काठमाडौं, २० साउन/रासस
आखिर गरे के हुँदो रहेनछ । सरकारको स्पष्ट दिशा निर्देश । नेपाल विद्युत् प्राधिकरणको निरन्तरको अनुगमन तथा परिचालन । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको निरन्तर समन्वयका कारण एकैपटक पूर्वी नेपालका तीन ठूला सबस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।
प्रसारण पूर्वाधारको अभावमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाले अब भने बिजुली खेर फाल्नुपर्ने छैन । निर्माणमा रहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाले पनि अब निश्चिन्त भएर लगानी गर्न सक्ने भएका छन् । उच्च क्षमताका प्रसारण पूर्वाधारका कारण पूर्वी नेपालका पहाडी क्षेत्रमा निर्माणमा जाने तयारीमा रहेका आयोजनाले अब पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न सक्नेछन् । प्राधिकरणले एकै दिन २२० किलो भोल्ट क्षमताका तीन सबस्टेशन सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेशनमा बिहीवारबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । कुल २२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेशनमा क्रमशः २६० एमभिए र ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर जडान भएका छन् ।
साथै कोशी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिङ्गल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइनको लम्बाइ १०५ किलोमिटर छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि प्रदेश नं १ का पहाडी जिल्लामा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रूपमा पूर्वाधार तयार भएको जानकारी दिए । कुल २२० केभी प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दाे र गुणस्तरीय भएको उनले उल्लेख गरे ।
“मोरङ–सुनसरी औद्योगिक करिडोरमा सुनसरीको दुहबी सबस्टेशनबाट मात्र आपूर्ति हुँदा भोल्टेज, ट्रिपिङलगायतको समस्या थियो, अब दुहबी सबस्टेशनको लोड इनरुवा सबस्टेशनमा सार्न सकिने भएकोले उद्योगलाई थप विद्युत् दिन सकिन्छ साथै भोल्टेज, ट्रिपिङलगायतका समस्या समाधान हुन्छ,” उनले भने ।
सङ्खुवासभा, भोजपुर र ते¥हथुम जिल्लाका विद्युत् आयोजनाका विद्युत् गृहमा पनि ट्रिपिङ हुने समस्या थियो । अब त्यो समस्या पनि समाधान हुनेछ, कोशी करिडोर प्रसारण लाइनमार्फत आएको विद्युत् त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सबस्टेशनमार्फत भारततर्फ निर्यात गर्न सकिनेछ ।
नेपाल सरकारको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना अन्तर्गत मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०/१३२/३३ केभी इनरुवा सबस्टेशनको निर्माण गरिएको हो ।
नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बंैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सबस्टेशन र प्रसारण लाइनको निर्माण गरिएको हो । इनरुवा सबस्टेशन सञ्चालनमा नआएकोले इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायीरूपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । सङ्खुवासभाको किटिङ्गीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमी प्रसारण लाइन गत भदौदेखि ३३ केभीमा चार्ज गरिएको थियो ।
प्रसारण लाइन र सबस्टेशनमा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङले उल्लेख गरे । सुनसरी–मोरङ औद्योगिक करिडोरको विद्युत् आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सबस्टेशनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सबस्टेशन निर्माणाधीन छन् ।
इनरुवा सबस्टेशनमैं ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) ४०० केभी सबस्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ । ४०० केभी सबस्टेशन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेशन अर्काे ठूलो हब बन्नेछ ।
अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेशनमा जोडिने छ । कोशी करिडोर अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) खण्ड र वसन्तपुरमा २२० केभीका सबस्टेशनको निर्माण छ महीनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताए ।
कोशी करिडोरको २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत सुनसरीको इनरुवाबाट सङ्खुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ भने टावरको एकतर्फ मात्र तार तानिएको छ ।
अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकबाट दिएको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रवाह भएको छ ।
कोशी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करीब एक हजार मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ)देखि वसन्तपुरसम्म करीब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करीब दुर्ई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ ।
अरुण र तमोर नदी र तिनीहरूका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न निर्माणाधीन कोशी करिडोर नेपालको हालसम्मको सबैभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । प्रदेश १ का भोजपुर, सङ्खुवासभा, ते¥हथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरीद सम्झौता (पिपिए) गरिसकेको छ ।