिकस्तर हुनेहरू रोजगार तथा थप अध्ययनका लागि विकसित देशहरूमा गइरहेका छन् भने निम्न शैक्षिक स्तर हुनेहरू खाडी मुलुकमा थोरै पैसामा श्रम बेच्न म्यानपावर कम्पनीमा लर्को लागिरहेका छन् । यसरी हेर्दा विकसित भनिएका मुलुकमा दक्ष श्रमिक जानेभन्दा पनि विद्यार्थी भिसामा अध्ययनका लागि गई अध्ययन सकेर दक्ष श्रमिकको रूपमा काम गरिरहेको पाइन्छ ।
यसरी विश्वव्यापीकरणसँगै सिङ्गो विश्व एउटा गाउँ भएको छ । सञ्चार एवं प्रविधिको क्षेत्रमा आएको फडको सँगसँगै वैदेशिक रोजगारमा रहेका नेपालीका सामु पनि अवसर र चुनौती एक साथ रहेका छन् । विदेशमा रहँदा विकसित मुलुकले गरेको विकास पछाडिका रहस्य बुझ्ने सबैभन्दा ठूलो अवसर प्राप्त भएको छ । विकासका लागि शासन व्यवस्था, सरकारका अङ्गहरूले प्रदान गर्ने सेवा सुविधा, सार्वजनिक प्रशासनको चुस्तदुरुस्त सेवा प्रवाह, सुशासन र अझ भनौं समयको महŒव तथा अनुशासन महŒवपूर्ण पक्ष हुन् । सही व्यक्ति सही समयमा सही ठाउँमा भएन भने देशको भविष्य अन्धकार हुन्छ । त्यसरी नै अनुशासन मानव जगत्को गहना हो, भाग्यमाथिको अन्धविश्वास अनुशासन होइन । अर्को महŒवपूर्ण अवसर भनेको वैदेशिक रोजगारमा रहँदा सिकेको सीप नेपालको हावापानी अनुसार केही परिमार्जनसहित प्रयोग गर्न पाउने अवसर पनि हो । अहिले केही युवाले रगत र पसिना नेपालमा नै बगाउनुपर्छ, सुन फल्छ भन्दै विभिन्न उद्यमशीलतामा लागेर सबैलाई हौसला प्रदान गरेका छन् । आजका विकसित मानिएका राष्ट्रहरू त्यसै विकसित भएका होइनन्, त्यहाँका कम्तीमा एक–दुई पुस्ताले अधिक श्रम गरेर सम्भव भएको हो । त्यो सोचको विकास गरेर हामीले विकासको नेतृत्व गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती छ । समय र अनुशासनको पालना गर्दै श्रमको सम्मान गर्न सक्छांै कि सक्दैनौं, बोली र व्यवहारमा एकरूपता ल्याउन सक्छौं कि सक्दैनौं, आफूले प्राप्त गरेका अधिकारलाई जिम्मेवारपूर्वक कर्तव्यमा ढाल्न सक्छौं कि सक्दैनौं, विदेशी भूमिमा भएर पनि नेपालमैं जसरी हल्ला गर्ने, उद्दण्डता देखाउने, नियम–कानून मिचेकोमा गर्व गर्ने गर्छौं कि सभ्य नागरिक भएर बाँच्न सिक्छौं । अहिलेको अहम् प्रश्न हो ।
काम गरे नै मुलुकको विकास र समृद्धि हुन्छ । भाषण र गफले हुँदैन भन्ने विगतको अनुभवले पुष्टि भइसकेको छ । विकास र समृद्धिका लागि मुख होइन, हात र यन्त्र चलाउन सक्नुपर्छ । यसका लागि युवा समूहको भूमिका महŒवपूर्ण हुन्छ । विकास पूर्वाधारको निर्माण र उपयुक्त आर्थिक नीतिमार्फत लगानी र श्रम गर्नेलाई उत्साहित गर्नु राज्यको प्रमुख दायित्व हो । १५ देखि ६५ सम्मको उमेर समूहलाई कामकाजी वा आर्थिकरूपले सक्रिय हुन सक्ने जनशक्ति मानिन्छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार यस उमेर समूहको अनुपात ६७ प्रतिशत रहेको अनुमान छ । तीमध्ये पनि ४० प्रतिशत युवा उमेर समूहका नै छन् । यसरी आर्थिकरूपले सक्रिय हुन सक्ने उमेर समूहको जनसङ्ख्याको अनुपात अधिक हुनुलाई जनसाङ्ख्यिक लाभ उपलब्ध भएको भनिन्छ । यस्तो लाभको उपयोग गरी मुलुकलाई विकास र समृद्धिको बाटोमा डो¥याउन सकिन्छ । नेपालमा दश वर्ष अघि जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेकोमा विसं. २०७८ मा यो दर घटेर ०.९३ प्रतिशतमा झ¥यो । २०४६–०४७ मा ५५ वर्षसम्म रहेको सरदर आयु अब ७१ वर्ष पुगेको अनुमान छ । जनसङ्ख्यामा वृद्धिदरको कमी र औसत आयुको वृद्धि मात्रैलाई नियाल्ने हो भने पनि नेपाल छिटै वृद्धबहुल मुलुकको समूहमा प्रवेश गर्ने देखिएको छ ।
अनुत्पादक उमेर समूहको जनसङ्ख्याको अनुपात बढी भएमा परिवार तथा राज्यलाई अत्यधिक आर्थिक भार वहन गर्नुपर्ने स्थिति आउँछ । आर्थिकरूपले सक्रिय हुन सक्ने उमेर समूहलाई पनि उत्पादनमूलक कामधन्धामा लगाउन नसक्दा समाजमा विविध किसिमका समस्या देखा पर्न सक्छ । यिनै युवालाई उत्पादनमा लगाउन सके मुलुकको विकास र समृद्धिका लागि धेरै समय पर्खनुपर्दैन । यसका लागि राज्यले उत्पादनलाई प्रोत्साहन गर्ने र बजार व्यवस्थापनमा सहयोग गर्नैपर्ने देखिन्छ । पूँजी नभएर देश विकसित नभएको होइन, भएको पूँजीको उचित व्यवस्थापन गरी उत्पादनमुखी क्षेत्रमा लगानी गर्दै मुलुकमा नै रोजगारको अवसर सिर्जना गर्न नसक्नु नै हो । त्यसैले विप्रषणमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्दै लैजानुपर्दछ जसले गर्दा विदेशी हस्तक्षेपमा न्यूनीकरण भई परनिर्भरता अन्त्य हुँदै आत्मसम्मानको प्रत्याभूति हुने गर्दछ । आफ्नै राष्ट्रमा पसिना बगाउने अवसर प्राप्त भयो भने खाडीको बालुवालाई हराभरा बनाउन सक्ने नेपालीले नेपाललाई साँच्चीकै स्वर्ग बनाउन सक्छन् भन्ने प्रत्याभूतिको विकास गर्न सकिन्छ ।
नेपालमा बेरोजगारी र अर्धबेरोजगारी सङ्ख्या बढी भएकोले जनसाङ्ख्यिक लाभको उपयोग भएको देखिंदैन । यसको उपयोगलाई मापन गर्ने महŒवपूर्ण समष्टिगत परिसूचक कुल गार्हस्थ्य बचतमा पनि वृद्धि भएको पाइँदैन । आर्थिकरूपले सक्रिय हुन सक्ने उमेर समूहको अनुपात ६७ प्रतिशत बढेको देखिंदासमेत कुूल गार्हस्थ्य बचत १० प्रतिशत वरिपरि घुमिराखेको देखिन्छ । यसले पनि युवा जनशक्तिलाई उत्पादनमा उपयोग गर्न राज्यले सकेको छैन भन्ने देखिएको छ । विकासका कर्णधार भनेको नै युवा वर्ग हFे । त्यस वर्गको उत्पादनशीलता उपयोग नहुनु भनेको युवा बेरोजगारी हुनु त हो नै, देशले विकासको सुनौलो अवसर गुमाउनु पनि हो ।
कुल जनसङ्ख्यामा युवा समूहको बढ्दो अनुपात मुलुकको विकासका लागि वरदान मानिए पनि ठूलो सङ्ख्या हुँदैमा स्वचालितरूपमा आर्थिक विकास र समृद्धि हुन सक्दैन । श्रम उत्पादकत्वको आयाम वृद्धि गर्न सकिन्छ भने कतिपय स्थितिमा श्रमलाई रोजगार अनुकूल बनाएर काममा लगाउन सकिन्छ । हिजोआज उत्पादनमा श्रम, पूँजी र प्रविधिबीच सन्तुलित प्रयोगले युवाका लागि व्यापक रोजगार सिर्जना गरेको देखिएको छ । सर्वसुलभ गुणस्तरीय शिक्षा, स्वास्थ्य, तालीम आदिको विस्तारबाट राज्यले भविष्यमा श्रम उत्पादकत्वमा अनुकूल प्रभाव पार्न सक्छ र रोजगार सिर्जना गर्छ । व्यावसायिक शिक्षा तथा तालीमबाट श्रमलाई उत्पादनसँग जोड्दा रोजगारको अवसर सिर्जनामा सहयोग पुग्ने देखिन्छ । राज्य र निजी क्षेत्रले रोजगारको अवसर सिर्जना नगरेसम्म जनसाङ्ख्यिक लाभले सार्थक रूप लिन सक्दैन ।
अन्त्यमा राजनीतिक स्थिरता र सुशासन, शान्ति र सुरक्षाको प्रत्याभूति न्यूनतम आवश्यकताको पूर्तिको ग्यारेन्टी, भ्रष्टाचारको अन्त्य र सुनिश्चितताजस्ता महŒवपूर्ण पक्षमाथि सरकार र राजनीतिक दलका नेतृत्वले विशेष ध्यान दिनुपर्दछ । यति गर्न सकियो भने थोरै समयमा पनि विकास र आर्थिक समृद्धिको फडको मार्न सकिन्छ । जुन देशमा युवा परिचालन हुँदैन, त्यो देशमा आर्थिक विकास सम्भव छैन । आज जति युवा शक्ति खेर गइरहेको छ, ती सबै विकासोन्मुख र अतिकम विकसित मुलुकहरूमा नै छ । युवाशक्ति परिचालन गरी स्वस्थ र समृद्ध समाज निर्माण गर्ने सरकारसँग योजना हुनुपर्छ । युवाशक्ति परिचालन गरी आर्थिक क्रियाकलापमा उपयोग गर्दा अर्थतन्त्र सबल बन्दै जान्छ । यसबाट दिगो आर्थिक विकासतर्फ अर्थतन्त्र लम्किन्छ । आवश्यकता अनुरूप योग्यता, क्षमता र सीपले प्रश्रय पाउँछ । नीति निर्माण तहमा आवश्यक जनशक्ति पु¥याउँछ । देशको स्रोत–साधनमा अधिकार जमाउने हैन, अवसर सिर्जना गर्न राजनीति गर्ने हो भन्ने चेतना विकास हुन्छ ।
गरीबी र पछौटेपन हटाउन सक्षम युवाशक्तिलाई नीतिगत ढङ्गबाटै परिचालन गर्न आवश्यक छ । युवाशक्तिको बेवास्ताले ऊर्जाशील जीवन खेर गइरहेको छ । युवाशक्तिलाई आर्थिक क्षेत्रमा सक्रिय राख्न र आर्थिक उत्पादन सिर्जना गर्न राज्य गम्भीर हुनुपर्दछ । यसले युवामा उत्साह, कर्तव्य र जिम्मेवारी बढाउँछ । सेवाभाव सिर्जना गर्छ । संस्कार, संस्कृति, आदर सम्मानको बोध गराई सामाजिक परिपक्वता प्रदान गर्छ । अनि मात्र मुलुकको आर्थिक विकास र समृद्धि सम्भव हुन्छ ।