आजको समयमा अधिकांश मानिस मदिरा पिउने गर्छन् । कोही शौकको रूपमा पिउँछन् भने, कसैलाई मदिरा पिउने लत लागेको हुन्छ ।

धेरै मानिस मदिरामा पानी वा सोडा वा चीसो पेय पदार्थ मिसाएर पिउने गर्छन् । मदिरामा पानी हाल्ने चलन भारतमा अलि बढी छ । प्रत्येक भारतीय पानी, सोडा, कोक, जुस र अन्य धेरै प्रकारका पदार्थ मदिरामा मिसाएर पिउँछन् । तर मदिरामा पानी र अन्य चीज मिसाएर किन पिउने गरिन्छ, कारण कमैलाई थाहा होला ।

एक रिपोर्टको अनुसार भारतका धेरै मदिरा कम्पनीले मदिरा तयार गर्न मोलासिसको प्रयोग गर्छन् । भारतीय मध्यम ह्विस्की ब्रान्डहरूले माल्टका साथ मोलासिस पनि प्रयोग गर्छन् किनभने भारतमा यसमाथि कुनै कानूनी प्रतिबन्ध छैन ।

वास्तवमा, मोलासिस उखुबाट चिनी तयार गर्दा बन्ने गाढा रङ्गको उप–उत्पादन हो । फर्मेन्टेशनको प्रक्रियाको बेला मोलासिसलाई डिस्टिल गरेर मदिरा तयार गरिन्छ । अधिकांश आइएमएफएल (इन्डियन मेड फरेन लिकर)को आधार यसैबाट तयार गरिन्छ । यस्तो अवस्थामा जब यी भारतीय मदिराहरू कुनै पनि तरल पदार्थ नराखी ‘नीट’ पिइन्छ भने यसले घाँटी चिर्दै भित्र गएको अनुभव हुन्छ । मदिराको तीतोपनलाई पानी मिसाएर सन्तुलनमा राख्नु ठूलो बाध्यता हो । त्यसैले महँगो विदेशी ब्रान्डका मदिरा केही नराखी नीट पिउन सजिलो छ भन्ने कुरा मदिरा पिउनेहरूले बुझिसकेका छन् ।

रिपोर्टमा ह्विस्की/रम आदिमा पानी राख्नुको एउटा कारण भारतीयहरूको खाने बानीलाई पनि मानिएको छ । रिपोर्टका अनुसार भारतमा मदिरा सधैं मसलादार स्वादको साथ पिइन्छ । यसको तीखोपन सन्तुलित गर्न पानी पिउनुपर्छ । पानी मिसाएको मदिराले पानीको जस्तै काम गर्छ र खानाको तीखोपनलाई सन्तुलनमा राख्छ ।

भारतीयहरूको मदिरामा पानी मिसाउने बानीका कारण भारतमा वाइनभन्दा ह्विस्की, रम, भोड्का बढी मन पराइन्छ । वास्तवमा, वाइनमा आइस, सोडा, पानी राख्ने कुनै गुन्जाइश नै छैन । वाइनलाई केही नमिसाइ पिउनुपर्छ । मदिरा पिउने सन्दर्भमा आम भारतीयमा अनुशासन नहुनु एउटा ठूलो कारण पनि छ । रक्सीको सन्दर्भमा मानसिकता यस्तो बनिसकेको छ कि पिउँदै गर्दा ‘के थाहा भोलि रहिन्छ कि रहिन्न’ अर्थात् बोतल खुलेको छ यसलाई सक्काउनु नै ठूलो जिम्मेवारी हो ।

मदिरा पिउन र पस्किनको लागि त ‘डिक्शनरी’ नै छ । मदिरा पिउनेहरूले ‘नीट’को अर्थ बुझ्छन् । नीट भनेको केही पनि नथपीकन । जब बारमा नीट अर्डर गरिन्छ, तब बार टेन्डरले गिलासमा ६० वा ३० एमएल मदिरा मात्र दिन्छ ।

गर्मीमा मदिराको सामान्य तापक्रम पनि उच्च हुने भएकोले भारतीय मौसम नीट पिउनका लागि त्यति अनुकूल छैन । त्यसैले कतिपयले नीट पिउने क्रममा त्यसमा ‘मेटल आइस क्यूब’ पनि हाल्छन्, जसले गर्दा मदिराको तापक्रम अलि कम हुन्छ । मेटल आइस क्यूबले मदिराको कन्सनट्रेशनलाई परिवर्तन गर्दैन, जसले गर्दा यसको मौलिक स्वाद कायम रहन्छ । ‘अन द रक्स’को अर्थ धेरै बरफको साथ मदिरा । मदिरा पिउने आदर्श अवस्था भनेको गिलासको आधा बरफले भर्ने र यसमा मदिरा खन्याउने हो । कतिपय मानिस पहिले मदिरा राख्छन् र त्यसपछि बरफ हाल्छन्, जुन ठीक होइन ।

मदिरामा पानी वा अन्य तरल पदार्थ मिसाउँदा यसको मौलिक स्वाद बिग्रन्छ भन्ने विज्ञहरूको भनाइ छ । प्रिमियम मिनरल वाटरले पनि महँगो मदिराको स्वाद बिगार्छ । शायद यही कारणले विदेशमा धेरैजसो मानिसले कुनै तरल पदार्थ नमिसाएर प्राकृतिक स्वादसहित मदिराको आनन्द लिन्छन् । यसैबीच, अहिले भारतमा महँगो सिङ्गल माल्टको साथ पिउन विशेष प्रकारको पानी बिक्री भइरहेको छ । यो उत्पादन ‘ह्विस्की ब्लेन्डिङ वाटर’ नामले बजारमा उपलब्ध छ । यो विशेष प्रकारको पानीले मदिराको स्वाद बढाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here